– : बाबुराम क्षेत्री : –

दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेश नेपालको राजनीतिक केन्द्रविन्दु बनेको छ । रास्वपाले मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै “मधेशको छोरा, अब प्रधानमन्त्री” भन्ने नारासहित चुनावी अभियान थाल्नेबित्तिकै मधेशको राजनीतिमा नयाँ हलचल पैदा भएको छ ।
रास्वपाको यो रणनीतिक चालले केवल मधेश केन्द्रित दलहरू । जसपा, लोसपा, जनमत पार्टी– मात्र होइन, पुराना ठूला दल कांग्रेस र एमालेको समीकरण समेत हल्लाएको छ । बालेनको लोकप्रियतालाई “मधेशको भावना” सँग जोडेर प्रयोग गर्ने रास्वपाको प्रयासले राजनीतिक समीकरणलाई नयाँ दिशातर्फ मोडेको देखिन्छ ।
बालेन शाहको छवि काठमाडौंको मेयरका रूपमा स्थापित भए पनि उनको पूख्र्यौली जड जनकपुरमा रहेको जनाइँदै आएको छ । त्यसैलाई ‘मधेशको सन्तान प्रधानमन्त्री’ भन्ने भावनात्मक संदेशमा रूपान्तरण गरेर रास्वपाले जनभावना जगाउने अभियान थालेको छ । मधेशमा लामो समयदेखि रहेको उपेक्षा र पहिचानको संवेदनशीलतामा खेल्दै रास्वपाले यसपटक सत्ता–राजनीतिक समीकरणमा निर्णायक प्रभाव पार्ने संकेत देखाएको हो ।
तर, रास्वपाको यो लहरका बीच संगठनात्मक चुनौती गम्भीर छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले मधेशमा समानुपातिकतर्फ जम्मा ७२ हजार ९ सय ३५ मत मात्रै पाएको थियो, प्रत्यक्षतर्फ भने निल नतिजा आएको थियो । यद्यपि, बालेनलाई अगाडि सार्दै जनस्तरमा विस्तार भइरहेको समर्थनले मधेशमा नयाँ उत्सुकता जगाएको छ ।
यही प्रभाव रोक्न नेपाली कांग्रेसले पनि रणनीतिक काउण्टर खेलेको छ । पार्टी सभापति गगन थापा काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । उनले मधेशको माटोमा भिज्ने र भाषा सिकेर काम गर्ने प्रतिवद्धता सार्वजनिक गर्दै ‘मधेशको विकास कांग्रेसको जिम्मेवारी’ भन्ने नारा अघि सारेका छन् । थापाले “चटके नेता होइन, दीर्घकालीन समाधान दिने प्रतिनिधि” को सन्देश दिएर बालेनको भावनात्मक मुद्दालाई विकासको एजेन्डासँग प्रतिस्पर्धा गर्ने प्रयास गरेका छन् ।
२०७९ को निर्वाचन परिणामले मधेशमा कांग्रेस र एमालेको सांगठनिक बल अझै पनि मजबूत रहेको देखाउँछ । प्रत्यक्षतर्फ एमाले ९ सिटसहित पहिलो दल बनेको थियो भने समानुपातिक मतमा कांग्रेस ४ लाख ३४ हजार ९ सय ७१ मतसहित अग्रस्थानमा थियो । जसपा र जनमत पार्टीले क्रमशः २ लाख ९८ हजार र २ लाख ९६ हजार मत प्राप्त गरेका थिए । यी अंकहरूले पुराना दलहरूको जरो अझै बलियो रहेको संकेत गर्छन् ।
तर, राजनीतिक मनोविज्ञानमा ‘भावना’ प्रायः अंकभन्दा प्रभावकारी हुने गर्छ । यही कारण रास्वपाले बालेनलाई “मधेशको छोराको स्वाभिमान” का रूपमा चित्रित गर्दै पुराना दलविरुद्ध जनभावनाको ज्वार भड्काउने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी ओली र सचिव महेश बस्नेतका मधेशविरुद्ध ठानेर गरिएको टिप्पणीले त्यसलाई झनै बलियो बनाएको विश्लेषकहरूको ठम्याइ छ । बस्नेतको खिसिट्युरी र ओलीको ‘बालेनभन्दा म काविल’ भन्ने टिप्पणी उल्टै एमालेकै बिरूद्ध हतियार बनेको छ ।
अहिले मधेशमा दुई धारका राजनीति देखिन्छन्– एउटा ‘भावनात्मक राष्ट्रवाद’ जसलाई रास्वपा अगाडि सार्दै छ; अर्को ‘विकास र शासन स्थायित्व’ जसलाई कांग्रेसले प्रस्ताव गरेको छ । जसपा, जनमत र लोसपा भने आफ्ना परम्परागत मतदाता जोगाउन संघर्षरत छन् ।
विश्लेषकहरू भन्छन्, मधेशमा यो पटकको मतदान केवल दलका लागि होइन, नयाँ र पुरानो राजनीतिक सोचबीचको निर्णायक जाँच हुनेछ । बालेनको भावनात्मक लहर स्थायी समर्थनमा रूपान्तरण हुन्छ कि पुराना दलहरूको संगठनात्मक बलले अन्ततः निर्णायक भूमिका खेल्छ– त्यो फागुन २१ को नतिजाले बताउनेछ । तर अहिलेको संकेत स्पष्ट छ – मधेश फेरि एकपटक देशको सत्ता राजनीतिमा ‘सबैभन्दा तातो मैदान’ बनेको छ ।

Author

You may also like