दमक/ वर्षेनीको वर्षायाममा रतुवा खोलाको कटान भोग्दै आएका झापाको कमल गाउँपालिका –६ स्थित खयरबारीका बासिन्दाले सो समस्याबाट मुक्ति पाएका छन् । रतुवा खोलाको किनारमा रहेको यस टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो ।
स्थानीयहरुका अनुसार केहि वर्ष अघिसम्म राति कतिखेर रतुवा उर्लिएर घर पस्ने हो भन्ने चिन्ता हरेक घरमा उस्तै हुन्थ्यो । बाढी आएपछि भागेर सुरक्षित स्थानमा पुग्ने राम्रो बाटो थिएन । कच्ची बाटो हिलाम्यै हुन्थ्यो, पानीले डुबाउँथ्यो, साना बालबालिका, वृद्ध र महिलालाई झन् जोखिमपूर्ण अवस्था सिर्जना हुन्थ्यो’ स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार रतुवाको बाढीले पटक–पटक खेतीयोग्य जमिन बगाएको छ, घरगोठ भत्काएको छ र कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन् । यही कारण खयरबारीलाई ‘बाढीको छायाँमा रहेको बस्ती’ भनेर चिनिन्थ्यो । तर समयसँगै यहाँको अवस्थामा कायापलट भएको छ ।
रतुवा खोलामा मजबुत बाँध निर्माण भएपछि गाउँमा बाढी पस्नेक्रम पूर्णरूपमा रोकिएको स्थानीय टंकप्रसाद सापकोटा बताउँछन् ‘आकाशमा बादल मडारिँदा यहाँका बासिन्दाको मन अँध्यारो हुन्थ्यो’ उनले भने, ‘पानी पर्नुअघि नै घरका सामान पोको बाँधेर बस्नु पथ्र्यो, कतिखेर बाढी पस्छ र भाग्नु पर्ला भनेर ।’ तर हुर्किँदै गएको पुस्तालाई यी कुरा कथाजस्ता लाग्छन् । न बस्तिमा अहिले बाढी पस्छ, न पानी पर्नासाथ भाग्नु पर्ने चिन्ता । ढुक्कले निदाउँछ खयरवारी ।
यससँगै खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झन सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् । स्थानीय दिपक आचार्यका अनुसार, बाटो पिच भएपछि हिँडडुल मात्र होइन, कामकाज र आम्दानीका अवसर पनि बढेका छन् । सडक, विद्युत् र बाँधजस्ता पूर्वाधार विकासले यहाँको कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पारेको छ । किसानले उत्पादन गरेका तरकारी, धान, मकै लगायतका उपज नजिकैको ठुलो बजार दमकसम्म सहजै पु¥याउन सजिलो भएको छ । ढुवानी खर्च घटेको छ, समय बचत भएको छ र किसानले उचित मूल्य पाउन थालेका छन् । यसले स्थानीयको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदैगएको देखिन्छ । उपचार, शिक्षा, दैनिक उपभोग्य वस्तुको खरिददेखि अन्य सेवा सुविधाका लागि पनि अब खयरबारीका बासिन्दालाई ठुलो समस्या छैन । सडक र यातायात सहज भएपछि अस्पताल, विद्यालय र बजारसम्मको पहुँच सजिलो बनेको छ । स्थानीयका अनुसार यी अधिकांश विकासका काम यहाँबाट निर्वाचित हुँदै आएका प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीको पहलमा सम्भव भएका हुन् । रतुवाको नदी कटान नियन्त्रण भएपछि खयरबारी मात्र होइन, पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण सीमावर्ती क्षेत्रसम्मका सयौं परिवार रतुवा खोलाको बाढीबाट उठिबास हुनुपर्ने त्रासबाट मुक्त भएका छन् ।
अहिले खयरबारी बाढीको भयबाट मुक्त, विकासको बाटोमा अघि बढिरहेको एउटा उदाहरणीय बस्ती बनेको छ। पूर्वाधार विकासले कसरी जनजीवन, दैनिकी र आर्थिक सम्भावनालाई रूपान्तरण गर्न सक्छ भन्ने कुरा खयरबारीले स्पष्ट रूपमा देखाएको छ ।

Author

You may also like