झापा/ आसन्न निर्वाचनका लागि कोशी प्रदेश, विशेषगरी झापा जिल्ला, यस पटक उच्च सुरक्षा चुनौतीको क्षेत्रका रूपमा पहिचान गरिएको छ । झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाह बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि सुरक्षा संवेदनशीलता बढेको हो ।
झापा–५ प्रधानमन्त्रीका दुवै सम्भावित उम्मेदवारहरूको निर्वाचन क्षेत्र बनेपछि प्रहरी र प्रशासनिक निकायहरूले विशेष सतर्कता अपनाएका छन् । एमालेले परम्परागत आधार जोगाउन ठूला नेता र कार्यकर्ता परिचालन गरेको छ भने रास्वपाले बालेनलाई “आगामी प्रधानमन्त्री” को रूपमा अघि सार्दै पूर्ण शक्ति केन्द्रित गरेको छ ।
खुला सीमा र हतियारको जोखिम
झापा भारतसँग सीमा जोडिएको जिल्ला भएकाले खुला सीमा, हतियार ओसारपसार र बाह्य मतदाता प्रवेश प्रमुख सुरक्षा चुनौती हुन्। प्रहरीका अनुसार, जेन्जी आन्दोलनका क्रममा लुटिएका १६ थान हतियार अझै फेला नपरेकाले जोखिम अझ बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले ती हतियार फिर्ता नहुँदा सुरक्षामा थप चुनौती आएको बताए ।
नियमित प्रहरी जनशक्ति अपुग भएकाले गण र गुल्महरूबाट थप बल झापामा खटाइएको छ। जिल्ला प्रहरी कार्यालयको समन्वयमा ती टोलीहरू झापा–५ लगायत सीमावर्ती क्षेत्रमा निगरानीमा छन्।
साइबर प्रचार र हेट–स्पिचले बढायो तनाव
प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद घिमिरेका अनुसार, यस पटकको निर्वाचन “साइबर वार” मा रूपान्तरित भएको छ। सामाजिक सञ्जालमार्फत जातीय, धार्मिक र साम्प्रदायिक हेट–स्पिच र गलत सूचना फैलिईरहेको उनले बताए। एआईद्वारा बनेका भ्रामक सामग्रीले पनि सुरक्षामा असर पारिरहेको उनको भनाइ छ।
यसका लागि प्रहरीको “सामाजिक सञ्जाल अनुगमन डेस्क” २४ घण्टा सक्रिय राखिएको छ। साइबर ब्युरोसँग पनि समन्वय गरी अनलाइन प्रचारको निगरानी बढाइएको घिमिरेले जानकारी दिए । जेन्जी आन्दोलनका बेला यातायात व्यवस्था कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सवारी साधनको अभिलेख नष्ट हुँदा प्रहरीलाई अपराध अनुसन्धानमा कठिनाइ भइरहेको छ। अपराधमा प्रयोग भएका गाडी पहिचान गर्न रेकर्ड अभावले समस्या थपिएको प्रहरीले जनाएको छ ।
३१ हजार सशष्त्र खटिने
केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा ३१ हजार सशस्त्र प्रहरी परिचालिन हुनेछन् । किनर्वाचन त्रुटिरहित, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने भएको छ । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले १६५ क्षेत्रमा निर्वाचित क्षेत्र सुरक्षा बेस स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । एकीकृत सुरक्षा योजनामा भनिएको छ, ‘निर्वाचनको १ महिनाअघि देखी निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने ।’ सुरक्षा योजना अनुसार हिमालमा १७ स्थानमा, पहाडमा ७० स्थानमा र तराईमा ७८ स्थानमा बेस स्थापना हुँदै छ । माघ २१ मा बेस स्थापना गरिने जनाईएको छ । तराईका जिल्लामा सशस्त्रको स्ट्राइकिङ फौज परिचालन हुनेछन् । तराईका जिल्लामा एउटा निर्वाचन क्षेत्रमा ४ वटा स्ट्राइकिङ फौज परिचालन गरिने एकीकृत सुरक्षा योजनामा उल्लेख छ । सुरक्षा योजना अनुसार पहाडमा प्रत्येक निर्वाचन क्षेत्रमा ३ वटा र हिमालमा एउटा स्ट्राइकिङ फौज परिचालन गरिने छ । स्ट्राइकिङ तथा मोबाइल टोली निर्वाचनको १५ दिन अगाडिदेखि सवारी साधन सहित परिचालित हुनेछन् । निर्वाचन सुरक्षामा खटिने सशस्त्रका सकलदर्जालाई अनुशिक्षण तालिम प्रदान गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

Author

You may also like