बिर्तामोड|१३ मंसिर
ऋण मिनाहको हल्लाको पछि नलाग्न झापाका सहकारी अभियन्ताहरुले बताएका छन् ।
अर्जुनधाराको शनिश्चरे बजारस्थित सहनशील महिला बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा रहेकी जिल्ला सहकारी संस्थाका लेखा सदस्य नीलाकुमारी दाहालले केही व्यक्तिको हल्लामा ऋण मिनाह हुन्छ भनेर दौडिनु निराधार भएको बताइन् ।
दाहालले भनिन् ‘श्रीमान–श्रीमती र आफ्नो घर जग्गा छोराछोरीलाई समेत साक्षी राखेर व्यवसाय गर्छु भनी लिएको ऋण विविध कारणले तिर्नमा समस्या आउने बित्तिकै बैंकको ऋण नतिर्ने भन्ने कुरा आउँदैन । बरु समाधानको बाटोहरु खोज्न सकिन्छ ।’ महिला चेतना सहकारी संस्थाका अध्यक्ष समेत रहेकी दाहालले थपिन् ‘ऋण सबैलाई हुन्छ, व्यवसाय गर्न पछि हट्नु भएन । कर्म र मिहेनत सँगसँगै लगे ऋण तिर्न सकिन्छ ।’
कार्यक्रममा नगर समन्वय सहकारी संयोजक कृष्ण चम्लगाई र प्रज्वला अपाङ्गका अध्यक्ष डिल्ली घोर्साईले सहकारी जन्मेपछि बोल्न, सिक्न र आर्थिक चलायमानको बाटोमा हिंड्न पाएको बताउँदै ऋण मिनाह हुन्छ भन्ने कल्पना नगर्न आग्रह गरे ।
कार्यक्रममा वाणिज्य संघ अर्जुनधाराका अध्यक्ष इन्दिवर खड्काले शहरका घरहरुले मान्छे बचाउन मद्दत गराउँछ, त्यसरी नै गाउँका घरहरु पनि पर्यटक बस्ने मन लोभ्याउने बनाउन सहकारीले गतिविधि गर्नुपर्ने आग्रह गरे ।
कार्यक्रममा आर्थिक प्रतिवेदन व्यवस्थापक पम्फादेवी विश्वकर्मा, अध्यक्षको प्रतिवेदन कार्यालय सहायक निर्मला राईले वाचन गरेका थिए । आर्थिक प्रतिवेदनमा सञ्चालन मुनाफा १७ लाख ११ हजार भएको जानकारी गराइयो ।
सभामा उत्कृष्ट बाल बचतकर्ता छेम्बीहाङ राई, उत्कृष्ट ऐच्छिक बचतकर्ता सुष्मा पौडेल, उत्कृष्ट मासिक बचतकर्ता प्रमिला राजवंशी, उत्कृष्ट मुद्दती बचतकर्ता सफिना खान, उत्कृष्ट ऋणी गोपाल विक, उत्कृष्ट विद्यार्थी सौजन सुजी र विष्णुमाया कोइरालालाई सम्मान गरिएको थियो ।