मुख्य स्थानीय

प्रजातान्त्रिक आन्दोलनका योद्धा शर्माको अन्त्येष्टी

दमक | १३ मंसिर

नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्मा दाहालको मंगलवार अन्त्येष्टी गरिएको छ । कमल ५ निवासी ८८ वर्षीय नेता शर्माको सोमबार अपरान्ह साढे ४ बजे निधन भएको थियो ।
कनकाई मुक्ति घाटमा मंगलवार उनको अन्त्येष्टी अघि निवासमा श्रद्धाञ्जलीका लागि पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पुगेका थिए ।
स्व. शर्माको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै नेता सिटौलाले नेता दाहाल कांग्रेसका एक निष्ठावान, त्यागी भएकाले उनको योगदान सँधै स्मरणीय रहने बताए । पार्टीभित्र उनी सच्चा, इमान्दार नेता भएको भन्दै उनको निधनले सिंगो पार्टीमा अपुरणीय क्षति पुगेको उनको भनाई थियो ।
संक्षिप्त श्रद्धाञ्जली सभामा कांग्रेस महामन्त्री शर्माले स्व. दाहाल कांग्रेसका लागि मात्र नभएर सबैका लागि प्रेरक व्यक्तित्व भएको बताए । उनको निधनले पार्टीले एक अग्रज, अनुभवी नेतृत्वलाई गुमाउनु परेको बताए ।
स्व. दाहालको पार्थिव शरीर घरबाट उठाएर कनकाई मुक्तिघाटमा अन्तिम संस्कार गरिएको थियो । अन्त्येष्टिमा उनका तीन छोराहरु विनोद, प्रमोद र आमोदले दागवत्ती दिएका थिए । उनको दाहसंस्कारमा पूर्वमन्त्री एवं कांग्रेस नेता केशवकुमार बुढाथोकीसहित जनप्रतिनिधिहरु, कांग्रेसका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु लगायत विभिन्न राजनीतिक दल तथा सामाजिक, शैक्षिक व्यक्तित्व, सर्वसाधारणहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
स्वर्गीय नेता शर्माको निधनमा दमक बहुमुखी क्याम्पस र कमल–५ स्थित मंगलमय माविले पनि मंगलवार एक दिनका लागि शोक विदा दिएका थिए ।
तेह्थुमको फेदापमा वि.सं.१९९३ असार १३ गते जन्मिएका शर्मा पार्टी प्रतिवन्धितकालमा वि.सं. २०३९ देखि ०४२ सालसम्म कांग्रेस झापाको सभापति भएका थिए । २०१२ सालमा पार्टी सदस्यता लिएका उनी २०५१ सालको संसदीय निर्वाचनमा उम्मेदवार समेत भएका थिए ।
आप्mनो व्यक्तिगत भोगाई, जेल जीवन र पछिल्लो राजनीतिक घटनाक्रम साथै अवस्था समेटेर उनले केही वर्ष अघि ‘त्यागको परिणाम’ नामक पुस्तक समेत प्रकाशन गरेका थिए । स्व. शर्माको निधनमा कांग्रेस झापाले तीन दिन सम्म शोक मनाउने भएको छ ।
नेता दाहालको
प्रजातान्त्रिक…
निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार कांग्रेस झापाको जिल्ला कार्यालय बन्द गर्नुका साथै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको कांग्रेस झापाका सचिव कृष्ण हुँमागाईले बताए । यसैगरी कांग्रेस केन्द्रीय समितिले पनि मंगलवार शोक वक्तत्व निकालेर स्व. शर्माको निधनप्रति दुःख प्रकट गदैं शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरेको छ  । कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड्यालले स्व. शर्माको निधनमा शोक वक्तव्य निकालेर उनको निधनले कांग्रेसले एक कुशल अभिभावक गुमाउनुपरेको उल्लेख छ ।
यसैगरी, सामाजिक सञ्जालहरुमा समेत नेता शर्माको निधन प्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरी सहानुभूति प्रकट गरेका छन् ।
नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य तथा विर्तामोडस्थित विर्तासिटी अस्पतालका सञ्चालक गोपाल बस्नेतले शर्मा इमान्दार र बौद्धिक ब्यक्तित्व भएको बताए । उनले अस्पताल खोलेकै बेलादेखि वामपन्थी योद्धा दुर्गा अधिकारी र काँग्रेस नेता पूर्णानन्द शर्माको यस अस्पतालमा निःशुल्क उपचार गरिने भनेर घोषणा गरिएकाले सोही वचन पूरा गर्न निःशुल्क उपचार गरिएको जानकारी दिए । शर्मालााई सामान्य विरामी हुँदादेखि नै आफूले उपचारमा सहयोग गर्दै आएको बताए ।
पित्तथैलीमा स्टोन लगायत विभिन्न रोगबाट पीडित शर्मालाई पछिल्लो समय प्रोस्टेट बढेर स्वास्थ्यस्थिति जटिल बनेको थियो । केही वर्ष अघि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर फर्किएका शर्मा त्यसयता भने ओेछ्यान परेका थिए । ओछ्यान परेका नेता शर्माको स्वास्थ्यमा सुधार नआएपछि करिब एक साता अघिदेखि चिकित्सकहरुको निगरानीमा निरन्तर अस्पतालमै राखिएको थियो । निम्स हस्पिटल दमकबाट उनको थप उपचारका लागि विर्तासिटी अस्पताल विर्तामोड लगिएको थियो । सो अस्पतालले नेता शर्माको उपचार निःशुल्क गर्दै आएको थियो ।

You may also like