बासुदेव भट्टराई
म आज बिहानै ऐना अगाडि उभिएं । अनुहार उही थियो, आँखा उही थिए, शरिर उहि थियो तर आज मेरो ऐनाले अचानक पहिलो पटक मेरो अनुहार होईन मेरो आत्मा देखाईदियो । त्यसले कुनै प्रश्न सोधेन केवल चुपचाप हेरिरह्यो । म नै हार माने र मैले आपैंmलाई सोधें “ म किन राष्ट्रवादी वन्न सकिन ?” यो प्रश्नले मेरो छाती चिरेर भित्र पस्यो तर म संग उत्तर थिएन । किनकी म देशलाई दोष दिन सक्थें, नेतालाई दोष दिन सक्थें, व्यवस्थालाई दोष दिन सक्थे, ईतिहासलाई दोष दिन सक्थें तर आज पहिलो पटक मैले महशुस गरें कि सबै दोष अरुको काँधमा राखिरहंदा मैले आप्mनो काँध कहिल्यै हेरेको रहेनछ ।
म मेरो त्यो घरमा फर्किएं जहाँ मेरी आमाले पहिलो पटक मलाई “ सत्य वोल ” भन्न सिकाउनु भएको थियो, त्यो घर जहाँ बुवाले आप्mना सपना बेचेर मेरा सपना किनी दिनुभएको थियो । त्यो घरमा मैले अर्को पनि पाठ सिकें “ काम नीयमले होईन चिनजानले हुन्छ, थोरै पैसा खर्च गरेपछि सबै मिल्छ, ईमान्दारिले मात्र संसार चल्दैन” । त्यो दिन कसैले मलाई भ्रष्ट हुन सिकाएको थिएन तर सत्य भन्दा सुविधालाई ठुलो मान्ने एउटा बिउ मेरो मनमा रोपिएको थियो र त्यो बिउ चुपचाप हुर्किरह्यो । त्यसपछि म परिवार तर्पm फर्किंए । हामीले सन्तानलाई ठूलो मानिस बन्न त सिकायौं तर असल नागरिक बन्न कति सिकायौ ? । हामीले भन्यौं विदेश जाउ, भबिष्य वनाउ तर कहिल्यै सोधेनौं यो देशको भविष्य कसले बनाउने ? । हामीले आप्mना छोरा छोरीलाई सफलताको कथा सुनायौं तर कर्तव्यको कथा कम सुनायौं । हामीले अधिकारका गित गाईरह्यौं जहाँ कर्तव्यको संगित हराउँदै गयो ।
त्यसपछि म समाजमा निस्किए जहाँ सत्य बोल्ने मानिसलाई कहिलेकाँही मूर्ख भनियो, घुस नखाँने कर्मचारीलाई अव्यवहारिक भनियो, नीयम पालना गर्ने नागरिकलाई कमजोर ठानियो र नीयम तोडेर सफल हुनेहरुलाई चतुर । तर त्यो दिन मैले बुझिंन समाज तब मात्र बिग्रदैन जब अपराधि जन्मन्छ, समाज तब झन बिग्रन्छ जब असल मानिसहरु मौंन वस्न सिक्छन । त्यसपछि मैले सिंहदरवारतिर आँखा उठाएं जहाँ मैले सपनाहरुको भवन देख्न चाहेको थिए । तर धेरै पटक निराशा मात्र देखें । जनताको पसिनाले बनेका कार्यालयहरुमा जनताको आवाज हराएको देखें, कानुनका पुस्तकहरु बाक्लिदै गए तर न्याय पातलिदै गयो, कुर्सीहरु अग्लिदै गए तर नैतिकता होचिंदै गयो । भ्रष्टाचार केवल पैसाको कारोवार रहेन त्यो त आशाको हत्या वन्यो, हरेक घुसले एउटा गरिवको अधिकार लुट्यो, हरेक बेथितिले एउटा बिद्यार्थीको भविश्य चो¥यो, हरेक कुशासनले एउटी आमाको विश्वास तोड्यो, हरेक दण्डहिनताले एउटा वालकलाई सिकायो “ गल्ती गर, शक्ति भए केहि हुदैन”। त्यसपछि म हिमाल तिर फर्किएं । हिमाल मौन थियो तर त्यो मौनता भित्र हज्जारौं बर्षको इतिहास बोलिरहेको थियो । हिमालले मलाई सोध्यो “ तिमी मलाई संसारकै अग्लो भनेर गर्व गर्छौ तर तिम्रो चरित्र कति अग्लो छ ?, म संग उत्तर थिएन । म नदी किनार तिर पुगें, नदी बगिरहेकी थिईन् । मलाई देखेर उनले मलाई भनिन “ म आप्mना लागि बग्दिन, म अरुलाई जीवन दिन वगिरहेकी छु । तिमीले आप्mनो जीवन कस्का लागि बगायौ ? म फेरी मौंन भएं । माटोको एउटा डल्ला हातमा उठाँए, त्यो माटोमा किसानको पसिना थियो, यो देश स्वतन्त्र राख्ने सैनिकको रगत थियो, शहिदका सपना थिए, आमाको आँशु थियो, बालकको भविश्य थियो । मैले त्यो माटोलाई निधारमा लगाएं तब अचानक मलाई लाग्यो देश नक्सामा कोरिएको रेखा हाईन रहेछ, देश त आमाको अनुहार रहेछ, देश त बुवाको थाकेको निधार रहेछ, देश त किसानको फुटेको पैताला रहेछ, देश त मजदुरको पसिना रहेछ, देश त बिद्यालय जाँदै गरेको नाङ्गो खुट्टावाला वालक रहेछ, देश त रातभरी विरामी कुरिरहेकी नर्स रहेछ, देश त सिमामा चिसो र प्रचण्ड गर्मी सहेर उभिएको जवान रहेछ, देश त हामी सबैको साझा जिम्मेवारी रहेछ ।
त्यसपछि मैले आप्mनो मुटु छांमे र त्यहाँबाट एउटा तितो सत्य भेट्टाएं कि म राष्ट्रवादी बन्न नसकेको कारण देश गरिव थियो भनेर होइन, नेता खराव थिए भनेर पनि होईन, व्यवस्था कमजोर थियो भनेर मात्र पनि होईन, म राष्ट्रवादी वन्न नसकेको कारण मैले देशलाई माया गर्ने जिम्मेवारी अरुको काँधमा छाडिदिएं, म परिवर्तन चाहन्थे तर आफु बदलिन चाहन्नथें, म ईमान्दार नेता खोज्थें तर आफु सानो बेईमानीमा सँझौता गर्थे, म सुशासन मांग्थें तर नीयम पालना गर्न हतार भएको मान्थें, म देश प्रेमको भाषण गर्थे तर सार्वजनिक सम्पत्तिलाई आप्mनै सम्पत्ति जस्तो जोगाँउन चाहन्नथें सक्दिनथें ।
आज मेरो आत्माले मलाई एउटा अन्तिम प्रश्न सोध्यो “ यदी तिमी जस्तै सोच्ने करोडौं नेपाली भए भनें नेपाल कस्तो बन्थ्यो ?” यो प्रश्नले मलाई पानी पानी बनायो, आत्मा भरिएर कुण्ठित वनायो, अनायास मेरा आँखाबाट अश्रुबर्षा भयो किनकी मैले पहिलो पटक बुभेंm कि देश कहिल्यै नेताले मात्र बन्दैन, देश नागरिकको चरित्रले बन्छ र चरित्र संविधानमा लेखिंदैन तर चरित्र अन्तरआत्मामा लेखिईरहेको हुन्छ । यि सबै बृतान्त भनिरहंदा म कसैलाई दोष दिन चाहन्न, म आपैंmलाई कटघरामा उभ्याएको छु । आज म कसैसंग अधिकार माग्न आएको होईन, म आप्mनो कर्तव्य सम्झिन आएको छु । आज मैले देश बदल्ने ठूलो नारा बोकेर आएको छैन, म आपैंm बदलिने संकल्प बोकेर आएको छु । किनभनें एउटा असल नागरिक जन्मनु भनेको एउटा नयाँ नेपालको जन्म हुनु हो । यदि भोली मेरा छोराले मलाई सोध्यो “ बुवा तपाईले देशका लागि के गर्नु भयो ?” भनें म संग उत्तर हुनुपर्दछ । यदि मेरी छोरीले सोधी “ राष्ट्रप्रेम भनेको के हो ?” त्यसको उत्तरमा मैले भाषण होईन आप्mनो जीवन देखाउन सक्नुपर्दछ किनकी सन्तानले हाम्रो बोली भन्दा हाम्रो बानी सिक्दछन ।
आज म ठूलो घोषणा त गर्दिन कि म प्रकाण्ड राष्ट्रवादी बनें । म केवल यति स्विकार गर्दछु कि आज सम्म म राष्ट्रवादी बन्न सकिंन किनकी मैले राष्टलाई मायाँ गर्नुभन्दा पहिले आफुलाई सुधार्न बिर्सिएं । तर आज मेरो अन्तरमनमा एउटा नयाँ विहानी उदाएको छ । आज मैले राष्ट्रलाई होईन आप्mनै विवेकलाई भेटेको छु र त्यो विवेकले मलाई एउटा मात्र वाक्य सुनायो “ देश बदल्न चाहन्छौ भनें आज राती सुत्नु अघि एउटा असल नागरिक भएर सुत भोली विहान उठ्दा नेपाल अलिकति राम्रो भईसकेको हुनेछ ।” त्यसैले भोली देखि होईन अहिले देखि, यहि क्षण देखि म राष्ट्रवादी बन्छु । न नाराका कारण, न झण्डाका कारण, न कसैको आदेशका कारण तर यस माटोले मलाई जन्म दिएको ऋण तिर्न, यी आमाले मलाई नेपाली बनाएको सम्मान जनाउन र भावी पुस्ताले गर्वका साथ भन्न सकुन “ हाम्रा पुर्खाहरुले केवल नेपालमा जन्म लिएनन्, उनीहरुले नेपाललाई आप्mनो चरित्रमा पनि बाँचिराखे ” ।
०० अस्तु ००