चैत सुरु हुनासाथ एउटा घटना मनभरी आउने गर्छ ।
आज ३२ वर्ष भएछ त्यो उकालो उक्लिएको । त्यो डुंगा तरेको । त्यो कथामा रङ्गिएको, तमोर तरेको । धेरैले के ठान्छन् भने कुरा नया“ हुनु पर्छ र त्यही लेख्नु पर्छ । तर आज के लागिरहेको छ भने त्यो चाहीं नया“ विषय हो र मेरो वर्तमान चाहिं पुरानो विषय हो ।
२०४८ साल चैत महिना । चैत नै परेछ आज फेरि । चैत्रको हुरी लिएर आएको थियो त्यो क्षण । चैत्रको सुक्खा लिएर आएको थियो त्यो क्षण । हावामा धुलोका कणैकण लिएर आएको थियो त्यो क्षण । फिदिमको रातमाटे डा“डाको रातो धुलो लिएर आएको थियो त्यो क्षण । यही धुलोका अवयवहरुमा जीवनको परिभाषा खोज्दै थिंएँ म त्यसवेला । प्रमाणपत्र तह उतिर्ण गरेको किशोर स्नातक अध्ययन गर्ने चा“जोपा“जो मिलाउदै थिएँ । सपनाका थुप्रै भकारीहरु भण्डार कोठामा सजाएर रोमाञ्चकारी जीवनको प्रपञ्च रच्दै थिएंँ त्यस बेला म । अनि त्यही अन्न भष्यिका कल्पनाभित्र मान्द्रा फिंजाएर तिनै अन्न खाएर ढ्याउ गर्दै थिएंँ म । अनि त्यो रंगिन दुनिया“भित्र मेरो कलेवर हेर्दै थिएंँ म ।
त्यो जीजिविषाभित्र मेरो स्नातक अध्ययन गर्ने उत्कण्ठाले पिरोलिएर दुर्गाराज भ्ट्टराई कहा“ं गएंँ । प्रकृतिप्रेमी, गम्भीर विचारशील हुनुहुन्थ्यो उहां“ । उहा“लाई तर्क र विश्लेषण औधी मन पथ्र्यो । मानवताको रंगमा दुनिया“ कस्तो छ भनेर हेर्ने गर्नुहुन्थ्यो । भ्रमणको कुरा आएपछि मैले आठराई जानु पर्ने कुरा गरें । चुहानडा“डामा स्नातक अध्ययनकोलागि बुभ्mन जाने निधो भयो र उहांँ औधी खुशी हुनु भयो । चा“जोपा“जो मिलाएर हामी भालिपल्ट विहानै फिदिमबाट चुहानडा“डातिर प्रस्थान ग¥यौं । हामी दुईजना फुट्टा हिड्यौं मानौं हामी कुनै ठूलो पराक्रममा निस्केका छौं । पुख्र्यौली घर त्यतै भएकोले गर्दा उहा“ंलाई त कुनै उत्तेजना थिएन क्यार, तर म भने उत्तेजित थिएं । किनकि त्यो मेरो पहिलो यात्रा थियो चुहानडा“डाको । म उद्धेलित भएं । उन्मादित भएं ।
हामी हिंडेर ओरालो लाग्यौं । जोरसाल बजारबाट पनि ओरालो लाग्यौं । त्यो पारिलो भीरबाट पारीपट्टी देखिने भीर र डा“डाले मन उचालिरहन्थ्यो माथिमाथि । तर म जा“दै थिएं तलतल । उ“धो हिंडेर माथि चढनु कति रोमाञ्चकारी हुन्छ जीवन ? माथि हिंडेर तलतल झर्नु कति रहस्यमय हुन्छ जीवन ? सीधा हिंडेर सिधै पनि नचढ्नु कति नीरस हुन्छ जीवन ? सांगुरो बाटो, जंगल र भीरबाट माझीटार तर्फ ओर्लंदै गर्दा बाटामा भेटिएका ढाक्रेहरुको साहसिकता देख्दा तिनलाई सलोट गर्न मन लाग्यो । ती बडेमानका भारी बोकेर आठराइ जा“दै थिए । भोली फेरि त्यही बाटो ती पसिनाका धारा पुस्दै गइरहेका हुनेछन् । म रित्तो हिंडिरहेको थिएँ र पनि थकित थिएँ । ती भारी बोकिरहेका थिए र पनि ती थकित थिएनन् ।
त्यो रातो र सेतो माटोको धुलोले रंगिएको बाटो तिनका पसिनाले सिंचिरहेको छ भन्ने लाग्थ्यो मलाई । ती पसिनासंग खून साट्दै थिए । खूनसंग सपना साट्दै थिए । सपनासंग जीवन साट्दै थिए । जीवनसंग हृदय साटेर ती अनवरत थिए यात्रामा । मैले सोचें—मेरो यात्रा पनि सपनासंग जीवन साट्ने थियो । पढेर, योग्यता हासिल गरेर जीवनको गर्जो टार्ने सपनामा लीन थियो त्यो यात्रा मेरो । योग्यतालाई तराजुमा जोखेर स्वास फेर्ने निःसृतताभित्र बा“चेको म र पसिनालाई तराजुमा जोखेर स्वास फेर्ने निःसतृताभित्र बा“ंचेका तिनीहरुबीचको अन्तरले म निशब्द भएं । माझीटारको सम्म टार र पर्तिर बगेको तमोरले एकाविहानै हिमालबाट तिनका सपना बगाएर लिएर आउ“थ्यो । अनि सा“झ नपर्दै तिनका सपना तमोरले बगाएर लैजान्थ्यो । त्यो सपना गएर ल्याउने अस्त्र थियो । त्यो सपना बगाएर लैजाने ढोडको तक्मा थियो । भरोसाविहीन् । आकास जस्तै नीलो र अनन्ततामा तिनका सपना अंकुरिन्थे । दिनभरीको कमाइले जीवनका कुनै कोलाज नबनेकाहरु पानीको भयाभह चरित्रसंग लडाईं गर्दै बा“चेका ती आयरीश नाटककार सिंजको पात्र ‘मौर्या’मा थुप्रै भूमिका निर्वाह गरिसकेर पनि खुशी थिए । मौर्या पनि माझी परिवारकी आमा थिइन् । समुद्रले तिनका छ भाई छोरा र श्रीमानलाई खाएको थियो । तर पनि मौर्या शान्त र धैर्य थिइन् । त्यही समुद्रले जीवन दिन्थ्यो सवको । अनि त्यही समुद्रले जीवनका सारा खुशी चुंडेर लग्थ्यो ।
खोलाले एउटा नानी हिजैमात्र बगाएको गानगुन थियो त्यहा“ । एउटी महिला त्यसो भन्दै थिइन् । मैले सोचें ती मौर्याको बिम्बमा बिराजमान थिइन् । डुंगा तरेर पारिपट्टीको उकालो चढन थाल्यौं । रुखहरुले भरिएको त्यो उकालो उजाड थियो । त्यो हरियालीभित्रको उजाडता थियो । हरियालीभित्रको विभत्सता थियो । रुख थिए, पानी थिएन । रुख थिए शितल थिएन । त्यो जीवनको बिम्ब थिएछ मैले बुझ्न नसकेको । त्यो उकालो मलाई भन्दै थियो — आज जीवनका हरेक अवयवहरु यसरी नै चलेका छन् । हो रहेछ, पत्याएँं ।
दलहरु छन्, लोकतन्त्र छैन । सरकार छ, शासन छैन । मान्छे छन्, मान्छेको झण्डा छैन । पार्टीका झण्डा छन्, देशको झण्डा छैन । राष्ट्रवादीहरु देशको ‘डी. भी.’ फारम भरेर मुस्कुराउ“दैछन् । यो विपरीत अनुक्रमनको नियमले यो सारा दुनिया“ निलेको बेला त्यो चुहानडां“डाको उकालोले बोकेको बिम्बमा म अहिले मेरो दुनियाँ हेर्दैछु । सही रहेछ ।
जंगल काटेर माथि बस्तीमा पुग्दा ठूलो युद्ध जितेको जस्तो फोस्रो वैभवता जन्मियो । भोक पनि लागेछ । चुहानडा“डा नपुगी केहीखाने कुरा पनि सोचिएन । माग्ने हिम्मत पनि आएन । पानी खायौं र हिड्यौं । खानेकुराको प्रसंग उठ्यो । दुर्गाजीले धु्रबचन्द्र गौतमको निमित्त नायक उपन्यासको एउटा वाक्यले भाउन्न खेलाउनु भयो । एउटा भोकलागेको मान्छेले रुखमा दाडिमका दाना लटरम्म देखेर टिप्ने मनसाय राख्यो । अर्कोले झपार्दै भन्यो, ‘ए, ती त मान्छेका हुन्’ ।
सम्झें, आज जे कुरा मान्छेसंग छन, ्ती मान्न्छेकालागि होइनन् । मान्छेसंग भएको चिज मान्छेलाई होइन रहेछ । मान्छेले मान्छेबाट केही पनि लिन नपाउने यथार्थबाट मानवताको ब्याख्या भइरहेको छ । अनि भनिंदै छ मानवतावाद, परोपकार । मान्छेको गा“स खोसेर परोपकार । मान्छेको हा“सो खोसेर परोपकार । आज म यसको रुपकता पढ्दैछु ।
हामी माथि थाप्लोमा पुग्यौं । क्याम्पस क्षेत्र । त्यो विराट थियो । पुरानो क्याम्पस भएकोले । त्यो गहनाले सुसज्जित दुलही जस्तै उत्तेजना र रोमाञ्चकताको विरासतमा थियो त्यो डा“डो । त्यो प्राज्ञिक थलोले उत्पन्न गराएका रंग र ऊर्जाहरुबाट सजिएको जस्तो लाग्यो । बेलुका सिरेटो लागेर कम्पन उत्पन्न गर्दौरहेछ । दुर्गाजीले आफन्तकहां लग्नु भयो । खानपीन सकेर गफगाफ सुरु गझयौं । कांग्रेस र कम्युष्टिका थुप्रै कलेवरहरु व्यक्त भए । थुप्रै कोलाजहरु प्रक्षेपण भए । तिनले राजनैतिक रङ्गका कुरा गरे । परिवारका महिला सदस्यहरुका विचार कति सशक्त थिए भनेर म आज केलाउ“दैछु । तिनले भने, ‘पार्टीका कारणले जनता विभाजित छन् ।’ गजव लाग्यो तिनको चेतना र तर्क देख्दा ।
भोलिपल्ट हामी तुङ्ग थपलिया सर कहा“ं गयौं । त्यहां“ परिवारका बृद्धबृद्धाहरु हुनुहुन्थ्यो । उहा“हरुले फिदिमका डी.एस.पी.को खवर उत्साह देखाएर सोध्नु भएन । आफन्त भएर पनि सोध्नु भएन । बरु हामीले नै उहा“संग कहिलेकहीं भेट हुन्छ भनी उत्तर दियौं । अनि उहा“हरुले प्रतिकृया दिनुभयो । ‘आ, मोरो ।’ यो भनाइले मलाई मर्माहत पाझयो । मैले किन भनेर सोध्ने आ“ट पनि गरिनँ । मलाई लाग्थ्यो, यिनीहरुले त्यो जिल्ला प्रहरी प्रमुखप्रति गौरव गर्लान् । भाव र श्रद्धाले ओतप्रोत होलान् । उसलाई कुनै राम्रो सन्देश पठाइ देलान् । हामी पनि खवर लिएर डी.एस.पी.संग अलिक बढी मित्रता गर्न पाइने भो । एकजना बृद्ध बम्किनु भयो ः ‘त्यो बजियाले के गर्छ र त्यहा“ ।’ फेरी अर्का बृद्धको टिप्पणी आयो, ‘जा“डरक्सीको थुप्रोमा के गर्छ त्यसले ? बजिया ।’ मलाई यो दृष्य अपवादपूर्ण लाग्यो । चिया दोकान गर्ने दाइलाई ‘मेरो साख्खे दाजु हुन्, हाम्रा हजुरबाहरु एउटै थिए’ भन्नेहरु गल्लीभरी पाइन्छन् । मन्त्रायका खरिदारको कुरा गर्दा प्वाक्क ‘मेरा काका हुन्’ भन्न विभवता महसुस गर्छन् अचेल मान्छे ।
पोहोर सालमात्रै गाइगोरुको व्यापारी घुम्दै आउ“दा यी हाम्रा गाउ“का मामाका ज्वाईं हुन् भनेर श्रीमतीले भात खानदिएर पठाएको सम्झना ताजै छ । हिरासतमा मेरा एकजना साथी परेपछि उनका अर्का पुराना साथीले प्याच्च भने, ‘त्यो मेरो पुरानो साथी मात्र होइन, नातेदार पनि हो ।’ मलाई फसाद प¥यो । साथी भन्ने हिम्मत थिएन । अर्थात मान्छे अचेल मान्छेका मान्छे हुन रमाउ“छन् । मान्छे अचेल आफ्नो मान्छे बन्न चाहंदैनन् । आफ्नो मान्छे आपैंm बन्न कहां“ यसै सकिन्छ र ?,
मेरा साथी राम उपाध्ययलाई बनारसमा एउटा चौधरीले हप्काएछ । उसले भनेछ, ‘देखा, ओ नेपाली लोग, नेपालमें हमारा चौधरी मन्त्री हुवा । अवभी तु समझते कि चौधरी लोग मुर्ख हे ? नेपालमे भीहमारा राज सुरु हुवा ।’ विचरा के भन्नु त्यो मूर्खलाई । कुरो के रहेछ भने राष्ट्रिय पञ्चायतमा झापाबाट पुवांतु चौधरीले चुनाव जितेको रहेछ । चौधरी भएको नाताले उसले हप्काएछ । अनि माधव नेपाल उप—प्रधानमन्त्रीहु“दा ठूलो स्वरले खोक्यो एउटा नेपाल थरको साथी ।
सम्भुजित बा“स्कोटा महान संगीतकार बनिरहंदा मलाई वधाई पनि पाइयो विद्यार्थी हुं“दा । आफन्तपनको यो कलेबरमा रङ्गिएको यो दुनिया“ देख्दा सवैलाई लोभ लागेर आउ“छ । आफन्त अहोदामा भएपछि राम्रा अवसरहरु पाएन्छ भन्ने विश्वासले पार्टी कार्यालयमा, मन्त्रालयमा, संघसंस्थाहरु हरेक ठाउ“मा झींगा भन्केझैं भन्किरहन्छन् मान्छे । अनि सुशासन र निष्पक्षता कुन चराको नाउ“ हो भन्न्ने कहावत बन्न पुग्छ ।
अनि मलाई थुप्रै मान्छेले प्रश्न गर्थे, तेरा आफन्तहरु त ठूला ओहदामा थिए तर त“ चाहिं किन यसरी स्यालचारो गर्दै एउटा र दुईवटा पिरियड पढाएर दुःखको जीवन अ“गाल्छस् भन्दै बारबार दिमाग खराव गर्थे र अहिले पनि गर्छन् । मेरो रेडिमेड उत्तर हुन्छ—आफ्नै पसीना र आफ्नै क्षमतामा बा“च्ने प्रयास गर्नु पर्छ । यो एउटा खोक्रो आदर्श थियो । तर तुङ्गसरको घरको त्यो दृष्यले मलाई विक्षिप्त बनायो । लाग्यो, यो नेपाल नभएर अर्कै दुनिया“ हो । यिनले आफन्त मान्छे पुलिसको जिल्लाकै ठूलो मान्छे हु“दा पनि देखाएको त्यो असन्तुष्टि ‘अजव देशको गजव कहानी’ भयो ।
विहान खाना खाएर क्याम्पसमा गयौं । क्याम्पसमा सवै कुरा बुझिसकेपछि हामी फिदिमतर्फ लाग्यौं चुहानडा“डाको ओरालो । आजचाहीं हामी ओरालो हिंडदै थियौं । ओरालो हिंडेर पारिपट्टीको भित्तो ठिङ्ग उभिएको देख्दा लाग्यो, ओरालो बाटोमा मन उकालो हिंडदैछ । मलाई विहानैदेखि बेचैन बनाएको थियो ती बृद्धहरुको प्रतिकृयाहरुले । दुर्गाजीलाई यो रहस्य बताइदिन भनें । यस्ता गुप्त कुराहरुको रहस्यको रोमाञ्चकतामा औधी रमाउने मान्छे उहा“ । तर्कमा रमाउने मान्छे उहा“ । रङ्गमा रमाउने मान्छे उहा“ । उहा“ हाइस्कुल पढ्दा पनि उहा“का पिताजीसंग तर्क गर्नुहुन्थ्यो ‘ज्ञान र विज्ञानमा के फरक छ ?’ जव दुर्गाजी एउटै हो भन्नुहुन्थ्यो, पिताजी कड्किनु हुन्थ्यो ‘अकास पताल फरक छ’ । उहा“लाई कसैले ईश्वर ‘छैन’ भन्यो भने ‘छ’ भनेर तर्क गर्न मज्जा लाग्थ्यो, अनि ईश्वर ‘छ’ भनेर कसैले तर्क गझयो भने ‘छैन’ भनेर तर्क गर्नुहुन्थ्यो । मलाई लाग्यो, अव मेरो उत्तर म पाउने छु ।
ओरालोको त्यो स्निग्ध छा“यामा खुट्टा लरखराउ“दै थियौं । दुर्गाजीलाई मैले सोधें, ‘यी बुढाबुढीका कुरा भयानक लागे मलाई । किन यिनले आफ्नै मान्छेसंग गौरव गर्न नसकेका ?’ उहा“को उत्तर झनै भयानक थियो । चैतको हुण्डरी जस्तै । ‘यी आफ्नो कूलप्रति अहंता बोक्छन् । यिनलाई के लाग्छ भने डी. एस. पी. नै किन नहोस्, पुलिसको जागिर इज्जतदार होइन र यो खाले जागिरले कूलबंशको गरिमा पनि बढाउ“दैन । यिनले यही सोचेका हुनुपर्छ ।’ दुर्गाजीले विना हिच्कचाहट बोल्नु भयो । त्यो दिन एउटा जीजिविषा भत्किएको दिन थियो । एउटा विचारको चिरहरण भएको दिन थियो । मान्छेले जैविक रुपमा पालेका अवयवहरु क्ति शसक्त हु“दा रहेछन् भन्ने पनि बुझियो । अनि राप र तापमा तमोरको गढमा रुक्यौं । डुंगामा रम्यौं । माझीटारबाट उकालो लाग्दै जोरसाल आइपुग्दा खङ्गरङ्ग मन भएको महसुस भयो । फिदिम आइपुग्दा हावा हुण्डरी चल्न थाल्यो
यो चैत्रको हुरीको समय थियो । त्यो हुरी ढाक्रेहरुलाई भेट्दा चल्यो । त्यो हुरी तमोरलाई भेट्दा चल्यो । त्यो हुरी धु्रवचन्द्र गौतमको दाडिमका दानामा थियो । त्यो हुरी थपलिया परिवारको अहंतामा थियो । यो चैत्रको सुख्खाको समय थियो । हामी आफ्नो आफ्नो गु“डतिर लाग्यौं । चैत्रले मनलाई गह्रौं पारिरहन्छ आज पनि ।