देश दपेटामा अलमलिएको छ । कहीं कतै शान्ति खोजेर पाउने अवस्था छैन । शान्ति कुन चरीको नाम हो ? यो कहाँ र कुन मुलुकमा पाइन्छ ? नेपालमा पाइन्छ कि अर्कै देशमा पाइन्छ ? भनेर कसैले प्रश्न गर्यो भने नेपालमै पाइन्छ भनेर उत्तर महान नेताहरुले दिन सक्छन तर ब्यालेट पेपरमा हिजो जनमत दिने जनताले भने दिन नसक्ने अवस्था देखिएको छ, हिजोआज । नदेखिनु पनि कसरी ? जसले राणाशासन, राजाहरुको शासनदेखि वर्तमान चल्दै गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति हेरिसके, बुझिसके ।
आखिर कुन शासन उत्तम छ त ? देख्ने, भोग्ने, छल्ने, ब्रम्हलुट गर्ने यिनै दल र तिनका नेतृत्व हुन जसले देश दोहन गर्दैछन । देशलाई यस्तो अवस्थासम्म पु¥याएका छन ्कि गरिब जनता अब उस्किनेवाला छैनन । यो लेख्दा सम्म यो कलमी आवाज ले कसैलाई चित्त दुख्न सक्ला , अनेकन आरोप लाग्न सक्ला, लागोस तर देखेको तीतो यथार्थ तपाईं पाठक वर्गसँग संप्रेषित गर्न चाहेको मात्र हुँ, जुन यथार्थ छ । हिजोका कहालिलाग्दा राजनीतिक विरासतबाट ल्याएको यो लोकतान्त्रिक गणतन्त्र आज किन सट्टेवाजीको राजनीतिमा बदलियो, यो बिगार्ने महान नेपाली जनता हुन कि हाम्रा नेता ? जनताले के बिगारेका छन ? आज तिनै नेपाली जनतालाई अदलबदल गरेर “माछा माछा भ्यागुतो” बनाउने को हो ? आशाहरु निमोठ्ने को हो ? पुरानो विरासतहरु हुन, जो अहिलेपनि सडक आन्दोलनमा छन, जनखबरदारी गरिरहेका छन । लोकतन्त्र आएपस्चात उनीहरूले वाकस्वतन्त्रताको वकालत गर्न पाउने या नपाउने ? यसलाई लोकतान्त्रिक गणतन्त्र भन्ने कि गाणतन्त्र भन्ने ? यतिसम्म लाजमर्दो काम गर्दैछ कि यो सरकार कोहि निरीह जनता बोल्यो कि पोल्यो । लोकतन्त्रमा बोल्न पाउने, यथार्थ लेख्न पाउने अधिकार कसैलाई छ या छैन ? यसको उत्तर दलीय सिण्डिकेटमा लागेका अनेकन अधिकारकर्मीहरुले उत्तर दिन सक्लान, अवश्य सक्दैनन उनीहरू यो ल्याकतनै छैन कि उनीहरू दलहरूका हनुमाने, चम्चे, सुराकीमात्र हुन पुगेका छन् । आज स्थानमा मानव अधिकार हनन भएको छ, पीत पत्रकारिताका समाचार दलीय सिण्डिकेटमा चलेको छ । यथार्थ सत्य र तथ्यपरक समाचार लुकाइएका छन । म, मेरो र हाम्रो पार्टीका हुन वहाँहरु भन्ने बेथितिले पत्रकारिता पेसामा राजनीति चल्न थालेको छ । हामीले हिजो निर्वाचित गराएका जनप्रतिनिधि र नेतृत्व शक्ति केन्द्रमा पुगिसकेपछि जनताका मुद्दा र समस्याहरु पनि दिनप्रतिदिन स्खलित बन्दै गएका छन । जनताको मौलिक हक, अधिकारसम्म सुनिश्चित हुन सकिरहेको छैन ।
हिजो आफू सरकारमा नरहदा आफूमाथि लागेका आरोप लागेकाहरु अहिले सरकारमा हुँदासम्म सम्बन्धित निकायले फायल खोल्न सकेको छैन । यो सम्बन्धमा बोल्ने को हो त, अब ? सबै मौन किन? बोल्ने अधिकार सबैको हो या होइन ? आज जनता बिगतमा उनीहरूले गरेको कालो कर्तुतको पर्दाफास गर्न किन आनाकानी गरिरहेका छन ? जनताहरुलाइ मौन बस्न बिरोध गर्न नपाउने बनायो कसले ? यही सिण्डिकेट प्रणालीलेनै हो, यो दावा र किटानीका साथ हामी कलमजीवीको स्वतन्त्र आवाजले मुखरित गर्न सक्छ । आज फगत हाम्रो नेतृत्व जनताको विश्वासलाई टेकेर कसरी सत्ता र शक्तिमा पुगिन्छ भन्ने सोचबाट मात्रै शासन पद्धतिमा खडा अहिलेपनि हुँदैछन, आज जन– जनलाइ बिझ्ने र हाम्रा नेताप्रतिको आक्रोश बढ्ने काम दिनप्रतिदिन बढ्दो छ । तपाईं हामी हिजोआज अवलोकन गर्न सक्छौ, ठम्याउन सक्छौ कि लोकतान्त्रिक गणतन्त्र चाहने शक्तिमा थोरबहुत शक्ति छ कि अरुकुनै नयाँ शक्तिको उदयमान हुँदैछ ? यो बिचरणीय बिषयवस्तुको रुपमा जनताहरुले अर्जुनदृष्टि राख्न थालिसकेका छन । समाजमा आज एउटा यस्तो पुस्ता जन्मिदैछ जसले राजनीति भन्ने शब्द सुन्ने साथ नाक खुम्च्याउछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्तान्तरण आयो अहिले जो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निम्ति जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपथ्र्यो तर जसको राज उसैको नीति बन्न पुगेको छ, बर्तमान । यसमा अर्को पुस्ताको हस्तक्षेपको आवश्यकता महसुस हुन थालेको छ जनजनमा । हिजो पृथ्वीनारायणको पालामा लडने क्षमता चाहिन्थ्यो भने वीपी र पुष्पलालको बेलामा सोच्ने र निर्णय गर्न सक्ने महान ब्यक्तित्वहरु जन्मिएका थिए । अहिले जब देशमा लोकतान्त्रिक गणतन्त्र आयो नि यसैको जगमा बसेर सामाजिक असमानता कम गर्दै आर्थिक, सामाजिक समस्या समाधान गर्ने सफल नेतृत्वको खाचो दिनप्रतिदिन खडकिदै गएको छ । यहाँ यति बर्ष जेल जीवन भोगियो हामीभन्दा बढी संघर्ष गर्ने अरुदलका नेताहरू को छन भनेर कोकोहोलो मच्चाएपनि यहाँ कोहि पनि त्यस्ता बहादुरी, कर्मवीर नेताहरु यो नयाँ पुष्ताले देख्न सक्या छैन । इतिहास पुरुष त थिए तर उनीहरूको विरासतलाई पटकपटक धोका र षड्यन्त्र गरेर देशको गरिमालाइ दोहन गर्नेहरुले देशलाई दिनप्रतिदिन क्षयीकरणतर्फ धकेल्दैगरेको वर्तमान राजनीति अहिलेका नयाँ पुष्ताले देखिरहदा उनीहरूले पछिका दिनमा हाम्रा नेताहरूलाई के भन्लान ? । यसो भनिरहदा अब तत्कालै पुरानै एकतन्त्रीय राज्यसत्ताको पुनरावृत्ति हुन्छ या हुँदैन भन्ने कुरा यहाँ सूक्ष्म रुपले उठान गर्न खोजेको मात्र हो , यसलाई सकारात्मक रुपले बुझिदिनु भए पुग्छ ।
आज आस्थाको राजनीति दिनानुदिन क्षयीकरण भइरहेको बेला देश र जनताको लागि होमिएका नेतृत्व खोजेर पनि अहिले भेट्न सकिन्न । बचेखुचेका बयोबृद्द नेताहरू देखिबिच अरु कोहि छैनन । उनीहरूकै पोल्टामा छ नेपाली राजनीतिको मियो । देशको राजनीतिको गाढी हाक्ने जिम्मा लिएका राजनीतिक दल र तिनका नेता यो वर्तमान नेपाली राजनीतिको तरल अवस्थालाई नियालेर यसलाई कसरी पुरानै अवस्थामा अवतरण गर्न सकिन्छ भन्ने उत्तरदायित्वप्रति कोहि कत्तिपनि गम्भीर भएको देखिन्न । सबैलाई आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, संस्कृति क्षेत्र विचलन होस भन्नेमा ध्यानआकृष्ट भएको देखिन्छ । समस्यै – समस्या ल्याउने अनि समाधान नखोज्ने प्रवृत्तिले देशको आर्थिक अवस्था डामाडोल भएको छ । यो डामाडोल अवस्थालाई पूर्ववत अवस्थामा ल्याउछौँ भनेर बिगुल फुक्ने काम कुनै पुराना या नयाँ खरानी घसेकाहरुले गर्छौ भनेर हावादारी गफगर्नु भनेको भालुलाइ पुराण सुनाउनु जत्तिकै हुनेछ किनकि जनतानै पुराना दलहरु र तिनका नेतृत्वप्रतिनै आक्रामक छन । अबका दिनमा यो दिनप्रतिदिन राजनीतिमा देखिएको उल्झनलाई समाधान गर्नका निम्ति सबै राजनीतिक दल झगडामा होइन । समाजमा आफ्नो सोच र एजेन्डाको अपरिहार्यता पुष्टि गरेर सबै राजनीतिक दलहरु हातेमालो गर्दै अगाडि बढ्नसक्नु पर्छ । यो पनि हुन सकेन भने जनता सबैले सडकमा बिद्रोह गर्नेछन । यो निश्चितप्रायः छ । नेपाली जनताको जय होस ।