जीवाको यायावरी पाटो

 ==== लामिछाने मनभरी आफ्नो देश बोकेर हिँड्दा रहेछन् । देश देशावर पुस्तक यस कुराको ज्वलन्त उदाहरण हो । जातीय विद्वेष बढ्दै गएर हिंसामा परिणत हुँदा १०० दिन भित्रमा दशलाख मानिसहरु मारिएको मुलुक रुवान्डा पुग्दा उनले आफ्नो मुलुक सम्झिए । नेपालभित्र जातीय विद्वेष फैलिन सक्ने संकेतहरु सम्झेर झस्किए ==== 

 

 डा. व्यन्जना शर्मा

कहिलेकहिले आफ्नो ठाउँको, परिवेशको पूर्ण स्वरुप हेर्न अलि पर उभिनुपर्ने हुन्छ । टाढा गएर अर्कै भूमिमा श्वास फेरेपछि बल्ल आफ्नो भूमिको पूरा तस्वीर आउँछ । ऐनाको ज्यादै नजिक उभिँदा पूरै कद देखिँदैन । हामीले अलि पर उभिनुपर्ने हुन्छ । अलिकति दूरीमा गएर, डाँडामा उभिएर हेर्दा अलि परपरसम्म स्पष्ट देख्न सकिन्छ । पहाडमै उभिएर त पहाडको पूरा स्वरुप देखिन्न, अलि परै उभिनु पर्छ । त्यस्तै हो भ्रमण पनि । भौतिक रुपमा जति टाढा पुगिन्छ, भावनात्मक रुपमा आफूले प्यारो मानेको ठाउँ र मानिसहरुका नजिक पुगिन्छ । लेखकका रुपमा जीवा लामिछानेलाई उनका भ्रमण सम्बन्धी दुईवटा पुस्तक सरसर्ती संसार र देश देशावर पढ्दा पनि त्यस्तै लाग्छ ।

जीवा लामिछानेलाई एक सफल व्यवसायी र उद्यमीका रुपमा म चिन्छु । त्यो भन्दा बढि उनको लेखनीले नै चिन्छु भन्दा पनि अत्युक्ति हुँदैन । उनका दुई पुस्तक एकैपटक चितवनबाट कुरियरमार्पmत् धनराज दाजुले पठाइदिनुभयो । यी दुवै पुस्तक विस्तारै विस्तारै पढ्ने क्रममा जीवाको यायावरी पाटोलाई नजिकबाट देख्न सकियो । लेखनीको प्रथम उपलब्धी त मलाई पाठकहरुलाई अक्षरसँग हिँडाउन सक्नु नै हो जस्तो लाग्छ । त्यस हिसाबले हेर्दा म लेखकसँगै अक्षर माध्यमबाट यात्रा गरिनै रहेँ । नयाँ ठाउँमा जान र त्यो स्थानको भूगोल, इतिहास र संस्कृति बुझ्न उत्सुक भई नै रहेँ । यस सन्दर्भमा म एउटा सानो कथा जोड्न चाहन्छु ।

दुईजना मान्छे मरुभूमिमा बाटो बिराएर हराएछन् । दुवैजना भोक र तिर्खाले लखतरान थिए । हिँड्दा हिँड्दा उनीहरु एउटा अग्लो पर्खाल भए ठाउँमा आइपुगे । यसो भित्तामा कान थापेर सुन्दा पर्खालको पारिपट्टि उनीहरुले पानी कुल्कुलाएको र चराचुरुङ्गी कराएको सुने । यसो मास्तिर हेर्दा पर्खाल पारिपट्टि फलहरु फलेका अग्ला अग्ला रुखहरु पनि देखिए । ती दुई व्याकुल यात्रीहरुमध्ये एकजना आत्तिएर पर्खाल चढ्यो र अर्कापट्टि हाम्फाल्यो । त्यो हरियालीभित्र ऊ गायब भयो । तर अर्को यात्री भनेँ फेरि मरुभूमितिरै फर्कियो । अरु बाटो बिराएका, हराएका यात्रुहरुलाई पर्खालपारिको सुरम्य भूमि देखाउन सकिएला भन्ने आशामा त्यो यात्री पुनः मरुभूमीतिरै लागेको थियो ।

लेखक लामिछाने पनि त्यही कथाको पछिल्लो यात्री जस्तै हुन् । उनले यात्रा त एक्लै गरे तर अरुलाई पनि अक्षर माध्यमबाट डुलाए । लेखकले कथामा वर्णीत मरुभूमिका अर्का पात्र जस्तै एक्लै स्वर्गतिर नलागी अरुलाई पनि साथसाथै लिएर हिँड्ने कोशिस गरेका छन् ।

देश देशावर

आफ्नो व्यवसायको सिलसिलामा होस् वा मनोरञ्जनकै हेतु होस् लामिछाने मनभरी आफ्नो देश बोकेर हिँड्दा रहेछन् । देश देशावर पुस्तक यस कुराको ज्वलन्त उदाहरण हो । जातीय विद्वेष बढ्दै गएर हिंसामा परिणत हुँदा १०० दिन भित्रमा दशलाख मानिसहरु मारिएको मुलुक रुवान्डा पुग्दा उनले आफ्नो मुलुक सम्झिए । नेपालभित्र जातीय विद्वेष पैmलिन सक्ने संकेतहरु सम्झेर झस्किए । तर अचम्मको कुरा दुई दशक अगाडिको हुतु र तुत्सी समुदायबीच भएको विध्वंशले रुवान्डालाई गतिलो पाठ पढाएछ । रुवान्डाले गाउँ गाउँमा समेत विकासका लागि चाहिने आधारभूत कुराहरु पु¥याएछ । ती कुराले लेखकलाई मात्र होइन, पाठकहरुलाई समेत अचम्मित पार्छ ।

देश देशावरका हरेक निबन्धहरुले लेखक पुगेका मुलुकका भूगोल, संस्कृति र इतिहासलाई संक्षिप्तमा उतारेको छ । अझ मुलुकहरु कसरी विकास र सुशासनका गतिमा अगाडि बढेका छन् र हामीले त्यसबाट के सिक्न सक्छौँ भन्ने कुराको सूक्ष्म चित्रण पनि देश देशावरको खास विशेषता हो । अर्को, दक्षिण अफ्रिकी राष्ट्र मोजाम्बिक भ्रमणका क्रममा भने लेखकले थोरै आश्चर्य बेहोरेछन् । त्यहाँको एयरपोर्टमा अनाहकमा घुस दिन बाध्य भएछन् । अफ्रिकी मुलुकहरुमा लगानी मैत्री वातावरणका कारण कसरी नाइजेरिया, अङ्गोला, केन्या, इथियोपिया, जाम्बिया, युगाण्डा, कङ्गो र क्यामरुन जस्ता देशहरुले कायापलट गरिरहेका रहेछन् भन्ने कुराको उदाहरण हाम्रा लागि पनि त्यत्तिकै मननीय छ । इदी अमिनका क्रुरताले भरिएका आङ्ग सिरिङ्ग पार्ने किस्सादेखि लिएर बर्मुडा ट्रयाङ्गल सम्मका यात्रा वृत्तान्तहरु रोमाञ्चक, ज्ञानवद्र्धक र पठनीय छन् ।

आफ्नो मुलुक र संस्कृति छातीमा बोकेर हिँडेका लेखकले साइप्रसको पाफोस शहरमा पुग्दा त्यहाँको अनौठो चलन देखेर आफ्नो मुलुक सम्झेका छन् । पाफोस शहरको एउटा रुखमा आपूmले मन पराएका मानिसको लुगा बाँधिदिए त्यो व्यक्ति मोहनी जालमा परी फर्किआउने कुरामा विश्वास गरिँदो रहेछ । त्यसैबेला, लेखक यता हाम्रो धरान विजयपुरको बुढासुब्बा मन्दिरको बाँस झ्याङ र त्यहाँ प्रेमीको नाममा बाँधिने धागा, ताना तिर्कुटा सम्झिन्छन् ।

श्रीलंकाको हात्ती अनाथालय भ्रमण गर्दा त्यहाँका हात्तीको गोबरबाट बनाइएको कागज देखेर उनी चितवनका हात्तीसार सम्झन्छन् । सामान्य दैनिकीमा टिपोट गरिएका कुराहरुलाई गहन अध्ययन गरेर त्यसमा भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्षहरुलाई जोडेर पाठकलाई एक सम्पूर्ण कथा दिनसक्ने लेखकको खूबी प्रशंसनीय छ ।

यसरी, देश देशावर पुस्तकका २० निबन्धमार्पmत् लेखकका आँखाले देखेको र मनले खाएको विषयवस्तु पाठकहरुसामू पनि रोचक तरिकाले प्रस्तुत गरेर लेखकले ठूलो गुन लगाएका छन् । उनका शब्दहरुले पाठकका मनमा कल्पनाको धुनी जगाउँछन् । यो नै लेखकको सफलताको एक कसी हो जस्तो लाग्छ मलाई । पुस्तकमा वर्णीत अर्को उल्लेखनीय पक्ष भनेको परदेशमा रहेर नेपालीहरुले गरेका प्रगति र उन्नतिका कथा हुन् । कसरी विभिन्न मुलुकमा छरिएर हाम्रा आफन्तजनहरुले तरक्की गरेका छन् भन्ने कुरालाई नव पुस्ताले प्रेरणाको श्रोतका रुपमा लिन सक्छ । नेपालीहरुले विदेशमा प्राप्त गरेका उपलब्धीहरु हामी सबैका लागि गौरवका विषय पनि हुन् ।

सरसर्ती संसार

जीवा लामिछानेको अघिल्लै पुस्तक रहेछ सरसर्ती संसार । यो पुस्तक पनि वर्णनात्मक शैलीमै लेखिएको छ । लेखक आपैmँले भनेका छन्, “मैले गन्तव्यस्थलको परिचयसँग निजात्मक अनुभूतिलाई एकाकार गर्ने प्रयत्न गरेको छु ।”

हो, त्यस्तै नै गरेर लेखकका आँखाले उल्काहरु, आश्चर्यहरुसँगै सम्भावनाहरु पनि उत्खनन् गरेका छन् । अरुको प्रयास र विकास नियालेर आफ्नो मुलुकका साधन र स्रोत कसरी सदुपयोग गरेर समृद्धितर्पm लम्किन सकिन्छ भन्ने लेखकको चासो सह्रानीय छ । उनन्तीसवटा निबन्धहरु संगृहित यस पुस्तकले एशियादेखि, अष्ट्रेलिया, अमेरिका, यूरोप र अफ्रिकासम्म भ्याएको छ । ससाना किस्साहरु जोडेर भूगोल र इतिहास समेतको जानकारी दिँदै लेखक पाठकहरुलाई पनि सँगसँगै डुलाउन सफल छन् ।

लेखकले आपूmले अनुभव गरेका र देखेका मनोरम दृष्यावलीलाई नेपालसँग तुलना गर्दा उनले देश बोकेरै यात्रा गरिरहे जस्तो लाग्छ । अघिल्लो पुस्तकमा भैmँ विभिन्न देशहरुका आर्थिक, सामाजिक र ऐतिहासिक पक्षसँगै त्यहाँ रहेका नेपालीहरुले गरेका तरक्कीका कथा घतलाग्दा छन् । लामिछानेका दुवै पुस्तकमा उल्लेखित अर्को सुन्दर पक्ष के छ भनेँ उनी प्रायशः आफ्ना परिवारकै साथमा हुन्छन् । परिवार र देशप्रेमको उच्च भावले उनलाई एउटा कर्तव्यपरायण लेखकका रुपमा देख्न सकिन्छ ।

लामिछानेले जस्तै धेरै अरुले देशाटन गरेका होलान् तर उनमा र अरुमा थोरै फरक के छ भने लामिछानेले अरुलाई पनि आपूmले देखेको र बुझेको संसार अक्षरका माध्यमबाट देखाउन सफल भएका छन् । यी दुवै पुस्तकहरुले लेखकका आँखाबाट देखेको संसार हेर्न, बुझ्न र सिक्न पक्कै पनि सघाउ पु¥याउछन् ।

 

Leave a Reply

Your email address will not be published.