ड़ा. सकुन्तला गुरागाईं (चापागाईं)
चिसो मौसममा धेरैजसो बालबालिका तथा बृद्धहरुलाई श्वासफेर्न गाह्रो भएको हामी पाउँदछौं । यदि हाम्रो छिमेक वा आफ्नै घरमा बृद्धहरु हुनुहुन्छ भने, बिहान ४– ५ बजे तिरै खोक्दै गरेको, घ्याँर– घ्याँर गरेको हामीले सुन्ने गरेका पनि छौ होला । चिसोले दमको रोग मात्रै हुने नभएर धेरै धुलोमैलोमा काम गर्ने, अत्यधिक धुमपान गर्ने, दाउरा, गूँइठाहरुको प्रयोग गर्ने व्यक्तिहरुलाई पनि दम भएको हामी पाउँदछौं ।
श्वास नली साँघुरिएर श्वास फेर्न गाह्रो हुने अवस्थालाई हामी दम रोग भन्ने गर्दछौं । यस रोगमा श्वास नाली मा कम्पन आउने, श्वास नलीभित्रको झिल्ली सुन्निने र बाक्लो खकार आउने हुन्छ । बाल्यकालमा धेरैपटक श्वासनलीको संग्क्रमण भएर बारम्बार निमोनिया भइरहने बालबालिकाहरुमा पनि पछि गएर दमको रोग देखा पर्न सक्दछ । कतिपय मानिस हरुलाई एलर्जीको कारणले पनि दमको रोग हुने गर्दछ । यस किसिमको asthma लाई हामी allergic asthma भन्ने गर्दछौं ।
विश्वमा नसर्ने रोगबाट हुने मृत्युमा दम पनि एउटा प्रमुख रोग हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०१९ मा २ करोड ६२ लाख मानिसहरुले यो रोगका कारण ज्यान गुमाएका छन् । त्यसैले यसलाई समयमै निदान गर्न उपचारतर्फ लाग्नु पर्दछ ।
दम बढाउने कारण ः
रुघाखोकी लागिरहने व्यक्तिहरुलाई पछि गएर दम हुन सक्छ । धँुवा तथा धुलोमा काम गर्ने व्यक्तिलाई ,चिसो मौसम, चिसो मौसममा लामो समयसम्म काम गरिरहने, कतिपय औषधिहरुः–मुटु रोगमा प्रयोग हुने औषधिहरु, दुखाई कम गर्ने औषधिहरुको जथाभावी प्रयोग, एलर्जी गराउने खानेकुराहरु इत्यादि दम बढाउने कारक तत्वहरु हुन् ।
दम गराउने एउटा कारण नभएर थुप्रै कारणहरु हुन्छन् । यदि परिवारमा कसैलाई दम रोग लागेमा आफ्ना सन्तानहरुलाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ । बारम्बार श्वास नलीको संक्रमण भइरहेमा पछि गएर दमरोग लाग्न सक्दछ । उमेर नपुगी जन्मेका बालबालिकाहरु, जन्मदै काम तौल भएका बालबालिकाहरु, बारम्बार फोक्सोको संक्रमण भइरहने बालबालिकाहरुमा पनि छिट्टै दम रोग लागेको हामी पाउदछौं । शहरी जीवनशैलीका कारण बालबालिकाहरुमा मोटोपन एउटा प्रमुख समस्या भएको छ । साथै एलर्जी गराउने विभिन्न तत्वहरुका कारण पनि धेरै मानिसलाई दमले सताईरहेको छ । जो मानिस निरन्तर विभिन्न केमिकल, धुलोधुँवामा काम गर्दछन् ती मानिसलाई पनि दम हुने सम्भावना बढी हुन्छ ।
लक्षण तथा चिन्हहरु ः
दम रोगलाई हामी सजिलैसंग चिन्न सक्दछौं । यदि कुनै मानिसलाई अलिकति शारीरिक परिश्रम गर्दा श्वास फेर्न गाह्रो भएमा, छिटो छिटो श्वास फेरेमा, छात्ती भारी भएमा, राति एकोहोरो खोकी लागिरहेमा, फिँज मिसिएको कफ बारम्बार आएमा, श्वास फेर्दा स्वाँ– स्वाँ आवाज आएमा हामी दम रोग लागेछ कि भनेर चिन्न सक्दछौं ।
बचाऊ तथा उपचार
हामीले माथि दम रोग र यसको कारण, लक्षण तथा चिन्हहरुका बारेमा चर्चा गर्यौं । रोगबाट बच्नु वा भनौ दम रोग के कारणले भएको छ ? त्यसको सहि कारण पत्तालगाएर त्यसबाट बच्नु नै यसको प्रमुख उपचार हो । कतिपय अवस्थामा दम रोग अकस्मात रुपमा देखा नपरेर बिस्तारै देखापर्ने गर्दछ । यदि हामीले बेलैमा छात्तीमा हुने संक्रमण वा निमोनियालाई उपचार गर्न ध्यान दिएनांै भने, बेलैमा हामीले यो रोगलाई निमंत्रणा गर्न सकेनौ भने यो रोग बढेर जाने गर्दछ । यदि कोही मानिस लगातार लामो समय कुनै रसायनको सम्पर्कमा, धुलो मैलोमा काम गर्दछ भने त्यसबाट बच्नु पर्यो या मास्क लगाएर काम गर्ने वा कम जोखिमयुक्त स्थानमा सर्ने आदि काम गरेमा यो रोगबाट बच्न सक्दछौं । जाडो मौसममा न्यानो भएर बस्ने, तातो तातो खानेकुराहरु खानु पर्दछ । आफ्नो वरपरको वातावरण स्वस्छ र सफा राख्नु पर्दछ । होमियोप्याथिमा दम रोगका राम्रा राम्रा औषधिहरु छन् । होमियोप्याथिक औषधिहरु खानमा एकदम सरल र एकदमै प्रभावकारी हुन्छन् । हाम्रो शरीरलाई कुनै दुस्प्रभाव नगर्ने खालका हुन्छन् । यसरी सहि औषधिको प्रयोग गर्नुका साथै सहि जीवनशैलीले यो रोगलाई हामी समयमै नियन्त्रण गर्न सक्दछौं ।
(लेखक कंचनजंघा होमियो क्लिनिक दमककी होमियो फिजिसियन चिकित्सक हुनुहुन्छ )