न यता न उता
यो के को राजनीति कि लाजनीति ?
सबैतिर बोल्नेहरुको भीड छ
सोझासिधाहरु मौन छन
यहाँ हिजोका ठगी खान पल्केकाहरु
सामाजिक संजाल रङग्याउदैछन
एकले अर्कोलाई सराप्दैछन
नसरापुन पनि किन ?
मागिखाने, ठगिखाने भाडै रित्तियो
अहिले न यता न उता
उता न यता भएका छन
टेक्ने लौरीनै भाचिदिए पछि
बहुलाउनु शिवाय के नै पो रहयो र ?
न बोली कसैले सुन्छ
न कसैले उत्तर दिन्छ हिजोआज
किन लुकीलुकी भुक्दैछौ ?
तिम्रो कालो कर्तुतको पाप पखाल
बचेखुचेको साख जोगाउ
हातमा हात मिलाउ
गल्ती एकपटक होइन
बारम्बार गर्यौ, त्यो थाहा छ ?
के गरेनौ ?
राजा ल्यायौ
पटकपटक संसद बिघटन गर्यौ
फेरि पुनः स्थापना गर्यौ
अहिले ब्यूताउन जनता उराल्दैछौ किन ?
लाज लजाएन
अलिकति समय देउ, सकारात्मक सोच राख
जनता ढुङ्गे युगका होइनन भन्ने सोच
दिमागलाई एकीकृत गरेर राख
हिजो मैले के – के गरे ?
के – के गर्न बाकी रहयो ?
सोचेर कदम चाल
तर
बढी बोल्दै नबोल
यसैमा तिम्रो जीत हुनेछ
सबैको हाइहाइ हुने काम गर
आफ्नो राजनीतिको बिरासत उचो बनाउ
आउ अब जनतासङ्ग मिलेर
सहकार्य गर
दुनियाँ नहसाउ
राजनीति कि लाजनीति ?
के हो , अबको बाटो
फागुन २१ आउँदैछ नि
गाउँ र सहर जाने वातावरण
कसरी गर्ने भन्नेतर्फ एकजुट भएर बहस गर
आउ मिलाउ
तिम्रा हातहरु
आउ सुनाउ
तिम्रा सत्य स्वरहरु ………………..?
हो, वास्तवमा सही सत्य यथार्थ यो हो कि नेपाली राजनीतिमा यतिबेला गम्भीर प्रश्नहरु तेर्सिएका छन । यहाँ लोभीपापी, हुलहुज्जत गर्नेहरूको भीड बाक्लो छ । शान्तिको आभाष कोहिकसैले गर्न सकेका छैनन । हिजोकै थीति वरिपरि नेपाली राजनीतिको गोलचक्र घुमिरहेको छ । यहाँ दर्शनका ठेलीहरु पढेर देशमा नौलो क्रान्ति ल्याउछु भनेर कसैले नचिताएनी हुन्छ, अब । उनीहरूको दर्शन, वादका कुरा सबै एकादेशको कथा हुन पुगेका छन । यो अवस्था सिर्जना गर्ने तिनै बयोबृद्द नेता हुन जसले नेपाली राजनीतिलाई पटकपटक प्रत्याक्रमण गर्यो, राजनीति हत्या गर्यो । यतिसम्म गरेर देश दोहन गर्नेका अघिपछि संजीवनी बुटी सुघेर हिडिरहेका छन, पिछ्लग्गु कार्यकर्ताहरु । वास्तवमा हाम्रा नेताहरूले यतिसम्म गर्दा पनि उनैको पछि कुद्नु कति लज्जाजनक कुरा हो । अब त लज्जित हुनुपर्ने हो हामी जनताहरु । कतिन्जेल हामी दास हुनुपर्ने हो हामी, जनता । हामीले राजनीतिको पुरानो विरासत भोगेकै हो देखेकै हो, यतिसम्म जान्दा र गाम्भीर्यता बुझ्दा सम्म हाम्रो चेत खुलेन । यो स्तम्भकारले यो लेखिरहदासम्म अनेकन आरोप आउला तर मेरो स्वतन्त्र कलमले यथार्थताको चित्रण गरेको छ ।
जनतालाई सचेत गराएको छ । यसैको पुष्टि गत भाद्र २३ र २४ गते भएको जेन – जीको आन्दोलन पछिको बिद्रोह पश्चात् देखिएको परिणामले नेपाली राजनीतिमा जनआक्रोश बढ्दो छ । हुन सक्ला आन्दोलन गर्दा कतैकतै छिटफुट घटना घटे भने कतै एकदमै डरलाग्दा घटना घट्न पुग्यो । यो घटनाले नेपाली राजनीतिमा कालो धब्बै लगाए अप्रिय घटना घटाउनेहरुले । जेन – जीको नाममा आपराधिक घटना घटाउने ब्यक्तिहरुले गरेको कुकर्म राम्रो थिएन, उनीहरूलाई बर्तमान सरकारले सत्य – तथ्य बुझेर दण्डित गर्न सक्नुपर्छ । साचो अर्थमा भन्नुपर्दा हिजो जुन घटना घटे यी आक्रोश भनेकै हिजोका राज्य सत्ताका संचालकहरुले गरेको भ्रष्टाचार, बेमेलता, टुटफुट लगायतका विभिन्न काण्डै – काण्डहरुको फेहरिस्त कर्मले गर्दा देशले यो दुर्गति भोग्नुपर्यो । उनीहरूले हिजो जसलाई रेलिङ्ग भत्काउन, आगजनी, टोडफोड, हडताल गर्न सिकाए तिनै युवाहरु आज भस्मासुर बन्न पुगे त्यो आन्दोलन कसैले रोक्न सक्ने सम्झाउन सक्ने ल्याकत कसैको थिएन र यो घटना घटयो, जुन घटना देशको निम्ति अभिशाप थियो । देशको सबै क्षेत्रमा कालो बादल मडारियो, विध्वंस मच्चाए बापत देशको अर्थतन्त्र नाजुक रहयो । बिकास निर्माण थप्प रहे । मानव अधिकार, वाकस्वतन्त्रता लिलाम भयो । बोल्न, लेख्न, हिड्न पाउने अधिकार हनन भने अहिलेपनि भएको छैन तर जुन हिसाबमा नेपाली राजनीतिको ट्र्याक अघि बढ्नुपर्ने हो त्यो भने आभाष जनताहरुले महसुस गर्न सकेकै छैनन । जनता आज भीरको चिचिण्डो बनेका छन, गाँस, बास र कपासको अभाव छ, महङ्गीले आकाश ढाकिसक्यो । यहाँ डनवाद र धनवादहरुको बाहुल्यता छ । तपाईं हामी जुन दलको गुण गाउँ, भजन गाउँ, आफ्नो पार्टीको गीत गाउँ, यहाँ मिलिभगतमा भुटि खाउ र लुटि खाउहरुको मेलमिलाप छ, उनीहरू जुनसुकै दलका भएपनि एकजुट हुन्छ्न भागबण्डामा । हो, आज यस्तै– यस्तै भाको छ नयाँ नेपाल, हाम्रो नेपालमा ।
हिजोमात्र जेन – जीहरुको आन्दोलन र बिद्रोहले ल्याएको नयाँ योजनाअनुसार बनेको बर्तमान सरकारले हिजो गरेको राजनीतिक प्रतिवद्द्ता आज भने पूरा गर्न सकेन मानौ कि जनताको चाहाना अनुसार काम गर्न सकेन । अहिले जतासुकै, जहाँसुकै बिरोधै – बिरोध मात्र उत्पन्न भएको छ । कामगर्ने सवालमा एकदुई वटा मन्त्रालय सम्हालेका मन्त्रीहरुले यसो हेर्दा जनप्रभावी काम गरेको देखिन्छ तर धेरै मन्त्रालयका मन्त्रीहरुले जनताको मन जित्न सकेनन । हामी स्वतन्त्र नागरिकले छातीमा हात राखेर भन्नैपर्दा हिजो हाम्रा नेताहरूले जुनजुन नगर्ने काम गरेका थिए नि त्यसैको दोब्बर कामको खाका यो सरकारले चलाउनु पथ्र्यो । यो सरकार मन्त्री नियुक्ति गर्नै काममै मात्र लाग्दा र आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन हुनु अगावै बिकासका कामहरु तीव्र गतिमा अगाडि बढ्नुपथ्र्यो, दुःखद कुरा त्यो भने हुनै सकेन । अहिले सरकार अलमलमा छ । टिकटके, युटुबरे, पीत पत्रकार , अनलाइन खबर सबै कुनै न कुनै दलहरुको बुइ चढेर राजनीति उतारचढावका भिडियो पोष्ट गर्दै सामाजिक संजाल रङ्गाइरहेका छन । यतिसम्म रङ्गाउदैछन कि भिडियो खबर पत्याउन लायकका कुनैपनि देखिन्न । देशमा अनेक क्षेत्रमा बेथिति र बिकृति बढ्दो छ, यसलाई रोक्न सक्ने अवस्था भने देखिन्न । आगामी राजनीतिक मोड कहाँ पुगेर टुङ्गिने हो । अब सबै दोष सबैभन्दा ठूला दलहरुले लिनुपर्छ किनकि देशमा यो अवस्था ल्याउने भनेकै हिजोका दिनमा मिलिजुली सरकार गठन गरेर देश दोहन गर्ने सबैभन्दा ठूला दलहरु हुन । यहाँ यो काम भएन त्यो काम भएन भनेर दोषबाट उम्किन ठूला दलहरुले बर्तमान सरकारलाई औलो ठडयाउन मिल्दैन बरु हिजो गल्ती गरेका कर्मलाई प्रायस्चित गरेर चुनावमा आउन ढिला गर्नुहुन्न । अबको नेपाली राजनीति लाजनीतिमा परिणत नहोस । देशले अशान्ति होइन शान्ति चाहेको छ । शान्ति, सहकाय, एकता र मेलमिलापका निम्ति तपाईं हामी सबै गोलबद्द बनौ ।