देश–समाज राजनीति समाचार स्थानीय

वार्ताका लागि नो केवलकार पक्षधरका चार सर्त, निषेधाज्ञा हट्यो

फुङलिङ/ ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका आन्दोलनरत पक्षले चार सर्त अघि सारेका छन् । गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले चार सर्त अघि सारेको हो ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा दिगो शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि संघर्षरत पक्षबाट वार्ताको वातावरण तयार गर्र्न चार सर्त अघि सारेको जानकारी गराएको छ । सर्तहरुमा मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार गर्नुपर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायत स्थानबाट पक्राउ गरिएकाहरूलाई निसर्त रिहाई गरि ताप्लेजुङको निषेध आज्ञा हटाउनुपर्ने अघि सारिएको छ ।
यस्तै, केबुलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नुपर्ने, पाथिभरा मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् । गृह मन्त्रालयले यस अघि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो । उनीहरुले अगाडि सारेका सर्त बमोजिम गएराती १२ बजेदेखि नै फागुन ११ गतेदेखि लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।
ताप्लेजुङको फुङलिङ बजारलगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हट्ने भएको छ । यही फागुन ११ गतेदेखि ताप्लेजुङमा निषेधाज्ञा लगाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मंगलबार साँझ निकालेको सूचना अनुसार राति ११ बजेदेखि निषेधाज्ञा अन्त्य हुने भएको हो ।
केबुलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गते गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो । सोही वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले मंगलवार पुनः आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन आग्रह गरेका थिए । तर नो केवलकार पक्षधर (आन्दोलनरत पक्ष)ले सर्त अगाडि सारेर सर्त पुरा भए मात्र वार्ता गर्ने अडान राखेका छन् ।
उनले सोमबार जारी सूचनामा भनिएको छ, “निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।”
नो केबुलकार’ समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा ‘नो केबुलकार’ समूह र प्रहरीबिच झडप भएको थियो । उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने, झडपलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रु ग्यास समेत प्रहार गरेका थिए । काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समुह शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए । शनिबार साँझ पनि नो केबुलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरीसहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये एक जना प्रहरी र तीन जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । यस्तै, आन्दोलनको क्रममा आपराधिक उपद्रव र हुलदङ्गा गरेको भन्दै १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Author

You may also like