देश–समाज

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न सकिँदैन् : सांसद देवेन्द्र पौडेल

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न नसकिने स्पष्ट पार्नु भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।

सांसद पौडेलले नेकपाको केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनमा काठमाडौँमा हिजो सम्पन्न भएको सी चिनफिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्नका लागि कार्यक्रम गरिएको स्पष्ट पार्नुभयो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले विचारधारात्मक छलफलको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको टिप्पणी गर्नुभयो । नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर हौवा र संकेत गर्नु नै गलत भएको उहाँको भनाई छ ।

प्रेस स्वतन्त्रता, बालिक मताधिकार, शक्ति पृथकीकरणको सिद्धान्तलगायतका विषय आफूहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले नदिएको उहाँको भनाई छ ।

सांसद पौडेलले कांग्रेसका नेताहरुलाई वेष्ट मिनिस्टरियल प्रणाली अध्ययन गर्न पनि आग्रह गर्नुभयो । उहाँले रेडिमेड सिद्धान्तमा राखेर केही पनि कुरा बुझ्न नहुने धारणा राख्नुभयो र कांग्रेस नेता नारायणप्रसाद साउदले नेकपाले माफी माग्नुपर्छ भन्ने शब्द ‘प्रोभोक’ गर्ने कुरा भएको टिप्पणी गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको हुन लागेको नेपाल भ्रमण कतै नहोस भन्ने चाहेर हालै काठमाडौंमा भएको विचारधारात्मक छलफलको विरोध भएको त होईन भन्नेपनि उहाँले प्रश्न उठाउनुभयो ।

सांसद पौडेलले आफूहरु कुनै एक देशको पक्ष राष्ट्र हुन नचाहेको सुनाउनुभयो । भारत र चीनसँग नयाँ आयाममा समबन्ध कायम राख्न चाहेको पनि उहाँले स्पष्ट पार्नुभयो । चीनको राष्ट्रपतिको दुई दशकदेखि नेपाल भ्रमण नभएको भन्दै भ्रमणको सम्मुखमा अनावश्यक टिकाटिप्पणी गर्न नहुने उहाँको धारणा छ ।

सांसद पौडेलले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोनजामा भएको छलफल निकै उपयोगी र फलदायी भएको बताउनुभयो ।

Author

You may also like