Banner समाचार स्थानीय

उर्लाबारी ८ नम्बर वडा कार्यालय आफ्नै भवनमा

उर्लाबारी, २ कार्तिक-
उर्लाबारी नगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल र उप-प्रमुख मीना खतिवडा पौडेलले संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन् । स्थानीय १८ जना दाताले १० कट्ठा जग्गा उपलब्ध गराएपछि ८ नम्बर वडाको जरुवापानीमा भवन निर्माण भएको हो ।
यसअघिको दुर्गापुरीस्थित साविकको वडा कार्यालयबाट पञ्चेबाजा झाँकी अघि लगाएर ८ नम्बर वडाका जनप्रतिनिधिहरु नयाँ कार्यालय भवनमा सरेका हुन् । पूजा अर्चनासहित शुभसाइत गरी वडाध्यक्ष कुलबहादुर कार्कीले नवनिर्मित भवनमा पदभार ग्रहण गरे । कार्यक्रममा जग्गादातालाई सम्मान समेत गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले उर्लाबारीको समग्र विकासमा आफूहरुको ध्यान केन्द्रीत रहेको बताउदै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएर अघि बढेको जनाए । उपप्रमुख पौडेलले वडा कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता हुने बताइन ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, वडा नम्बर ६, ७ र ९ का वडाध्यक्षहरु क्रमशः चिन्तामणि पौडेल, उर्मिला थापा र नरबहादुर मोक्तान, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

You may also like