दमक, २ कार्तिक-
दमकको प्रथम नागरिकको रुपमा सम्मानित भएपछि धिमाल समुदायमा खुसी छाएको ६ बर्ष भएको छ । यो छैटौं बर्षको अवसरमा उनीहरुले द्विप प्रज्वलन गरेर स्थापना दिवश मनाउँदै आफुहरु भूमिपुत्रको सम्मान भएकोप्रति खुसी पोखे ।
दमकमा सर्वप्रथम बसोबास गर्ने प्रथम नागरिक घोषणा भएलगत्तै बनेको ‘प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति’को छैठौं स्थापना दिवस मनाउँदै अन्तरक्रिया समेत गरे । अनि उनीहरुले भूमिपुत्र भएपनि आर्थिक र चेतनास्तरमा पछि परेको धिमाल समूदायको समग्र उन्नतीका लागि नगरपालिकासँगको सहकार्यमा अझ प्रभावकारी कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए । समिति दमकका अध्यक्ष तेजबहादुर धिमालले समग्ररुपमा धिमाल समुदायको उत्थानको आवश्यकतामाथि चर्चा गर्दै नगरपालिकाको दर्विलो सहकार्यको अपेक्षा गरे । दमक नगर परिसरभित्र नगरले निर्माण गरेको प्रथम नागरिकको पहेंलो रंगमा रंगिएको प्रतिमाको मुनी बसेर उनीहरुले आफ्ना खुसी साट्दै थप खुसीको अपेक्षा गरेका थिए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमकको निर्माण गर्ने धिमाल समुदायको जीवनस्तर उकास्न नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै गरेको बताए । दमकको प्रथम नागरिक भएर पनि धिमाल समुदाय पछि पर्नु बिडम्बनाको बिषय भएको भन्दै उनले यस अघिका नेतृत्वले धिमाल समुदायलाई चुनावका बेला उपयोग मात्रै गरेकाले यस्तो भएको उल्लेख गरे । उनले आफ्नो कार्यकालमा प्रभावकारी कार्यक्रममाझ धिमाल समुदायको उन्नतीमा सघाउने बताए ।
कार्यक्रममा प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति दमकका सल्लाहकार समितिका संयोजक रामबहादुर धिमाले आजको दिन आफुहरुका लागि गौरवको दिन भएको बताए । उनले सामुदायिक एकताले नै सफलतामा पुर्याउने विश्वास दोहोर्याए । औपचारिक अन्तरक्रिया कार्यक्रमपछि सामूहिक रुपमा दिप प्रज्जवलन गरि स्थापना दिवस मनाईएको समितिका सचिव रत्न धिमालले जनाए ।