Banner राजनीति

कार्कीले पाए अत्याधिक मतले ‘विश्वासको मत’

विराटनगर, २ कार्तिक

नेकपा एमालेको मुख्य सहयोगमा नेपाली कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कोशी प्रदेशका केदार कार्कीले बुधबार अत्याधिक मतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।

असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मुख्यमन्त्री भएको पाँचौं दिनमा विश्वासको मत लिने योजनाकासाथ प्रदेशसभा डाकेका थिए । प्रदेशसभा बैठकसँगै उनले विश्वासको मत लिने प्रक्रिया थालेपछि प्रदेश सभामा उपस्थित ९१ सांसदमध्ये कार्कीको पक्षमा ८६ र विपक्षमा मत ५ खसेको हो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप समय निकै रहेपनि राजनीतिक दाउपेचले मत धरमर हुन समेत सक्ने कुरालाई मध्यनजर गर्दै सुरुमै मत लिएर ढुक्क हुने योजनामा उनी सफल भए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सहित ४७ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री भएका उनलाई कांग्रेसले संस्थागत निणर्य गरेर विश्वासको मत दिएको छ । काँग्रेस सहित एमाले, माओवादी केन्द्र, नेकपा एस र जसपाले विश्वासको मत दिएका छन् । राप्रपाले भने विपक्षमा मतदान गरेको छ ।

यसअघि कांग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सभाध्यक्षको मतलाई दुरुपयोग गरेपछि सर्वोच्च अदालतले बरखास्त गरेको थियो । उपधारा २ अनुसार दुई पटक मुख्यमन्त्री भएका थापाले दुवै पटक सभामुख/सभाध्यक्षको मतको दुरुपयोग गरेको अदालतको ठहर छ ।

अन्तिम पटक अदालतले थापालाई पदमुक्त गरी एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले राजिनामा दिएपछि उपधारा ५ अनुसार केदार कार्की मुख्यमन्त्री चयन भएका थिए ।

You may also like