Banner विचार/वहस

अरु घोडा चढे भनेर धुरी चढ्न खोज्दा

सुजन आचार्य

‘ल बधाइ छ, अव पार्टी खानुपर्छ ।’ एकाबिहानै कृष्ण सरको आवाजले म झस्किएँ । त्यति भनेर वहाँ बाहिर निस्किहाल्नुभयो । एसएलसी सकिएपछि बिहान ८ बजेभन्दा अगाडि निन्द्राले छाड्न छोडेको थियो । भर्खर ७ बजेको थियो तर एकाबिहानैको बधाइले बाँकी निन्द्रा पूरा गर्न दिएन । हत्तार हत्तार उठेर आँखा मिच्दै किचनमा पुग्दा कृष्ण सर चिया पिउँदै हुनुहुदो रहेछ । ड्याडी मम्मीको एकाबिहानैको अस्वभाविक प्रशन्नताले झन् खुल्दुली बढायो । ‘ल बधाइ छ छोरा’ ड्याडी मम्मीको एकसाथ आएको बधाइले म झस्किएँ । थहा न पत्तोको बधाइमाथि बधाइको चाङ लाग्दा म अक्क न बक्क भएछु क्यारे, मेरो द्विविधा दूर गराउँदै कृष्ण सर बोल्नुभयो, ‘एसएलसीको रिजल्ट आयो, तँ प्रथम श्रेणीमा उत्रीणर् भइस् अव पार्टी त खानुपर्यो ।’ यति सुन्नासाथ म खुसीले फुरुङ्ग भएँ । अरु साथीहरुको के भएछ भन्ने मेरो प्रश्न सकिन नपाउँदै कृष्ण सरको उत्तर थियो, ‘जम्मा सेन्टरबाटै एक जनाको फष्र्ट डिभिजन ।’ हाम्रो विद्यालय चार वटा विद्यालयको परीक्षा केन्द्र थियो, यत्रो विद्यार्थीहरुमा म एक जनाको मात्र प्रथमश्रेणी आउँदा मेरो कुन्ताको लामो नाक बढेर झन लामो भएको थियो । पास हुन्छु भन्ने त थियो नै तर हाम्रो समयमा एक ग्रामिण स्कूलबाट प्रथमश्रेणीले ठूलै महत्व राख्थ्यो । परीक्षा आउनै लाग्दा प्रदिप सरले भनेको सम्झें, ‘यसपाली एक जनाले स गरे भने मेरो ।’ सरको घर अगाडि गएर बुरुकबुरुक उफ्रन मन लागेको थियो । तर त्यसो गरिन । हुनपनि पढाइ खासै गतिलो चलिरहेको थिएन, सेन्टअप परीक्षामा गणितमा झन्नै फेल भएको थिएँ । सायद मलाइ जस्तै मैले प्रथमश्रेणी ल्याएकोमा सरहरुलाई पनि विश्वास थिएन ।
नपाउनेले केरा पायो बोक्रैसंग खायो भनेझैं भएको थिएँ म । खुसीको सिमानै थिएन । गाउँको एउटा क्लबले त कार्यक्रम आयोजना गरेर सम्मान नै गर्यो । युद्द जितेर आएको सिपाइँझै सम्मानपाएको थिएँ मैले । खासै गतिलो प्रतिफल त थिएन । बल्लतल्ल घुँडा टेकेर फष्र्ट डिभिजन पुगेको थियो तर परीक्षा केन्द्रबाटै एक जनामात्र भएकाले चाहिनेभन्दा बढी कन्सर्न पाएको थिएँ ।
एसएलसी पास गरेको खुसीसंगै आगामी बाटो तय गर्नुपर्ने समय पनि आएको थियो । घरदेखि बजारसम्मको बाटो पनि कहिल्यै एक्लै नहिँडेको मलाइ भविश्यको बाटो थाहा हुने कुरै भएन । मलाइ न अव के पढ्ने थाहा थियो, न त पढ्नलाई के के बिकल्प हुन्छन् भन्ने नै थाहा थियो । खानाखाँदै गर्दा एक दिन ड्याडीले भन्नुभयो, ‘अव इज्जतकालागि भएपनि साइन्स पढ्नुपर्छ ।’ गाउँमा अलिक जान्ने विद्यार्थीले साइन्स पढ्नुपर्छ भन्ने एक प्रकारको मान्यता जस्तो नै थियो र त्यसैको निरन्तरता थियो ड्याडीको निणर्य । हुनपनि म फस्ट डिभिजन ल्याएको मान्छेले जुनतुन विषय पढ्ने कुरै थिएन । निर्विकल्प साइन्स पढ्ने निणर्य गरियो । गाउँमा फलानोको छोरी/छोरा साइन्स पढ्छ रे भन्दा भिन्नै इज्जत हुने गरेको मैले देखेको थिएँ । साइन्स केका लागि पढ्ने भन्ने न अरु कुनै प्रश्न थियो, उत्तर हुने त कुरै थिएन । मिसन साइन्स शुरु भयो । कहाँ पढ्ने, कहाँ बस्ने, कोसंग बस्ने, खर्च के कति लाग्छ आदि इत्यादि । त्यही बेला मम्मीको मुखवाट एउटा नाम निस्केको थियो, डा. के आर खम्बु, साइन्स प्रोफेसर मेची बहुमुखी क्याम्पस भद्रपुर । वहाँ मित हजुरबुवा पर्नुहुन्थ्यो । अन्ततः मेची क्याम्पस पढ्ने निधो भयो, वहाँकै रेखदेखमा वहाँकै घर नजिक एउटा सानो कोठामा भाडा बसेर । आफैँ पकाउने, आफैँ भाँडा माझ्ने अनि एक्लै बस्ने कुरा मेरो लागि त्यति सहज थिएन । भर्खर १५ बर्ष टेक्दै गरेको, कहिल्यै काहीँकतै एक्लै नहिँडेको गाउँले केटो एकैचोटी शहर बस्ने निणर्य लिनु सजिलो नभएपनि मसंग अर्को विकल्प थिएन र मेरो बसाइको ब्यवस्थापन भइसकेको थियो ।
मलाइ आफ्नो वास्तविक औकात थाहा पाउन साइन्स कक्षा शुरु गरेको एक हप्ता पनि लागेन । मैले प्राप्त गरेको प्रथमश्रेणी के देशको के तन्नेरी भन्ने उखानजस्तो मात्र रहेछ । हावा भरेर छाडिएको गुब्बाराझैँ भएको थिएँ म कहाँ र कतिबेला फुट्छ पत्तै नहुने । पढ्न शुरु गरेको एक महिना नपुग्दै श्याललाइ दशा लागेर शहर पसेझैँ भएको थियो मलाइ । यस्तो धर्मसंकटको अवस्थमा पुगेको थिएँ, कि म जे पढ्दै थिएँ त्यो मेरो क्षमता र रुचिअनुसारको रहेनछ भन्नेमा म स्पष्ट भइसकेको थिएँ भने अर्कातिर न परिवारको म प्रतिको अपेक्षालाइ लतारेर ‘म सक्दिन’ भन्ने सामथ्र्य नै ममा थियो । मैले त्यो समय एकदमै निरिह महशुस गरेको थिएँ । मेरो वास्तविकता र म प्रतिको परिवारको चाहनाको बीचमा चेपिएको थिएँ म । मलाइ पढ्नु त थियो नै, तर मेरो पढाइमा पूणर्बिराम लाग्ने निश्चित जस्तो नै थियो । हरेक दिन क्याम्पस केका लागि जाँदै थिएँ, के सिक्दै थिएँ, केका लागि सिक्दै थिएँ केही थहा थिएन मलाइ । मलाइ पढाइ बाँदरको पुच्छर लौरो न हतियार भनेझैँ भएको थियो केही काम नलाग्ने । निर्विकल्प छानेको विकल्पले विकल्पबिहीनताको अवस्थामा पुर्याएको थियो । जीवन पूणर् रुपमा निराशा नै निराशाले जेलिएको थियो । जिन्दगीको एउटा कालो क्षण थियो, त्यो जतिबेला लाग्थ्यो बत्ती निभेको छ र टाढाटाढासम्म पनिकतै संभावनाको झिल्को पनि देखिएको छैन । अंध्यारोपछि उज्यालो लिएर आउने क्षितिज पनि अंध्यारै लिएर आएजस्तो लागेथ्यो त्यो समय । एनालग घडीको काँटा तानेर समयलाइ कसैले टक्क रोकिदिएझैं थियो । यस्तो लाग्थ्यो कि अव समय नै चल्ने छैन । अकर्मण्यताको जन्जिरले पूणर् रुपमा बाँधिएको थिएँ म । निर्उदेश्य यात्राको छोटो समयमै गन्तब्यमा पुगेको थिएँ म, जुन नचाहेर आएको थियो ।
तर हरेक गन्तब्यहरु नयाँयात्राको शुरुवात पनि हुँदा रहेछन् । समस्यालाइ चिन्न सक्योभनें हरेक समस्याहरु समाधान पनि संगै आउने रहेछन् । चुनौती र संभावनाहरुबीचको प्रश्नोत्तरमा, आशा र निराशाबीचको विश्लेषणमा, विकल्प र विकल्पबिहीनताको रस्साकस्सीमा, सकारात्मकता र नकारात्मकताको संश्लेषणमा, मन र मष्तिष्कको मन्थनमा एउटा चेतनशील प्राणीको चेतनाले मार्गनिर्देश गर्दो रहेछ । विवेकले बाटो अवश्य खोज्ने रहेछ । जसलाइ अवसर प्रदान गर्न हाम्रो सानो प्रयास भने अवश्य हुनुपर्दछ । मोटो पूणर्बिराम लागिसकेको अध्ययनको पाटोलाइ अव चेतनमनले दिएको मार्गदर्शनले नयाँमोड दियो नयाँ तरिकाले ।
मैले पाएको असफलताबाटै पाठ सिकेर अध्ययनको नयाँयात्रा तय गर्न सकें । तर म जस्तै धेरै विद्यार्थीहरुले आफूमा भएको अथाह संभावनालाइ पहिचान गर्न नसक्नाले, उपयुक्त विकल्पको छनोट गर्न नसक्नाले र गल्तीबाट सिक्न नसक्नाले आफूलाइ असक्षम सोचेर अध्ययन नै टुंग्याउनुभएको छ । आज समय हिजोजस्तो छैन, विद्यार्थीहरुसंग हजार विकल्पहरु छन् । आफूलाइ चिनेर सही विकल्पको छनोट गर्न सकेमा यात्रा रोचक र सुखद हुनेछ । अरु घोडा चढे भनेर आफू धुरी चढ्न खोज्ने प्रबृतिले कुनै बिन्दुमा पुगेर निरासा नै निम्त्याउँछ ।
हरेक बाटोहरुले कुनै न कुनै गन्तव्यमा पुर्याउँछन् । हामी यात्रीले हिँड्न चाहेको बाटो र पुग्नचाहेको गन्तब्यबीच सामन्जस्यता कायम गर्न बिबेकको प्रयोग गर्नुपर्ने रहेछ । बाटोलाइ दोष दिएर आफ्नो हिड्न सक्ने क्षमताको अवमुल्यन नगर्ने हो भने सुखद गन्तब्य हामीलाइ पर्खिरहेको हुनेछ ।

You may also like