सुदीपराज पन्त-
जति दिन जानी नजानी संचार क्षेत्रमा लागं,े इमानपूर्वक लागें । धेरै सिक्ने, जान्ने, चिन्ने अवसरहरु पाए । त्यो भित्रको विसंगतीहरु नजिकबाट नियाल्ने मौका पनि पाए । कतिपय पत्रकारितामा लामो समय बिताएका ब्यक्तीहरुको जीवनका दुई पाटाहरु पनि पढ्न पाए । दमकमा रेडियो पाथिभरा र लसएन्जलसमा हिमालीपोष्टबाट मैले संचारकर्मीको रुपमा गरेको कामहरु र मैले खर्च गरेका मूल्यवान समयहरुले सार्थक परिणाम दियो दिएन त्यसको आफ्नै पाटाहरु होलान् । करीब १५ बर्षका केही समयहरु मैले त्यहाँ नलगाएको भए धेरै कुरा सिक्ने, बुझ्ने अनुभूति गर्ने अवसर चाँही पक्का गुमाउने थिएँ । अहिले यि सबै कुराहरुबाट आफुलाई टाढा राखेर सिमित साथीहरु र आत्मियहरुसँग रमाएको छु ।
जीवनमा थुप्रै बाटो फेर्दै आएँ । जुन बाटोबाट मेरो अन्तरात्मा सन्तुष्ट हुँदैन त्यो चटक्क छोडिदिन्छु । दिएको जिम्मेवारीबाट मेरो ब्यक्तिगत मनस्थिती खलबलिन्छ भने देखाउनको लागि टाँसिएर बस्न सक्दिन यो मेरो स्वाभाव हो अनी ठूलो कमजोरी पनि हो । खोई किन हो केही प्राप्तिहरुमा मेरो मन खुशी नै नहुने रहेछ अनि बेखुशी मन लिएर समाजको लागि या कसैको लागि केही गरौ भन्ने भावना पनि जाग्दैन । कहिले काँही सम्मान, खादा र प्रसंसाहरु पनि खल्लो र अर्थविहीन लाग्ने रहेछ । जहाँ रमाइलो हुन्न, जहाँ उज्यालो देख्दिन मेरो नजरले म आँफै टाढा टाढा हुन्छु । के पाएँ के गुमाएँ भन्दा पनि कति रमाए भन्ने कुरा नै मेरो लागि महत्वपूणर् हुन्छ । भोलि भन्दा पनि वर्तमानमा रमाउन चाहन्छु । भविश्य हेर्छु तर वर्तमानमा काँडे तारभित्र बसेर ठूला सपना कोर्दिन । थुप्रै मीठा मीठा सपनाहरुमा अल्झिन चाहन्न । थोरै सपना मात्र पुरा होस् जस्ले धेरै खुशी देओस ।
मैले हिड्ने बाटो गलत रोजें होला । मैले जीवन यात्रामा धेरै पल्ट गलत निणर्यहरु पनि गरे होला । मेरो कारणले कसैलाई घात भएको छैन । मेरो कारणले कसैको आँखामा आसुँ आएको छैन अनि मबाट कसैलाई शोषण भएको छैन यो चाँही निर्धक्क भन्न सक्छु । त्यसैले म थोरै घमण्डी देखिन्छु होला जुन स्वाभाविक हो ।
सिक्दै गएँ ,बुझ्दै गएँ तर जीवनको यो मोडमा यसो विगत फर्केर केलाएँ भन्ने यति चाँही भन्न सक्छु यो अनुहारमा बरु उज्यालो बढेको छ तर अनुहारको चमकमा कमी चाँही पक्कै आएको छैन, आउन दिने पनि छैन । अनुहारमा चमक र रौनक कायम राख्न सकौं, यही नै मेरो लागि गौरब हो, मेरो सम्पत्ती हो ।