मुख्य स्थानीय

विश्वभरका प्रणामी वार्षिक चाडमा

पंकज दाहाल

दमक/ यतिबेला विश्वभरिका प्रणामी धर्मावलम्बीहरुले सदाझैं वार्षिक चाड मनाइरहेका छन् । श्री कृष्ण जन्माष्टमीका दिनअघि एक महिनासम्म नेपाल लगायत विश्वभरका विभिन्न प्रणामी मन्दिरहरुका एकैसाथ विभिन्न धार्मिक कार्यक्रम र गतिविधिहरु गरेर यस्तो चाड मनाउने गरिएको छ । यसैक्रममा झापाको दमक–९ स्थित श्री कृष्ण प्रणामी मन्दिरमा भारतको पिताम्बर पीठधाम रांगशाली आसामका गाधीपति महामण्डलेश्वर श्री १०८ नारायण स्वामी जी महाराजले विगत एक महिनादेखि कथा वाचन गरिरहेका छन् । गत साउन २१ गतेदेखि सो मन्दिरमा दैनिक विहान साढे १० देखि पूजाआजा, मध्यान्ह १२ बजेदेखि दिउँसो अढाइ बजेसम्म श्रीकृष्ण कथा र साँझ ७ः३० देखि राति ९ः३० बजेसम्म भजन कीर्तन गरिँदै आएको छ । साउनलाई पवित्र महिना भनिन्छ । दमकको प्रणामी मन्दिरमा भोलि मंगलबार वितक कथा तथा श्री कृष्ण कथासहित पूर्णाहुती गरिँदैछ ।
धार्मिक तथा आध्यात्मिक चाड मनाउने क्रममा श्रीमद्वीतक कथा एवं श्रीमद्तारतम सागर वाणी चर्चा गर्ने गरिन्छ । यस्तै चर्चा महामण्डलेश्वर नारायण स्वामी जी महाराजले गरिरहेका छन् । साथमा धर्मनिष्ठ माता गंगा घिमिरेले उपवाचकका रुपमा कथा पाठ गर्दै आएको श्री कृष्ण प्रमाणी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सामाजिक व्यक्तित्व प्रेम भट्टराईले जानकारी गराए । विश्वभरिका प्रणामी धर्मावलम्बीहरुले यो समयावधिमा प्राणी मात्रको सुख, शान्ति र समृद्धिको कामना गर्दै स्थानीय प्रणामी मन्दिरमा भेला भएर महिना दिनभरि यस्तो चाड मनाउने गर्दछन् । यो चाड वि.सं. १७५१ देखि मनाउने परम्परा बसेको महामण्डलेश्वर स्वामीजीले प्रष्ट पारे ।


राधाकृष्णको उपासना गर्ने प्रणामीहरुले शुद्ध शाकाहारी भोजन गर्ने गर्दछन् । सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको जगेर्ना गर्न गर्नुनै यो चाड मनाउनुको मुख्य उद्देश्य रहेको पनि महामण्डलेश्वर स्वामीजीले बताए । ‘हामी ऋषिमुनीका सन्तान हौं । परम्परामा रचित धर्मनै हाम्रो प्राण हो  । आत्मज्ञानी हुनु र राष्ट्रको उन्नति चाहनुमा हाम्रो भलाई छ ।’ स्वामीजीले भने– यसक्रममा हामी महापुरुषहरुको प्रसाद वितरण गर्दछौं । बेलुकी पख श्रीमद् भागवत गीताको प्रवचन हुन्छ, भक्तजनहरुले पवित्र मनले त्यो श्रवण गर्नुहुन्छ । बिहान वीतक कथा प्रारम्भ हुन्छ, जसमा राधाकृष्णको चरित्रको वर्णन गरिन्छ ।’
श्री कृष्ण प्रणामी धर्मका संस्थापक सद्गुरु देवचन्द्रजी महाराज रहेका छन् । त्यस्तै यस धर्मका प्रवर्तक प्राणनाथजी छन् । सद्गुरु देवचन्द्रजीको जीवनीका बारेमा पनि भक्तजनहरुलाई सुनाइन्छ । प्रणामी धर्मका प्रवर्तक प्राणनाथजीले २० वर्षसम्म पैदल यात्रा गरेर संस्थापक सद्गुरु देवचन्द्रजी महाराजको ज्ञान र धर्मलाई विश्भरि प्रचार प्रसार गरे । ज्ञानोपदेश दिए । यो कथा पनि सविस्तार भक्तजनहरुलाई गुरु महाराजहरुले सुनाउछन् । विश्वभरि हाल एक करोडको हाराहारीमा प्रणामी धर्म मान्ने धर्मावलम्बीहरु छन् । ७ सयभन्दा बढी प्रणामी मन्दिरहरु रहेका छन्  । हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको नेपाल र भारतमा प्रणामी धर्म मान्नेहरु पनि उत्तिकै छन् भने अमेरिका, युरोप लगायतका विकसित मुलुकहरुमा पनि यो धर्मको प्रभाव र विस्तार छ ।
भारतको आसाम रांगशिलामा रहेको पीताम्बर पीठधाम पूर्वाञ्चलका सात राज्यको प्रसिद्ध धर्मस्थल मध्ये एक मानिन्छ । अहिले दमकमा प्रवचन गरिरहनुभएका महामण्डलेश्वर स्वामीजी सोही पीठधामका पीठाधीश छन् । उनको जन्म नेपालको ताप्लेजुङमा भएको हो । दमकको प्रणामी मन्दिर आएर अहिलेको प्रवचन दिने उनी हाइप्रोफाइलको पहिलो धार्मिक गुरु भएको मन्दिरका अध्यक्ष प्रेम भट्टराईले बताए  । यही भदौ २० गते श्री कृष्ण जन्माष्टमीका दिन महामण्डलेश्वर स्वामीजीले भक्तजनहरुलाई दिने कार्यक्रम रहेको छ । त्यस दिन विभिन्न कीर्तन मण्डलीबाट भजन कीर्तन, वाइज्यूराज संघ, युवा परिषद्, निजानन्द बाल समितिबाट सांस्कृतिक कार्यक्रम, डंडिया नृत्य, रामत, गड्वाना प्रदर्शन गरिनेछ । भदौ २१ गते प्रणामी मन्दिरको टोली नन्दोत्सव गर्दै श्री कृष्ण रथयात्रा नगर परिक्रमा कार्यक्रममा सामेल हुनेछ । श्री कृष्ण रथयात्रामा सहभागी हुन महामण्डलेश्वर स्वामीजीले सम्पूर्ण भक्तजनहरुलाई आग्रह गरेका छन्।
दमकको प्रणामी मन्दिरमा भइरहेको प्रवचन कार्यक्रममा स्थानीयका अलावा गौरादह, मोरङको उर्लाबारी, इटहरा र सलकपुर तथा सुनसरीको इटहरीबाट समेत सहभागिताका लागि भक्तजनहरुको उपस्थिति रहँदै आएको छ  । श्री कृष्ण जन्माष्टमीका दिन अघिल्लो वर्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागिता जनाएका थिए  । यसपटक पनि महत्वपूर्ण र विशेष प्रतिष्ठित व्यक्तित्वलाई कार्यक्रममा प्रमुख अतिथि बनाउने तयारी भइरहेको बताइएको छ । प्रणामी मन्दिरको कार्यक्रममा दैनिक दुई अढाई सयको सहभागिता रहँदै आएको छ । दैनिक भक्तजनहरुलाई भण्डारा पनि लगाइने गरेको छ । भक्तजनहरुले कतिले आफ्नो जन्मदिन, तिथि या विशेष दिन पारेर प्रसादीका लागि स्वैच्छिक सहयोग गर्दै आएका छन् । कतिपयले स्वैच्छिक सहयोग र दान समेत गर्दै आएका छन् । मन्दिरमा प्रत्येक वर्ष भिन्न भिन्न व्यक्तित्व तथा धर्मगुरुहरुलाई आतिथ्यता प्रदान गरी धार्मिक प्रवचन तथा कथा वाचनको काम गरिँदै आएको मन्दिरका अध्यक्ष भट्टराईले जानकारी गराए ।

Author

You may also like