–ः नकुल काजी :–
राज्य–रूपान्तरणको लोक–अपेक्षालाई समेटेर जाग्रत ठानिएको जेन–जी बिद्रोहको पछिल्लो उपस्थिति सगोल पनि छैन र सङ्लो पनि छैन । र त्यसकारण, दुर्भाग्यवश जन– विश्वासबाट खस्किने क्रममा छ । यसमा लहडी र बचकाना स्वभावकाहरूलाई स्वघोषितहरू प्रवेश गराइएर किंवा स्थापित पार्टीका मुखिया–डफ्फेदारहरूका ’स्वार्थसम्पूरण’ गरिखानेहरू मार्फत हाँगाबिँगा लगाइएर टुक्र्याउने उपद्रव अवश्य रचिएको हुनपर्दछ भन्ने मैदानी समाजसम्म पनि अमंगल सुस्केराका साथ सुनिन थालेको छ ।
’जेन–जीको प्रतिनिधि’ ढबको आवरणमा जताततै विभिन्न किसिमका अर्थहीन र अनपेक्षित गतिविधि भइरहेका समाचारहरू आइरहेका छन् । जेन–जीको आधिकारिक समूह कुन हो र त्यसको स्थापनाकालको मार्गचित्र (चयबम( mबउ) स्वयम् यति छिट्टै अन्योलग्रस्त अवस्थामा पुग्नुको कारण के हो ? –आदि सारभूत प्रश्नको जवाफ स्वयम् नै दुर्लभप्रायः बन्दै गएको विश्लेषणहरू हुन थालेका छन् !
जेन–जीको विद्रोह दुर्दम्य सावित भयो, त्यो विद्रोहले एउटा अनपेक्षित स्वेच्छाचारी अधिनायकवाद डुङ्ग गन्हाउने तानाशाही युगको अन्त्य गरी धरातलीय नेपालीका उद्दिष्ट जीवनान्तरवर्ती गुनासाहरूलाई सुखद रूपमै सम्बोधित तुल्याउने र नेपाललाई अग्रगमनको बाटो खोलिदिने काम गरेको आम विश्वासको यशस्वी इतिहास नै रचेको मानिएको थियो । तर, त्यस बिन्दुमा, विश्व–प्रचलित ’आवश्यकताको सिद्धान्त (म्यअतचष्लभ या ल्भअभककष्तथ)–को अवधारणागत धरातल टेकेर बनेको सरकारका काम–कारवाहीका ढाँचा–ढर्रा (धयचपष्लन कतथभि) तद्नुकूल अथवा जेन–जीको शुरु प्रस्तुतिकालले प्रक्षेपण गरेको मार्गचित्रको स्वरूप अनुकूल भएन ! यो सरकारले पनि, सम्मोहक (उयउगष्कित ?) गफ–गफेडाको ओइरोले जन–मन सम्मोहित गरेर शासकीय हकमा कायम रहिरहने पुरानै पारा वा उसको अवधि जसोतसो गुजार्ने शैली नै पक्रिँदो भयो ! अर्कातिर विगतका शासकीय स्वेच्छाचारिताले पीडित–प्रताडित आम नागरिक कित्ताका आधारभूत अपेक्षा अनुकूल वा ’शासकीय व्यवस्था’–को कुनै कुरै नउठाई विद्यमान ’डेउढो अवस्था’ परिवर्तनको काम गर्ने महत्वपूर्ण समयमा जेन–जीले पनि आफ्नै अन्तर्विरोध र नेतृत्व (’अगुवा’ मान्यता)–को छिनाझपटी र उछिन्–पाछिन् नारेर अझ बिल्लीबाठतिर धकेल्ने बचकाना तमाशा देखाउन थालेका दृश्यहरू देखिँदा भए ! यसो हुँदा देशको बढ्दो लथालिङ्ग–भताभुङ्ग अवस्थामा सुधारको गुञ्जायस अझ खस्किँदै गएको हो भनेर आउन थालेका कतिपय निरपेक्ष टिप्पणीहरू पनि गलत होइनन् । मौजूदा सरकार र त्यसका उपस्थापक एवम् पृष्ठशक्ति मानिने जेन–जीका यिनै कमजोरीले फेरि पुराना पार्टीका पाका नेताद्वारा निर्देशित दलहरूको उखरमाउलो पन्पाउन थालेको छ ।
देशवासीको बहुप्रतिशत नागरिक गरीब र निर्धा छन् । तिनलाई कानूनका लौराले तर्छाई–तर्छाई उठाइने तिरो (कर) एवम् तिनै गरीबका दयनीय अवस्थाका कथा–व्यथा बन्दक राखेर विदेशबाट लिइने सहयोगरूपी भिक्षा तथा ऋण–धनको तिजोरी, व्यक्तिगत र नीतिगत रूपमै पनि, नचिथोरेका जेठा दलीय नेता–अगुवा, कार्बारी, मुनिम–मोटिया आदि खुट्याउन राँको बालिरहने आवश्यकतै छैन, प्रष्टै छ । त्यस्ता जुठेहरू र तिनैबाट अनुकम्पाको जुठो चाटेको आभारले थिचिएका मैदानी पाउभक्तहरूको संख्या समेत वर्तमान परिवर्तनको ३५÷३६ वर्षयता कति पुगेको होला ? ….यो प्रसंग यहाँ किन जोडियो भने – यो समस्या चाहिँ यस देशको अग्रपंक्तिको कडियल चक्रव्यूह बनेर प्रस्तुत छ । ’भू–राजनीतिक चक्रव्यूह’ त भूइँ नागरिकका जीवन–दैनिकीलाई प्रत्यक्ष छुने समस्या होइन न त जन–अनुभूतिको प्राथमिकतामै पर्छ । अझ भू–राजनीतिको बहुमुखे विस्तारवादी मतंकलाई त कुनै पनि बेथिति र कुशासनले ग्रस्त देशको जन–असन्तोषको मनोवैज्ञानिक प्रकीर्णताले नै बाटो बडारिदिने (तचबााष्अ अभिबच गरदिने) काम गरेको पो पाइन्छ – चाहे त्यो जीवन धान्ने अपरिहार्य बाध्यता नै किन नहोस् ।
अझ मिहिन तरिकाले छिन्किएर विश्लेषण पगार्ने हो भने – बितेको ३५\३६ वर्षयता विभिन्न दलका शासनकालमा जम्दै र बानी–व्यहोरा बिगार्ने बानी अविच्छिन्न राख्तै आएको ’राज्यको स्थायी सरकार’ मानिने ’निजामती कर्मचारीतन्त्र’ र ’सुरक्षा कित्ता’, ’न्याय प्रशासन’ आदिमा समेत तिनै समय–समयका शासकका दासत्वमा सप्रिँदै–मोटाउने पुस्तैनी ’प्रवृत्ति’–को पुस्तान्तरित संक्रमणको ढलीमली आज पनि बर्करार छ मात्र होइन, मजबुत पकड नै छ ! र, ती ’पुरानाहरू’–कै ’गुलामगिरी’–मा निमग्न छन् भन्ने त साना–ठूला घटनाका नालीबेली–केलाइमै छताछुल्ल भइराखेकै छन् । अहिले जेठा–पाकाहरूको बाँकट्टे यही अवस्थाको पिठिउँमा बुई चढेर सुख–समृद्धिको लैबरी गाउने र निर्धा–निमुखा नागरिकलाई सर्वत्र मोहित गर्न, तर्छाउन, धम्काउन विवश पार्ने परिस्थिति बनाउन समेत मद्दतगार भइरहेको कसो नहोला ? त्यसैले उनीहरूलाई सुधारिनु–सप्रिनुभन्दा साविकभन्दा अझ कठोर बनेर हैकमी हाँक डुक्रिन सजिलो भइरहेको अनुमान हुन्छ । ठूला भनिने दल र तिनका नेता–नायक र जनस्तरका हनुमान–चालीसेहरूले जेन–जीकै, कतै फिलुङ्गो–ज्वाला र कतै भूसको आगो जस्तो, पौंठेजोरी जस्ता अन्तरकलहको टेढोमेढो मनोविज्ञान टेकेर आफूलाई अपरिमित शक्तिशाली ठान्ने सरल ’भालुभुत्ते मौका’ पाइरहेका छन् भन्ने विश्लेषण पनि भइरहेको छ । अचम्म छ, जेन–जीका ससाना स्वार्थप्रेरित घटकहरूमध्ये केही घटक अहिले आफैले बनाएको सरकारको बिरोधमा मुखर भई आकाश थुकिरहेछ तथापि ’नयाँ दल’–को ढोल–ढ्यांग्रो ठोक्तै बढिरहेको भीड तिनलाई सही बाटो देखाउन होइन ’फकाउन’ प्रवृत्त देखिन्छ, जुन अर्काे नरमाइलो किसिमको रमाइलो’ विषय बनेर उदाउँदैछ । अतः यिनै भाँडाकुटे तमाशा इत्यादिले नै, सायद, हाल पुराना दलका शिविरहरूको रातोदिनको अहंकारी, घमण्डी र जनता तर्छाउने फरमान सिर्जित छ भने कतै आपसमै रोइलोका ज्वारभाटा पनि उर्लंदो देखिन्छ !… किनभने, वर्तमान विश्वका अधिक–अधिकांश देशमा सत्तालाई ’विलासी मादक’ बनाई त्यसको व्यसनमा पल्केकाहरू त्यही अवसर कब्जा गर्न उद्यत बन्नु अन्तर्राष्टिूय समस्या नै बनेर उदित छ, जहाँबाट के वितण्डा–के उत्पात मच्चिइरहेको छैन र !?!…. संभवतः हाम्रो देशको ताजा वर्तमानमा पनि त्यही व्यहोरा पुनरावृत्त हुन थालेको हो कि ??…. यस्ता अनेक अक्करिला प्रश्नहरू खडा छन्, जसको जवाफ होइन – समाधान नेपालीको सर्वाेपरि अपेक्षा हो । तर, यसरी हेर्दा, जम्मैमा देश अहिले अक्करिलो संकटमा छ । जसको कैरन छोटो हुँदैन !
त्यसैले, बस्, आजलाई यति नै !