:– गोपाल गड्तौला —:
राजेन्द्र बुढाथोकी सरको पढाई अलिक अदवपुर्ण नै हुन्थ्यो । खासमा उहाँ शारिरिक शिक्षा को शिक्षक हो । स्कुलमा नियमित पिटी खेलाउने काम उहाँकै भागमा पर्दथ्यो । तर कुन्नी किन हो, त्यो वर्ष उहाँले पाँच कक्षामा हामीलाई सामाजीक विषय पढाउनुभयो । सामाजीकको पाठ्यक्रमको विचतिर थियो–संयुक्त राष्ट्रसंघ । मधुरो पानामा अग्लो भवनको फोटो छापिएको थियो । अस्पष्ट थियो फोटो र अपुरो थियो पाठ्यक्रमको जानकारी । हरेक दिनजसो त्यो बेला हवियर प्यारेज द कोय्यार को नाम रेडियोमा सुनिन्थ्यो, जो त्यो बेला संयुक्त राष्ट्र संघको महासचिब थिए । उनी एक शताव्दी बाँचेर सन् २०२०मा यो धराबाट विदा भए । हाम्रो घरको ठुलो आगनमा घुम्ती किराना पसल पनि थियो । भर्खर बहुदल आएकोले राजनीतिक रुपमा तरल समय थियो त्यो । रातो बुट्टे जामा लगाएको जाप्निज पानासोनिक रेडियोमा बिहान ७ बजे र साँझ ७ बजेको समाचार सुन्न वरिपरिका चारघरका मान्छे हाम्रो आगनमा भेला हुन्थे ।
रेडियोमा सुनिएको त्यो संयुक्त राष्ट्रसंघबारे अनेक कुरा थियो हाम्रो पाठ्यक्रममा । खासगरि दोस्रो विश्वयुद्धको समाप्तीसँगै संसारलाई शान्तिको मार्गचित्रमा हिडाउन हरेक मुलुकको सार्वभौमिकतालाई समान रुपले स्थापित गर्न यो वैश्विक संस्थाको कामयावीबारे राजेन्द्र बुढाथोकी सरले बुझाएको मेरो दिमागको कतै कुनामा अझै थोरै सुरक्षित छ । कालन्तरमा अनेक घच्चा घमासान र परिस्थितीबाट निसृत हुँदै आजको दिनमा अमेरिकामा रहेको छु । मौका मिलेसम्म एकबार संयुक्त राष्ट्र संघको मुख्यालय टेक्ने धोको कतै दिमागमा बाँकी नै थियो । भाग्यले त्यो मौका मलाई केहिसमय अघि जु¥यो । टेक्सासदेखि न्युयोर्क हुँदै भर्जिनिया जानु थियो । त्यसक्रममा एकरात न्युयोर्कमा बस्ने प्रवन्ध मिलाएको थिएँ । केहि घण्टामा सकिने आफ्ना अरु कामपछि म्यानह्याटनको त्यो अग्लो ठेगानामा पुग्ने हुटहुटीले गाँजिसकेको थियो ।
विश्वलाई एकै सुत्रमा बाँध्ने निकायको भव्य आगनमा पस्नुअघि सामान्य सुरक्षा जाँचपछि सुरक्षाकर्मीले दाँया छातिमा आफ्नो तश्विर भएको एउटा अस्थायी परिचयपत्र टाँसिदिँदा रहेछन् । अन्ततः म त्यो ठेगानामा पुगिछाडें । ३७ वर्षअघि स्कुले पाठ्यपुस्तकमा छापिएको मधुरो फोटो भएको भवन यहि थियो । त्यसको भुँईंमा उभिँए र भित्ताहरु छोएँ । संसारका हरेक देशका झण्डाहरु लहरै उभ्याइएका । सफा मैदानमा बन्दुकको नाल नखुल्नेगरि गाँठो पारिएको । बुझ्न कुनै गाह्रो पर्दैन कि त्यसले अहिंसा र शान्तिको उच्च कोटीको चाहना प्रकट गरिरहेको छ । छेउमै पृथ्वीको प्रतिमा छ । एक्लै गएको हुनाले त्यो मैदानमा रहेका अनेक बस्तुहरुबारे बुझाइदिने कोहि थिएन । त्यो दिनको गाइड पाउने समय पनि वितिसकेको रहेछ ।
मलाई भवनको भित्र जानुथियो । पसें । माथ्लो तल्ला जाने सिढिंको आडैमा पुर्णकदको शालिकमा उभिएका थिए महाान अश्वेत नेता नेल्शन मण्डेला । रंगभेद विरोधी आन्दोलनको अविराम नेतृत्व गरेका र त्यसक्रममा २७ वर्ष जेल परेका दक्षिण अफ्रिकी नेता आजपनि विभेद विरोधी आन्दोलनका सर्वाेच्च पर्यायको रुपमा धर्तीको हरेक कुनामा चिनिन्छन् । भित्तिमा तश्विरमा थिए संयुक्त राष्ट्रसंघका हालसम्मका सबै महासचिबहरु ।
यहाँ पुग्दा मेरो संझनामा आउने अनेक सन्दर्भहरु पनि रहेछन् । सन् २००७ को २३ मेमा पुर्वी झापाको गोलधापस्थित भुटानी शरणार्थी शिबिर भ्रमणमा तात्कालिन राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयुक्त एन्टोनियो गुटेरज पुगेको बखत दमकबाट रिपोर्टिङकोलागि म पनि गएको थिएँ । उनले त्यहाँ पुगेर भुटानी शरणार्थीको स्वदेश फिर्ती अहिलेलाई सहज नदेखिएको बताएका थिए । गोलधाप शिबिरको विद्यालयमा नजिकैबाट देखेका तिनै ब्यक्तिी आज संयुक्त राष्ट्र संघको सर्वाेच्च पद महासचिब भएका छन् ।
पत्रकारिक कर्मकै सिलसिलामा मैले झापा र काठमाडौंमा पटकपटक शैलेन्द्र कुमार उपाध्यायलाई भेटेको थिँए । उनी भुटानी शरणार्थी स्वदेश फिर्ती समर्थन समितीका संयोजक थिए र त्यस क्रममा झापा पुगिरहन्थे । दाहाल थरका उनी एकपटक त दमकस्थित दाहाल प्रतिष्ठानको कार्यक्रममा आफ्ना भाई डा. महेश्वर दाहालका साथ पनि दमक गएका थिए । मेरो बुझाईमा उनी दिग्गज र मुडी हुन । सन् १९७२ देखि ६ वर्षसम्म संयुक्त राष्ट्रसंघको लागि नेपालको प्रतिनिधित्व गरेका उनको ८२ बर्षको उमेरमा ९ मे २०११ मा सगरमाथा चढ्ने प्रयास गर्दागर्दै खुम्बु क्षेत्रमा निधन भयो । खासमा उनी सगरमाथा चढ्ने सबैभन्दा बृद्ध ब्यक्ति हुन चाहन्थे । सन् १९८६ देखि ४ वर्षसम्म नेपालको परराष्ट्र मन्त्री समेत भएका उनले नेपालको विदेश नीति, राष्ट्रसंघमा नेपालको प्रतिनिधि रहँदा दक्षिण एशियाका कुटनीतिज्ञहरुमध्ये आफु माथिल्लो वरियतामा रहेको अनेक प्रसंग र अनुभव सुनाएका थिए । दमकमा पुर्वसन्देश दैनिकका सम्पादक गञ्जबहादुर दाहालको घरमा खाना खानु अघिको त्यो गफमा मैले अघिल्लो भेट सम्झाँउदै साँझ चियर्स गर्ने कि भनेर उपाध्यायसँग ठट्टा गरेको थिएँ । सम्झिन्छु, उनले हाँस्दै भनेथे, “बाबु, एभरेष्ट समिट पछि ।” त्यसपछि दुवै हाउडो खोलेर हाँसेका थियौं । केहि पछि उनी सगरमाथा चढ्न जाँदैथिए, विचरा उतैबाट लामो निद्रामा गए ।
नेपाल सन् १९५५मा यस संस्थाको सदस्य भएको हो । विश्वभरि शान्ति स्थापना र प्रवद्र्धन कार्यमा संयुक्त राष्ट्रसंघको भुमिका अतुलनिय हुने नै भयो । शान्ति, विश्व बन्धुत्व जस्ता तत्वलाई साझा उद्धेश्य बनाउदै समुन्नत विश्व निर्माणको लक्ष्य केन्द्रित यस संस्थाको आगनमा उभिएर मैले आफ्ना सामाजीक शिक्षााका ति दिवंगत शिक्षकलाई सम्झिँदै मनमनै भने–राजेन्द्र सर, म त्यो मधुरो फोटो छापिएको भवनमा पुगें र त्यहाँ संसारका अरु सबै झण्डा भन्दा फरक त्रिभुज आकृतिको झण्डालाई नजिकैबाट हेरें ।
(हाल टेक्सास, अमेरिका)