यसबेला एउटा रमाइलो नाटकीय अभ्यास चलिरहेको छ यहाँ । अनेकौं चरित्र र स्वभाव बोकेका उपल्लो दर्जाका भनिएका मानिसहरू पत्तै नपाइकन कोही कसैका, कोही कसैका खास बनिरहेका छन् । तिनको त्यो ‘खास’ बनिने धरातल यति धेरै अस्थिर छ कि ती कुन बेला कहाँ पुग्छन्, पत्तै हुँदैन । किन ती अस्थिर हुन्छन् ?
भर्खरै भारतीय मूलका लेखक आर. के. नारायणको “द एस्ट्रोलोजर” (ज्योतिष) (१९५२) शीर्षकको कथा पढेपछि नेपाली राजनीतिको बजारको चरित्र उदांगो बनाएको महसुस भयो ।
कथा यस्तो छः
नाम नखुलेको एक ज्योतिषी अरू ज्योतिषहरू जस्तै मानिसहरूको भविष्य बताउने काम गरेर आफ्नो जीविकोपार्जनमा जुटिरहेका हुन्छ । ऊ वास्तवमा कुनै औपचारिक रूपमा प्रशिक्षित ज्योतिषी होइन । न त त्यो विषय उसले पढेको नै हो । बरु ऊ तीक्ष्ण अवलोकन शक्ति भएको मान्छे हो । छिटो सोच्ने क्षमता र मानव मनोविज्ञानको राम्रो बुझाई भएको मान्छे हो । त्यहीभएर प्रत्येक साँझ ऊ व्यावसायीक जीवन सुरू गर्छ र इमलीको रुखमुनि आफ्नो सानो पसल सजाउँछ । त्यहाँ वरिपरि व्यापारी, जादुगर र भिखारीहरूको भीड हुन्छ । गाईको कौडी देखाउँछ । कुण्डली देखाउँछ । र पवित्रताको चित्र उतार्छ । अनि धागो जस्ता धार्मिक वस्तुहरूको प्रयोग गरेर ऊ रहस्यमय वातावरण सिर्जना गर्छ, जसले ग्राहकहरूलाई उसको आध्यात्मिक चिन्तन र व्यवहारप्रति विश्वस्त बनाउँछ । मन्त्रमुग्ध बनाउँछ । सबैले ठान्छन्, ऊ पवित्र छ । ऊ संस्कारी छ । ऊ सक्कली छ । ऊ अध्यात्मी छ । ऊ धार्मिक छ । ऊ ञानी छ । ऊ दार्शनिक छ ।
एक रात ‘गुरु नायक’ नामको डरलाग्दो व्यक्तिले उक्त ज्योतिषीको बारेमा सुनेका अनेक भिथकहरूका कारणले उसलाई भेट्छ । किनभने गुरू नायकलाई त्यस्तो क्षमता भएका कुनै ज्यातिष पाउन पनि सकिँदैन, त्यो हुनै पनि सक्दैन । उसलाई लाग्यो, त्यो ज्योतिष ढोंगी हुनुपर्छ । त्यहीभएर गुरू नायकले उक्त ज्योतिषको क्षमतालाई चुनौती दिन थाल्छ र ठ्याक्कै भविष्यवाणी गर्न माग गर्छ । यदि सही भविष्यबाँणी गर्न असफल भएमा उसलाई ठग भनेर सार्वजनिक रूपमा बदनाम गर्ने धम्की दिन्छ ।
यो बाजी स्वीकार्न ज्योतिष बाध्य हुन्छ । सुरुमा ज्योतिषी आत्मविश्वासी देखिन्छ, तर जब ज्योतिष उक्त व्यक्तिलाई आफ्नै विगतसँग ठ्याक्कै मिल्ने मानिसको रूपमा देख्न थाल्छ नि, ऊ गम्भीर रूपमा विचलित हुन थाल्छ । धेरै वर्षअघि आफ्नो गाउँमा गुरु नायकसँग भएको हिंसात्मक झगडामा उसले गुरु नायकलाई छुरा प्रहार गरेको थियो र आफूले मारेको ठानेको थियो । अपराधबोध र डरले सताइएर ऊ गाउँ छाडेर सहरमा आएर ज्योतिषको नयाँ पहिचान बनाएको थियो ।
डरको बाबजुद पनि ज्योतिषीले परामर्श जारी राख्नु बाध्यता हुन्छ । ज्योतिषशास्त्रको ज्ञान र गुरु नायकसँगको आपूm हत्यारो बनेको अकल्पनीय अनुभव दुवैको आधारमा उसले अचम्मलाग्दो रूपमा सटीक भविष्यवाणी गर्छ । ऊ गुरु नायकलाई आफूलाई आक्रमण गर्ने व्यक्ति मरेको हो भनेर बताउँछ । त्यति मात्रै होइन, यदि बदला लिन खोजेमा थप दुर्भाग्य निम्तिने चेतावनी दिन्छ । साथै, ऊ गुरु नायकलाई आफ्नो गाउँ फर्कन र फेरि कहिल्यै ज्योतिषीको बाटोमा नहिंडन सल्लाह दिन्छ । यी कुराबाट ऊ विश्वस्त बन्छ । अनि उसले ज्योतिषीलाई राम्रो रकम तिर्छ । र ठान्छ, मेरो शत्रु अब जीवित छैन । ऊ ढुक्क भएर, विश्वास गरेर अनि सन्तुष्ट भएर गाउँ फर्किने निर्णय गर्छ ।
अब गाउँनै फर्किए पनि हुन्छ, अब जिन्दगी संधैलाई सुरक्षित भइयो भन्ने लाग्छ त्यो ज्योतिषलाई । त्यसपछि ऊ गाउँ फर्किन्छ, आप्mनै घर फर्किन्छ–ऊ भयभीत भए पनि मानसिक रूपमा राहत महसुस गर्छ । ऊ आफ्नी पत्नीलाई विगतमा गरेको अपराधको सत्य स्वीकार गर्छ । अनि धेरै वर्षसम्म आपूmमाथि बदला लिइने भयमा बाँचिरहेको कुरा बताउँछ । गुरु नायकले आफ्नो आक्रमणकारी मरेको ठानेको तथ्यले उसलाई ठूलो मानसिक शान्ति दिन्छ । उसको भोक पनि फर्किएर आउँछ । तिर्खा पनि फर्किएर आउँछ । शान्ति पनि फर्किएर आउँछ । मानसिक राहत पनि फर्किएर आउँछ । ऊ अपराधबोध, त्राश र पापको भूमरिमा भने रहिरहेका महसुस गर्छ । दीर्घकालिन शान्ति उसलाई किल्यै हुँदैन् । यिनै संसयकाबीच ऊ ज्योतिषको काम भने गरिरहन्छ । छलछाम चलिरहन्छ । झुक्याउने कला चलिरहन्छ । मान्छेलाई उल्लू बनाउने काम चलिरहन्छ । अनि मान्छेलाई उल्लू बनाएर आप्mनो ‘दुनो सोझ्याउने’ काम चलिरहन्छ । ठगी धन्दा चलिरहन्छ उक्त ढोंगी ज्योतिषको ।
यो कथाको द्ववन्दात्मकता पनि यही हो कि त्यसरी ठगी गर्दा पनि सकारात्मक परिणाम आउन सक्छन् । जस्तो कि ढोंगी ज्योतिष त बाँच्यो तत्काललाई गुरू नायकबाट, तर उसले ठगी गरेको शिलशिला बन्द भएन । चलिरह्यो ।
अहिले यसो सम्झन्छु, यो कथाका ज्योतिष र हाम्रा राजनीतिक वृत्तका नेतृत्वमा के फरक छ । ती ठगी धन्धा चलाई रहेका छन् । ‘हत्या गरेर पनि हत्या गरेकै होइन’ भन्ने भाष्य निर्माण गरेर दुनियाँलाई उल्लू बनाइरहेका छन् । अनि गाली पाउनु पर्ने ठाउँमा तालि पाइरहेका छन् । मानिसले पत्याइरहेका छन् । तिनैलाई देवता मानिरहेका छन् । तिनैको बखानमा अहोरात्र खटिरहेका छन् । तिनकै छेउमा उभिएर फोटा खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । तिनकै बोली मीठो लागिरहेको छ । तिनकै पाद सुगन्धित लागिरहेको छ । तिनकै अनुहार सुन्दर र प्रिय लागिरहेको छ । गुरू नायक भएका छौं हामी । उल्लू भएका छौं । घाँस हालिएको छ हाम्रा थालमा । पत्याइरहेका छौं तिनका बनावटी र कुरा । अनि ती बिना बाँच्नै नसक्ने मानसिकता बोकेर दास बन्न आनन्द लिइरहेका छौं । हामीलाई गुरू नायक बन्नमा गौरव गछौं । र तिनको झण्डा बाँचुञ्जेल मात्र होइन, मरेपछि लाशमा पनि ओढछौं । र लाश भावुक भएको, झण्डा पाएकोमा मुस्कुराउँछ । यहाँ मान्छे मात्रै होइन, लाश पनि मुस्कुराउने मन्त्र छन् हाम्रा ‘ज्योतिष’ हरूमा ।
जय होस ।