देश–समाज राष्ट्रिय समाचार

चैत्र १५ को आन्दोलनका क्रममा ४७ करोड क्षति

झापा/ गत चैत १५ मा भएको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीमा करिब ४७ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति मागदाबी परेको छ । सरकारी तथा निजी सवारी साधन, भवनलगायत भौतिक संरचनामा भएको आगजनी र तोडफोडमा ४६ करोड ९० लाख ८५ हजार ३ सय ४० रुपैयाँ बराबरको क्षति मागदाबीसहित प्रहरीमा जाहेरी परेको हो ।
कुल क्षतिमध्ये गत सातासम्म ४ करोड ५९ लाख ६२ हजार ७ सय २१ रुपैयाँ बराबरको बिमा दाबी परेको छ । यस आधारमा प्रदर्शनमा भएको क्षतिको कुल दाबीमध्ये सवा ४२ करोडभन्दा बढीको बिमा छैन ।
प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट ३९ करोड ९२ लाख ३६ हजार ६ सय ७६ रुपैयाँको क्षति पुगेको प्रहरीले जनाएको छ । यसमध्ये १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्ड रहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा ६९ सवारीसाधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये ६३ चारपांग्रे र ६ दुईपांग्रे सवारी छन् । क्षति पुगेका सवारीमध्ये नेपाल प्रहरीका ७, अन्य सरकारी कार्यालयका १०, सार्वजनिक संस्थानका १, निजी १८ र बाँकी ३३ वटा नम्बर नखुलेका सवारी रहेको प्रहरीको तथ्यांक छ । सवारीसाधनमा भएको क्षति मात्र ६ करोड ८७ लाख ७७ हजार ६ सय ५० रुपैयाँको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रदर्शनका क्रममा १० लाख ७१ हजार रुपैयाँ बराबरका ८ सीसीटीभीमा क्षति पुगेको छ । उल्लेखित सबै क्षतिको विवरण प्रहरीले संकलन गरे पनि क्षतिपूर्तिको निश्चितता भने छैन् ।

Author

You may also like