महान दार्शनिक ब्यक्ति ओशोले भनेका थिए – “गुरु त्यो हो जसले कसैको आत्मालाइ ब्यूझाउन सक्छ र उसभित्रको नफूलेको फूल फूलाइदिन सक्छ ।“ यतिमात्र होइन शिक्षक भनेका बौद्धिक ब्यक्ति हुन जसले समाजलाई रुपान्तरण गर्दिन सक्छ । यसकारणले पनि उनीहरू जाजवल्यमय ताराहरु हुन, आदर्शका कुरा, सत्यताबोधका कुरा, नैतिकताका कुरा, नीतिचेतनाका कुरा सबै उनीहरूले पाठशालामा सिकाएका हुन्छन । आफूलाई जन्मदिने आमा र कर्मदिने बुवापछिका आदर्श ब्यक्तिहरुनै शिक्षकहरु हुन । न घाम, न पानी, न रवाफ सबैलाई आत्मसात गरेर उनीहरू जनजनमा शिक्षाको ज्योति फैलाउन मरिमेटेर लाग्छन र गन्तव्यमा पुगेर निष्कर्षमै समाधान खोज्छन ती हुन शिक्षकहरु । शिक्षक जागरुक भए समाज रुपान्तरण हुन्छ र अन्धकारलाई उज्यालो उनीहरूलेनै बनाइ दिन्छन । अज्ञानता हटाउने, रुढीबादी परम्परा हटाउने, मष्तिष्कमा जीवनभर सकारात्मक चिन्तन भर्ने भनेकै उनै हुन । जिन्दगीलाई कहिलेपनि बोझ नबनाइ अघि बढेर शिक्षा दिने शैक्षिक ब्याक्तित्वहरु उनीहरूनै हुन । इन्जिनियर, डाक्टर, पाइलट, शिक्षक बनाउने उनीहरूनै हुन ।
यही कारणले गर्दा उनीहरू अनवरत रूपमा जीवनरहेसम्म अध्यापनमा रहिरहन्छन । शिक्षक मानव समुदायको एक गतिशील, सक्रिय एवं सचेत सदस्य हो । जसको उचित प्रयासले हरेक ब्यक्तिको ब्यक्तित्व निर्माणमा प्रेरणा प्रदान गर्दछ । हरेक बालकले परिवारमा आफ्ना आमाबुबा, समुदायमा सामुदायिक क्रियाकलापबाट, बिधालयमा शिक्षक र अन्य बाहिरी वस्तु घटना आदिबाट शिक्षा आर्जन गरिरहेको हुन्छ । यसैबाट उनीहरूको मानव ब्यक्तित्व निर्माणमा सहयोग पुग्दछ | तर हरेक बालकको शिक्षा आर्जन गर्ने क्रममा शिक्षकको निर्देशनले अहम भूमिका खेलेको हुन्छ | हाम्रो जस्तो मुलुकका लागि ज्ञानको स्रोतनै शिक्षक भएकाले शिक्षकको महत्व झन बढन गएको छ | नेपालीमा शिक्षक भन्ने शब्द संस्कृतको शिक्ष धातुबाट लिइएको हो जसको अर्थ ” ज्ञान दिनु ” भन्ने हुन्छ | अङ्ग्रेजी शब्द TEACHER को प्रत्येक वर्णको अर्थले शिक्षकको व्यापक अर्थ अझ प्रष्ट्याउछ , जसको अर्थ – T – Truth ( सत्यवादी ) , E – Efficiency ( सक्षमता ) , A – Affection ( स्नेह ) , C – Command over the taught ( शिक्षणमा निपुण ) , H – Healthy ( स्वस्थ ) , E – Eagerness ( उत्सुकता ) , R – Resourcefullness ( स्रोतपूर्ण ) यी गुणहरुले भरिपूर्ण हुन्छन , शिक्षकहरु | यतिमात्रै होइन , शिक्षक एक मानव ब्यक्तित्व भएकोले उसमा मानवीय गुणहरु विधमान हुन्छ | असल शिक्षकमा असल मानव व्यवहार , आचरण एवं पेसागत प्रवृति र प्रतिवद्द्ता विधमान हुन्छ | किनभने शिक्षकले भविष्यका लागि असल नागरिक / भावी कर्णधार तयार गर्ने क्रममा आफूलाई समर्पित गरेका हुन्छन | प्रसिद्ध शिक्षाविद J.Adams को भनाइमा भन्नुपर्दा ” शिक्षक मनुष्यको निर्माता हो ” तसर्थ , शिक्षक समाज र मुलुकका एक महत्त्वपूर्ण ब्यक्तित्व हो , जसले सुयोग्य कर्मशील नागरिक तयार गर्दछ | शिक्षक कार्वन कपी होइन शिक्षक त एक अमूर्त ज्योति हो | शिक्षकहरु विभिन्न गुणका हुन्छन – ब्यक्तिगत गुण , सामाजिक गुण , पेसागत गुणहरुमा – सामाजिक आचरण , नैतिक आचरण ,प्रजातान्त्रिक आचरण , आर्थिक आचरण , भौतिक आचरण , शैक्षिक आचरणले भरिपूर्ण हुन्छन | तर यतिहुदाहुदै पनि आज शिक्षकहरु हेपिएका छन , दबिएका छ्न ,अपहेलित भएका छन |
सदियौ बर्षदेखि जेलिदै आएको यो पेसामा १७ थरीका शिक्षकहरुको माग आजसम्म सरकारले पूरा गर्न सकेको छैन | पटकपटक गरेका शैक्षिक आन्दोलन तुहिए | बर्षै पिच्छे बनेका सरकारले शिक्षक नेताहरूलाई ललिपप खुवाए , केही काम गरेनन , मनहरु बिभाजित गराए | यतिसम्म खेल खेलाए कि अनेकन खाका तयार भए तर माग सम्बोधन गरेनन उतिबेला बनेका सरकारले | उमेर हुन्जेल शिक्षक सेवा आयोगले परीक्षा लिएन | हिजो उमेरमा अस्थायी करार , राहत लगायतका शिक्षकहरु आयोग नखुलेका कारण आज बूढो हुन्जेल न घरको न घाटका शिक्षक हुन पुगे अहिले | अहिले गत सालको चैत्र २० गतेदेखि अहिलेसम्म निरन्तर काठमाण्डौ केन्द्रित माइतीघर मण्डलामा हजारौं, हजार शिक्षक ÷ शिक्षिका सडक आन्दोलनमा हुँदा २६ औं दिन गत बैशाख १४ गते सरकारले धरपकड गरेर प्रहरी दमन गर्दै पानीको फोहोरा, अश्रु ग्यास प्रयोग गर्दै दर्जनभन्दा बढी शिक्षक ÷ शिक्षिकाहरु घाइते भए, अङ्गभङ्ग भए, संचारकर्मीको आँखामा गहिरो चोटपटक लाग्यो । तत्पश्चात आन्दोलनले यति उग्र रुप लियो कि देशभरका स्थानीय तहमा सरकारको आलोचना सहित जुलुस तथा धर्ना कार्यक्रमहरु भए । त्यो आन्दोलन अहिलेपनि जारी छ भने साथसाथै सरकारसङ्ग नेपाल शिक्षक सङ्घका प्रतिनिधि टोली र सरकारका वार्ता टोलीका प्रमुख ब्यक्ति वार्तामा बसेपस्चात अहिले के हुने हो ? वार्ताको निष्कर्ष के होला भन्ने कुरामा काठमाण्डौ केन्द्रित आन्दोलनमा रहेका शिक्षक÷ शिक्षिकाहरु ध्यान केन्द्रित छन ।
अन्तिममा यसको आगामी विकल्प के हुने हो त्यो त सरकारले जवाफ देला । तर सरकारप्रति कुनै आशा र भरोसा आन्दोलितहरुले राखेकै छैनन । सरकार प्रमुखको हावादारी उखाने भाषण, बर्तमान शिक्षा मन्त्रीको अकास्मात राजीनामा, नयाँ शिक्षामन्त्री रघु जि पन्तको बेफ्वाकको भाषण, गृहमन्त्री रमेश लेखकद्वारा प्रहरी दमन शिक्षकमाथि गरिरहेको कारणले गर्दा शिक्षक÷ शिक्षिकाहरु आक्रोशमा छन । अबको केही दिनमा सरकार र महासङ्घका केन्द्रीय प्रतिनिधिबिच चाडोभन्दा चाडो नयाँ शिक्षा ऐन बन्न पहलकदमी चालियोस । १७ थरी भन्दा बढी हामी शिक्षक/शिक्षिकाहरु शिक्षा ऐन जारी नहुन्जेल ऐक्यवद्धताका साथ लामवद्द हुनेछौ, अबका आगामी दिनमा राजनीतिक दलहरुको झोले हुनेछैनौ, झोले नेता नबनौ । शिक्षक एकता जिन्दावाद । नेपाल शिक्षक महासङ्घ, केन्द्रीय समिति जिन्दावाद ।
(लेखक नेपाल राहत शिक्षक, कमल गाउँसमिति अर्थ सचिव हुनुहुन्छ ।)