दमक/ नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिईन् । उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले बताईन् ।
“घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्”, प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन् ।
कोशीमा चट्याङबाट ५१ जनाको मृत्यु
प्राधिकरणका अनुसार विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।
नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।
मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताए । त्यस्ता कामहरू मध्याह्न अगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतः न्यूनीकरण हुने उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने जनाएको छ । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्तमात्रामा सचेतना पु¥याउनुपर्नेमा जलवायु विज्ञ सिग्देलले बताए ।