देश–समाज विचार/वहस स्थानीय

नेपालमा दिगो विकासको राजनीतिक भाष्य

नेपालमा हाल सालै दिगो राजनीतिक सन्तुलन स्थापना गर्नको लागि जेनजी आन्दोलनकारी युवा समूहहरूबाट देशमा ल्याउन खोजेको परिवर्तनले देशलाई सम्पूर्ण रूपमा दिगो विकास गरी नेपाललाई वैभवशाली, स्वतन्त्र र आत्मनिर्भर राष्ट्रको रुपमा अगाडि बढाउने संकेत दिइरहेको छ । तर दिगो विकासका लक्ष्यहरू हासिल गर्दा देशमा अस्थिर, तरल र संवेदनशील अवस्थामा रहेको राजनीतिक घटनाक्रमहरूले देशलाई राजनीतिक रूपमा दिगोपना दिन नसक्ने र देशलाई अझ अस्थिर बनाउँदै आर्थिक दिगोपनाहरूमा पनि नकारात्मक असर पुर्याउने अवस्थाहरु पनि सृजना हुन लागिरहेको देखिन्छ। देश भित्रै जनतामा जति खटपटी सुरु हुन्छ देशका राजनीतिक शक्तिहरू त्यति त्यति नै कमजोर हुने र जोशसँगै होस् पनि गुमाउने अवस्थामा पुग्न सकिने सम्भावना हुन्छ, त्यसकारणले देशका नेताहरूले देशका भावी पुस्ताहरूको लागि केही पनि बाँकी रहन नदिने बाध्यात्मक परिस्थितिहरू पनि निर्माण भइरहेको देखिन्छ। विश्वमा आर्थिक समुन्नतिको जुन लहर चलेको छ त्यसमा नेपालको अर्थतन्त्रले कुन किसिमले विश्व अर्थतन्त्रहरूसँगको सहकार्यमा आफ्नो भूमिका खेल्नेछ, भन्ने कुरा नेपालको तरल र अनिश्चित राजनीतिको कुस्ती खेल बाटनै निर्धारण हुने स्थिति निर्माण हुन लागिरहेको छ। देशका योजनाविदहरूले देशलाई दिगो विकासमा लिएर जान सक्ने, तर कसरी जाने भन्ने कुरामा आँखा चिम्म पार्न नसक्ने अवस्था रहे पनि राजनीतिका धुरन्धर र शक्तिशाली खेलाडीहरूले नेपाललाई सम्हाल्न धेरै मेहनत गर्नुपर्ने र फलामकै चिउरा चपाउनुपर्ने वास्तविकताहरू भोग्नु पर्न सक्ने अवस्थाहरू छर्लङ्ग हुँदैछ। नेपालमा दिगो विकास भनेजस्तो सजिलो देखिँदैन ।वैश्विक रूपमै विश्वका महावली राष्ट्रहरूसँग सहकार्य गर्न सकिएन भने देश अझ दयनीय बन्दै जाने र हिमालको पर्यावरणीय अवस्था, वनजङ्गलको अवस्था, कृषि क्षेत्रहरूको अवस्था, रोजगारीको अवस्था, बजारहरूको अवस्था, सम्पूर्ण रूपमा परनिर्भर बन्दै जाने स्थिति बन्न सक्दछ, त्यसको लागि बेलैमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ । अकर्मन्यताको सिद्धान्तमा चलेको नेपालको राजनीतिक दर्शनले देशलाई र देशका जनतालाई कुकुर र बिरालो जस्तो अवस्थामा पुरयाउन जस्तोसुकै पनि नीति अवलम्बन गर्न सक्दछ, जसको परिणामस्वरूप देशको भविष्य नै अनिर्णित बन्न सक्ने र राष्ट्रिय महत्त्वका कुराहरू ओझेलमा पर्न सक्ने तथा राष्ट्र कै गरिमामा पनि आँच आउन सक्ने सम्भावना हुन्छ । हा हू मा बनेका राजनीतिक दलका राजनीतिक समीकरणहरू देशलाई स्थिरता दिन र देशलाई दिगो विकासको बाटोमा दगुर्याउन सक्षम हुन्छन कि हुँदैनन भन्ने कुरा बुझेर, जानेर मात्र देशका जनताले आफ्नो भविष्यको बाटो आफै निर्माण गर्नुपर्ने आवश्यकता लाई कदापि पनि बिर्सिन सकिन्न ।
हाम्रो देशका अगुवा राजनीतिक दलका शीर्ष व्यक्तित्वहरूले हामीले अतीतमा के के गल्ती गर्यौ, ती गल्तीहरूलाई हामीले वर्तमानमा कसरी समायोजन गर्ने र,के कस्तो रणनीति अपनाएर भविष्यको बाटो निर्माण गर्ने, त्यस्ता कुराहरूमा पनि पुनर्विचार गर्नु आवश्यक छ। देशको विधि व्यवस्था, देशको संविधान, देशको प्रशासनतन्त्र, देशको कर्मचारीतन्त्र, देशभित्रको आर्थिक प्रणालीहरू, सुदृढ, स्वतन्त्र र इमान्दार तथा निष्पक्ष हुन सकेन भने जुनसुकै राजनीतिक प्रणालीले जस्तोसुकै राजनीतिक तिकडम र आर्थिक अधोपतनका कारक तत्व बन्न सक्छन । त्यसकारणले व्यक्तिभित्र अन्तर्निहित रहेको सामाजिक गुणहरूलाई बुझ्नु जरुरी छ, र सामाजिक असहमति र असन्तुष्टिका कुराहरुलाई पनि सहज ढंगले समायोजित गर्नुपर्ने आवश्यकता रहेको छ । देश कुनै पनि बेला लुरु लुरु र खुरु खुरु चल्दैन देशलाई चलाउन ठूलो ल्याकत, बुद्धिबल र विवेकको आवश्यकता पर्दछ, जसलाई विगतका शासकहरुले पटकपटक उल्लङ्घन गरेको नजिर देशभित्रै बसिसकेको छ । आज बाङ्गलादेशमा गृहयुद्ध मचिँदै छ। नरसंहारका बढ्दो घटनाहरूले त्यहाँका स्थायी रूपमा बसोबास गर्ने अल्पसंख्यक हिन्दु समुदाय माथि बहुसंख्यक मुस्लिम समुदायहरूले ठूलो हिंसा आग्जनी र लुटमारका घटनाहरू बडो आक्रामक ढंगले घटाउँदै लगिरहेका भिडियोहरू र छाया चित्रहरू समाचारहरूमा आइरहेको छ । बंगलादेशका हिन्दुहरू जीवन रक्षाका लागि संसारसँग गुहार माग्दै छन् ।जघन्य हिंसा फैल्याई सत्ता हासिल गर्ने र मानवअधिकारको समेत खिल्ली उडाउने कार्य बंगलादेशका कार्यकारी सरकार प्रमुख मोहम्मद युनुसले गरि रहेका छन्। आज बांगलादेशी रोहिङ्या मुसलमान शरणार्थीहरू र पाकिस्तानमा प्रशिक्षित इस्लामिक कट्टरपन्थ फैलाउनेहरूको राजनीतिबाट नेपालको भूराजनीतिक अवस्थालाई पनि जोगाउनु जरुरी छ। बाङलादेशमा देखिएको अशान्ति र अराजकताले सम्पूर्ण विश्व लाई नै चिन्तित तुल्याइरहेको अवस्था छ। नेपालले बांगलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदायहरू माथि भइरहेको जघन्य हिंसा र अपराधलाई नियन्त्रण गर्न त्यहाँका सरकारमाथि दबाब बढाउनु पर्दछ। यदि त्यसो हुन सकेन भने बांगलादेशमा भइरहेको घटनाक्रमहरूको व्यापक प्रतिक्रिया नेपालमा पनि नहोला भनेर भन्न गाह्रो छ। भोलिका दिनहरूमा पनि नेपाल, धर्मक्षेत्रे कुरुक्षेत्रे, बन्न सक्ने अवस्था सिर्जना हुन सक्दछ। नेपाल परापूर्वकालदेखि नै स्वतन्त्र सार्वभौम र वैदिक सनातन हिन्दु संस्कृतिलाई आत्मसात गरेको देश रहेको हुनाले त्यसको भावनालाई सिरोधार्य गर्नु जरुरी छ। भारतका नेताहरुले मोहम्मद अलि जिन्ना र मुसलमानहरूलाई सम्हाल्न नसक्दा ब्रिटिस सरकारको उक्साहटबाट बनेको मुलुक पाकिस्तान हो, भने पाकिस्तानका नेताहरुले शेख मुजिबुर रहमान लाई सम्हाल्न नसक्दा निर्माण भएको मुलुक बांगलादेश हो, र यी दुईटै देश भारत बाट छुट्टिएका मुलुक हुन्। बङ्गलादेश र पाकिस्तानमा लोकतन्त्र संस्थागत हुन नसकेको प्रमुख कारण भने चरम इस्लामिक आतंक वादी विचारधारा भएको कट्टरपन्थ नै हो।मानवता विरुद्धको अपराधमा लागेका जुनसुकै संगठन, संस्था, व्यक्ति ,समाज र देशलाई लोकतन्त्रको कसीमा कस्नु जरुरी छ र त्यसलाई नै आफ्नो देशको मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्नुपर्दछ । नेपालमा बितेको दशकमा जनताको नासो जनतालाई नै जिम्मा लगाएर तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायण हिटी दरबारको राज सिंहासन परित्याग गरी शीतल निवासलाई आफ्नो घर भने रोजेर आम जनता सरहको हैसियत स्वीकार गर्नु चानचुने कुरो होइनन्। उनी नेपालको हिन्दु राज शाही लाई देश काल र परिस्थिति अनुसार पुनः नेपालको संविधान भित्र प्रवेश गराउन खोजी रहेका देखिन्छन्। अहिले फेरि राजा ज्ञानेन्द्र शाह राजा बन्ने कसरतमा लागेका छन् र केही राजनीतिक दलहरूले नै उनलाई सघाइ पनि रहेका छन् भन्ने कुराहरु पनि यदाकदा छापाहरूमा आइरहेको भेटिन्छ। नेपाल भनेको ने ,ऋषि ले स्थापना गरेको देश हो । नेपाललाई आधुनिक नेपालको रूपमा चिनाउने संस्था नेपालको हिन्दु सनातन राजसंस्था नै हो। सयौँ वर्षदेखि कायम रहेको नेपालको सनातन हिन्दू संस्कृति र वैदिक राष्ट्रधर्म नै नेपालको असली पहिचान हो। नेपाललाई चिनाउन देशभित्रका जनताहरुले आफूभित्रै स्वयं समायोजित हुने गरी राजनीतिक प्रणालीको दिगो विकास गर्न सकेन भने देशले पटकपटक राजनीतिक अस्थिरताको बाढी पहिरो र भूकम्प झेल्न बाध्य पर्न सक्छ । त्यसकारणले जे उचित छ त्यही गर्नु जनताको लागि सही छ । हरेक कुराको एउटा सकारात्मक पक्ष हुन्छ त्यसको उपलब्धिलाई देशहितमा प्रयोग गर्नु आवश्यक छ । देशभित्र उम्रिँदै गएको नकारात्मकता र निराशाको विचारलाई सबैले एक ढिक्का भई हटाउनु आवश्यक छ। देशले अहिलेसम्म हासिल गरेका उपलब्धिहरूलाई पनि संस्थागत गर्नु आवश्यक छ। नेपालको लोकतन्त्र जनताले लामो समय सम्म गरेको अन्तर संघर्ष बाट हासिल भएको शासन प्रणाली हो । नेपालको लोकतन्त्र एउटा आदर्श, आस्था र विचारको महासंगम हो। लोकतन्त्रले जनताको आस्था र विश्वासलाई समादर गर्नुपर्दछ ।लोकतन्त्रले जनताको सपना र सिद्धान्तलाई मूलरुपमा आफ्नो गन्तव्यको रुपमा अपनाउनु पर्दछ। देशभित्रका नदीनालाहरू सुरक्षित रहेन भने लोकतन्त्र फाप्दैन ।देशभित्रका कृषि प्रणाली हरू हरियो भरियो र हँसिलो समुन्नतितर्फ लक्षित हुन सकेन भने लोकतन्त्र फाप्दैन। देशभित्रका वनजङ्गलहरूका हरियालीहरू कायम रहन सकेन भने देशभित्र रहेको भनिएको कथित समाजवाद र लोकतन्त्र पनि संकटमा पर्न सक्दछ। देशभित्रका जनताहरूको मूल्य मान्यता, आचार विचार ,संस्कार, संस्कृति र धर्म स्थिर रहन सकेन भने नेपालको लोकतन्त्रले आफ्नो पहिचान गुमाउन सक्छ। त्यसकारणले पहिला आफैलाई चिनौ आफ्नो पहिचानलाई चिनौ। आफ्नो गर्व गर्न सक्ने इतिहासलाई चिनौ । त्यसकारणले समष्टिगत रुपमा देशको आर्थिक राजनैतिक र सांस्कृतिक तथा सामाजिक समुन्नतिका लागि व्यापक जन जागरण र जान सहभागिताको आवश्यकता छ।

Author

You may also like