दमक/ हरेक जसो निर्वाचनको मुखमा नेता कार्यकर्ताहरुमा दल–बदलको लहर चल्ने गर्दछ । राजनीतिलाई सम्भावनाको खेल मान्नेहरुले यसलाई सम्भावनाको खोजीको रुपमा स्वभाविक पनि ठान्ने गर्दछन् । तर कतिपयले भने यस्तो प्रवृतिलाई पदलोलुप्ता र अवसरवादी चरीत्रको रुपमा पनि व्याख्या गर्ने गरेका छन् ।
आगामी फागुन २१ का लागि निर्वाचन तय भई सकेको अवस्थामा फेरि अहिले यस्तै देखिएको छ । विभिन्न दलका तल्लो तहका कार्यकर्ता देखि केन्द्रिय पहुँच राख्ने नेताहरु सम्म अवसरको खोजीमा छन् । कतिपयले समानुपातिक सुचीमा नाम नपारिएको भन्दै पार्टी छोडेका छन् भने कतिपयले प्रत्यक्ष उम्मेद्वार बन्न पाउनु पर्ने तर्क सहित पार्टी भित्र ‘बार्गेनिङ्’ गरि रहेका छन् । पछिल्ला केहि उदाहरण हेर्ने हो भने दल बदल, त्याग र प्रवेशको लहरनै देखिन्छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सांसद उमेश कुमार यादव जसपा नेपालमा प्रवेश गरेका छन् । २०६४ र २०७० मा नेकपा माओवादी केन्द्रबाट सप्तरीमा संविधान सभा सदस्य जितेका यादव मंगलवार जसपा प्रवेश गरेका हुन । उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताले पार्टीमा स्वागत गरेका छन् । यादव २०७० सालको संविधान सभामा कुर्सी भाँचेर भाइरल बनेका थिए ।
यस्तै नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पनि पार्टी परित्याग गरेका छन् । पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोपसमेत लगाएका छन् । गुप्ताले आफू भारतमा रहेकै बेला पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि नगएको बताए । राजनीति नै गर्ने भएकाले अब कुन दलमा जाने भन्नेबारे आफ्नो क्षेत्रका मतदाता र शुभेच्छुकसँग सल्लाह गरिरहेको गुप्ताले बताए ।
गुप्ता ईन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा आएका थिए । सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुईपटक एमालेबाट सांसद जितेका थिए । पाँचौ पटक २०७९ को चुनावमा भने भने कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए । गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका थिए ।
यस्तै केहि समय अघि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरू टेक बहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उनीहरू दुई समूह मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै प्रगतिशील राष्ट्रिय अभियान, नेपालमा लाग्ने घोषणा गरेका हुन् । त्यसो त, हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारले पनि केहि दिन अघि पार्टी परिवर्तन गरे । उनले पार्टी परिवर्तन गरि नेकपामा प्रवेश मात्रै गरेनन् लगत्तै राजनीतिक लाभ पनि प्राप्त गरे । पार्टी प्रवेश लगत्तै नेकपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा दलित क्लस्टरमा परियार दोस्रो नम्बरमा पर्न सफल भए । यस्तै केहि दिन रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख वासुदेव घिमिरेले नेकपा एमाले पार्टी परित्यागको घोषणा गरेका थिए । तर उनलाई रोक्न केन्द्रिय नेतृत्वनै लागि प¥यो । घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरे लगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल समेतको प्रयासबाट उनी एमालेमै रोकिएका छन् ।