दमक/प्रतिनिधिसभाको चुनाव आउन अब दुई महिना मात्रै बाँकी हुँदा दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाएपछि दलहरुको ध्यान प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएको हो । दलहरुले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा आफ्नो तर्फबाट एकल र केही क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन् । प्रत्यक्षतर्फ आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । माघ ९ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेर चुनाव चिन्ह दिने कार्यतालिका छ । यसै क्रममा मुख्य राजनीतिक दलका शिर्ष नेताहरु विभिन्न क्षेत्रबाट एकल रुपमा सिफारिस भएका छन् । सके सम्म शिर्ष र शक्तिशाली नेताहरुलाई आन्तरीक छनौट प्रकृया देखिनै शक्तिशाली बनाउने र देखाउने क्रम चलि रहेको छ । आन्तरीक रुपमा उनीहरुको कुनै प्रतिष्पर्धी नभएको देखाउन धेरै जसो शिर्ष नेताहरुको नाम एक रुपमा सिफारिस गरिएको छ भने केहिको एक भन्दा बढि विभिन्न ठाउँबाट सिफारिस सुचीमा पारिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट, कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट, महामन्त्री गगन थापा काठमाडौं–४ बाट सिफारिस भएका छन् । यद्यपि उनको नाम काठमाडौंबाहेक धनकुटा–१, रोल्पा–१ र सर्लाही–४ बाट पनि सिफारिस भएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट एकल सिफारिसमा परेका छन् । नेता शेखर कोइराला मोरङ–६ बाट, सुनील शर्मा मोरङ–३ बाट, पूर्व उपसभापति विमलेन्द्र निधि धनुषा–३ बाट एकल सिफारिस भएका छन् । यस्तै अन्य विभिन्न नेताहरु पनि विभिन्न क्षेत्रबाट सिफारिस भएका छन् ।
यसैगरी नेकपा (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई तिव्र पारेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ । झापा निर्वाचन क्षेत्र नं. ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ । रुपन्देही २ मा उपाध्यक्ष विष्णु पौडेल, दाङ २ बाट एमालेका महासचिव शंकर पोखरेल, कैलाली ४ बाट उपमहासचिव लेखराज भट्ट, भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ । यस्तै अन्य धेरै नेताहरु पनि एकल सिफारिस भएका छन् भने केहि अन्य सहितको सुचीमा परेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट सिफारिस भएका छन् । उनी त्यहाँबाट एकल सिफारिस भएका हुन् । वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भने काठमाडौँ क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको जनाइएको छ। उनीसहित सिफारिस हुनेमा रामेश्वर श्रेष्ठ र राम तन्डुकार रहेका छन् । काठमाडौँ क्षेत्र नम्बर ६ मा डा, प्रकाशचन्द्र लोहनी, राजाराम श्रेष्ठ र उद्धवराज भेटवाल सिफारिस भएका छन् भने वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका छन् ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई हालसम्म १० जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ । गत आम निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका उनी यसपटक उम्मेदवार हुने जिल्ला र क्षेत्र निश्चित भइसकेको छैन । नेकपा नेताहरु वर्षमान पुन रोल्पा, वामदेव गौतम प्युठान र बर्दिया १, नारायणकाजी श्रेष्ठ सर्लाही ३, देव गुरुङ लमजुङबाट सिफारिस भएका छन् । नेकपाका सहसंयोजक माधवकुमार नेपाल आगामी प्रतिनिधिसा निर्वाचनका लागि रौतहट १ बाट एकल र काठमाडौं २ बाट सिफारिस भएका छन् । वैकल्पिक शक्तिको रुपमा अघि बढ्ने लक्ष्य रहेको रास्वपामा भने विभिन्न नेताहरुको समेत हालै प्रवेश भएकाले भाग मिलाउने र उम्मेद्वार छान्ने काम चलि रहेको छ ।