भद्रपुर/ ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा सोमबार बिहान ५ बजेतिर सेवारो चोकमा पोलबाट लत्रिएको तार छुँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा झापा भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, उनीहरुका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य र गाडी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । घाइते हुनेहरुमा पौडेलका छोरी ललितपुर –१० बस्ने ४५ वर्षीया सबिना आचार्य (गम्भीर) र नाति ९ वर्षीय भाबियम आचार्य (सामान्य) रहेका छन् ।
सगरमाथा चौकमा रहेको होटल डे ग्लोका संचालक भद्रपुरका पौडेल दम्पती छोरी, नाति र नातिनी लिएर पाथीभरा दर्शनका लागि जाँदै गरेका थिए । पौडेलका छोरी सविना डाक्टर हुन् । झापावाट आफ्नो सवारी साधन लिइ आइतबार ताप्लेजुङ गएका उनीहरुले सोमबार विहान ताप्लेजुङवाट पाथिभरा दर्शन गर्न अर्को भाडाको गाडी लिएर गएको बताइएको छ ।
बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । उनका अनुसार चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको रावलले जानकारी दिएका छन् ।