दमक \ डाईनामिक पब्लिक लाइब्रेरी (डीपीएल) को छैटौँ महाधिवेशन यही भोलि शनिबार हुने भएको छ । मुख्य कार्यालय दमकमा रहेको डीपीएलले गोर्खा डिपार्टमेण्टको हलमा हुने गरी कार्यतालिका तयार भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै डीपीएल केन्द्रीय अध्यक्ष अनु आचार्य भण्डारीले सबै शाखाबाट प्रतिनिधिहरूको चयन भइसकेको र महाधिवेशन सफलपूर्वक सम्पन्न गर्ने तयारी समेत पूरा भईसकेको जानकारी गराईन । उनले आफ्नो कार्यकालभर युवाहरूमा पठन संस्कृतिको विकासका उद्देश्यले विविध कार्यक्रम तथा गतिविधि संचालन गरिएको बताईन ।
महासचिव गुणराज गिरीले संस्थाले पछिल्लो समय देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै युवाहरूलाई पठन संस्कृतिमा जोड्ने अभियानलाई व्यापक बनाइरहेको बताए । उनका अनुसार डीएलएले युवाहरूमा सकारात्मक सोच, पठनप्रति रुचि र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
सस्थापक अध्यक्ष भेषराज न्यौपानेले पुस्तकमै नयाँ खोज र नयाँ सोच जन्मने भएकाले डीपीएलको स्थापना युवाहरूमा पढ्ने संस्कृतिलाई पुनः सक्रिय बनाउन गरिएको बताए। उनले यो अभियानलाई देशभित्र मात्र सीमित नराखी विदेशसम्म विस्तार गर्ने लक्ष्य रहेको पनि जानकारी दिए । २०१२ सालमा स्थापना भएको डिपिएलले झापाको बिर्तामोडदेखि अर्घाखाँचीसम्म गरी १८ शाखा बिस्तार गरेको अन्य आधादर्जन बढी बिस्तारको क्रममा रहेको समेत उल्लेख गरे । १८ हजार युवा जोडिएको सो डीपीएलले स्पिकरदेखि विभिन्न तालिम दिएर युवाहरु उद्यमशिलतासँग जोड्ने काम समेत गर्दै आएको बताएका छन् । अहिलेसम्मका चार वटा अध्यक्षको कार्यकालसम्म आ–आफ्नै गोजीबाट आर्थिक स्रोत जुटाउँदै आएको डीपीएलले यो पटक भने स्थानीय र प्रदेश सरकारमा आर्थिक स्रोत व्यवस्थापनका लागि प्रपोजल पेश गरेको सो पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यसैबीच, निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार हालका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद खतिवडा (दिवस) अध्यक्षमा निर्वाचित हुने लगभग पक्का देखिएको छ । समितिद्वारा सार्वजनिक एकल उम्मेदवारी सूचीअनुसार अन्य पदहरूमा —वरिष्ठ उपाध्यक्षः गुणराज गिरी, महासचिवः कमल गैरे, उपाध्यक्षः मनि गिरी। कोषाध्यक्षः जीवलोक सापकोटा, निर्देशकहरूः जेनीस चौलागाई, अस्विन तिम्सिना, दिपक न्यौपाने, मनिका गिरी एकल उम्मेदवारका रूपमा छन्।
पत्रकार सम्मेलनमै बोल्दै उपाध्यक्ष तथा आगामी अध्यक्ष बन्ने सम्भावनामा रहेका खतिवडाले युवानेतृत्व विकास र युवाउद्यमशीलताका क्षेत्रमा आफूले अनुभव र क्षमताअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । डीपीएलको छैटौँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी वर्षका योजनाबद्ध गतिविधि तय गर्ने बताइएको छ ।