के बदलेनौ ?
पन्चायत
राजतन्त्र
गणतन्त्र
अनेकन चुनाव चिन्ह
बाकि के नै रहयो र ?
बचेखुचेका साखहरु
राजनीतिक विरासत
रङ्ग बिरङ्गहरु
लिलाम गर्यौ
आम नागरिकलाई पिंजडाभित्र राख्ने बनायौ
बोल्नै नसक्ने बनायौ
तिम्रो सुगा रटान गाइ राख्ने
अनेकन वादहरुको घाँटी निमोठयौ
गर्नै नहुने काम गर्यौ हिजोमात्र
अब के नै छ र ?
मुख बन्द गर अब
बोल्दै नबोल
जिम्मा लगाउ तिम्रो पद
युवाहरूलाई साथ देउ
आलोपालोमा देश चलाउ
बुढाखाडालाइ बृद्दाश्रममा राख
कुनै पद धारण गर्न नदेउ
सही दिशाबोध गर्नेहरुलाइ अङ्गाल
मष्तिष्कका फोहोर फ्याल
हिजो कति गल्ती गर्यौ
थाहा छ कि छैन ?
ती गल्ती फेरि दोहोर्याउने घृष्टता नगर
परिणाम कता भोग्नुपर्दैछ ?
कसरी भाग्नु पर्यो
लुक्नुपर्यो
के कारणले होला ?
सूक्ष्म अवलोकन गर
ऐनामा आफ्नै अनुहार हेर
चिन्ह बदल्ने कि सोच बदल्ने ?
हामी जनताले नभोगेको र नदेखेको केही छैन । यथार्थ चित्रण कति देखियो, देखियो यो आँखाले । हामीले देख्ने सबै देखियो तर असल मान्छेको मन चिन्न सकेनौ । हामीलाई गोटी बनाइयो खेलौना बनाइयो । एकअर्का बिच झगडा गर्ने बनाइयो यानेकि आफैले आफैलाइ तौलन सकेनौ । अब बुझ्नुहोस कि हामी कस्ता रहेछौ नि । मान्छे जादुगर हो, उसले हुनेलाई नहुने बनाउन सक्छ नहुनेलाइ हुने बनाउन सक्छ । वास्तवमा भन्ने हो भने उ गम्भीर, व्यापक र जटिल हो त्यसैले मान्छे एउटा रोबोट हो भनेर भन्न सकिन्छ । तर यो सम्म भनिरहँदा लेखिरहँदा मान्छेको मनोबिज्ञान नबुझ्नेले यो कलमीलाइ अर्को आरोप लगाउन सक्ला, लगाए लगाउन जे गरून् मतलब भएन । मैले यो अङकमा उठान गर्न खोजेको बिषय नौलो चाहिँ पक्कै होइन यथार्थ बिषयबस्तु उठाउन खोजेको छु जुन सत्य र तथ्यपरक छ । बिषय छ – “चिन्ह बदल्ने कि सोच बदल्ने?“ आज यसै बिषयमा आफ्नो कलम तपाईं पाठक सामु पस्कन चाहदैछु । हामी यति कमजोर छौँ, अर्कालाई यति सराप्छौ कि आफूले गरेको गल्तीलाइ ढाकछोप गर्छौ अनि अर्काको चरित्र हत्यासम्म गर्छौ किन ? के यो नगर्दा हुन्न र ? किन गर्नु अर्काको टिकाटिप्पणी ? पहिले अरुलाई सराप्नुभन्दा आफू ठीक छु कि छैन, पहिले आफैलाई तौलनु पर्छ कि पर्दैन ? मान्छे एक सामाजिक प्राणी हो । कुन सकारात्मक र कुन नकारात्मक हो भन्ने कुरा उसले छुट्ट्याउन सक्छ अरुले सक्दै–सक्दैन तर यो जानी – जानी किन आजको आधुनिक मानव दानव बनेर क्रुर बन्दै गएको छ । यो सबै सिकायो राजनीतिक संस्कारले । यति सिकायो कि जेमा पनि राजनीति गर्न सिकायो, राजनीतिक वातावरणले । यसलाई अब कसरी रोकथाम गर्ने, सहजीकरण कसरी गर्ने ? यो तर्फ कोहि लागेको देखिन्न । चौतर्फी राजनीतिले यति गाजेको छ कि घरपरिवारदेखि सामाजिक, संघ संस्थामासम्म राजनीतिक माहौलले पुरै ध्वस्त पारेको अवस्था छ । उ कुन पार्टीको हो ? हाम्रो होकि होइन? हामीलाई भोट दिन्छ कि दिदैन ? कुन प्यानलको हो ? फलानो मान्छेको हो कि होइन ? हाम्रो प्यानलमा ल्याउन अब के गर्ने ? साम, दाम, दण्ड, भेद प्रयोग गरेर भएपनि राजनीति परिवर्तन गर्नका निम्ति चिन्ह र सोच बदल्न उद्दत भएको देखिन्छ नेपाली राजनीतिमा । हिजोआज यस्तो सम्म देखियो कि सरुवा, बढुवा, अवसरका निम्ति शैक्षिक क्षेत्रमा राजनीतिक उतारचढाव देखिएको छ । पुरानो राजनीतिक विरासत छोडेर केही पाइन्छ कि भनेर आफ्नो राजनीतिक आस्था छोडेर समाजवाद, नौलो जनवाद अनि पथ छोडेर जानेहरूको हुल शैक्षिक क्षेत्रमा देखिन्छ । अब भन्नुस् कि नेपाली राजनीतिमा म राजनीति गर्दिन मलाई पद चाहिन्न । सबै मै हुँ मैले यति बर्ष भो राजनीति गरेको भनेर चिया चमेना गृहमा फाइ“फुट्टी लाउनु भनेको आफ्नो पुरानो विरासत आफै बिर्सनु हो । यो सुन्दा हामीलाई लाज लजाउछ तर राजनीतिमा अदलबदल गर्ने अवसरवादीहरुलाइ भने लाजै लागेको देखिन्न । हिजो कुनै पार्टीमा आस्था राखिरहदा त्यो पार्टीमा कुनै अवसरै नपाउदा सुटुक्क छोडेर अर्को पार्टीमा सरुवा भएर जादा आफू पहिले बसेको पुरानो पार्टीको नकारात्मक टिप्पणी गर्नु भनेको राजनीतिक पराकाष्ठाको अपराजित मनस्थिति हो भनेर भन्न सकिन्छ । अवसर खोज्ने कि वाद रोज्ने ? रोज्नुपर्ने कारण के हो ? के कारणले रोजियो ? यस्ता थुप्रै–थुप्रै कारणहरु छन जसले आजको आधुनिक मानवलाइ बिगारेको छ, उसलाई छल्न, ढाट्न, लुट्न, दङ्गाफसाद गर्नमात्रै सिकायो, यो लोकतान्त्रिक गाडतन्त्रले । आजको मानव अवसरवादको सिकार भएको छ, मान्छेले मान्छेलाई टेकेको छ, रगतको आहालमा बसेर राजनीति गरेको छ । रगतमै राजनीति खिचातानी गरेको देखिन्छ, दिनदिनै ।
एमाले, नेपाली काङ्ग्रेस, माओबादीका पुरानो विरासत सबै क्रमभङ्ग छन, हिजोआज । अवसरवादको हावी छ, एकले अर्काको राजनीति समाप्त पार्नका निम्ति झुण्ड तयार गर्न उद्दत छन । यहाँ कसैले कसैको कुरा सुनेको देखिन्न । यहाँ चाकरीवाज, झुण्डहरुको बोलवाला छ । एउटा सानो काम गर्दासम्म बिचौलियाहरुलाई रकम दिनुपर्छ, नभए कसैकोपनि समयमा कामै हुँदैन  । बेथिति यतिसम्म बढ्या छ कि यहाँ सोझासिधाले केही नबोलि हिड्नुपर्ने अवस्था आएको छ । कमिसन, दादागिरी, लुटतन्त्र यतिसम्म झाङ्गिएको छ कि निरीह मान्छेहरुले केही नबोले हुन्छ, अब । यहाँ हुल्लडवाजहरुको बोलवाला छ, सेटिङ्गमै देश चलेको छ, यहाँ कुनैपनि वाद सही दिशामा चलेको छैन । अब तपाईं चाहिँ के गर्ने त ? सबै अदलबदलै छन, चिन्ह बदल्ने कि सोच बदल्ने ? अहिले चुनाव चिन्ह फेरिएका छन, रुप र सार फेरिएका छन । अब के रोज्ने हो आगामी फागुन २१ गते तपाईंकै हातमा छ ।

Author

You may also like