
दमक । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले मुलुकको चौतर्फी विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन। साँचो अर्थमा भन्ने हो भने विभिन्न कालखण्डका आन्दोलनहरुको साक्षी नै पत्रकारहरु भएको भन्दै पत्रकारितालाई मर्यादित बनाउन लाग्नुपर्नेमा उनको जोड थियो ।
दमकबाट प्रकाशित हुने पूर्वसन्देश दैनिकको २१औ वार्षिक उत्सव तथा पत्रिकाका सम्पादक गञ्जबहादुर दाहालको ५० औं पत्रकारिता यात्रा पूरा भएको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले यस्तो बताएका हुन् ।

यसैगरी सोही कार्यक्रमका विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकारिता क्षेत्र आफैमा गलत नभएपनि दर्ता नगरी सञ्चालनमा ल्याइएका कतिपय सामाजिक सञ्जालहरुले पत्रकारितालाई बदनाम र दुषित् पारिरहेको बताए । उनले प्रेस काउन्सिलमा दर्ता नगरी चलाएका र समाजमा अफवाह फैलाउन उद्दत सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याएको स्मरण गर्दै असली पत्रकारिताले मात्रै समाजमा सूचना प्रवाह गर्नसक्ने विश्वास ब्यक्त गरे ।
यसैगरी दमक नगरपालिका प्रमुख रामकुमार थापाले दमक लगायत पूर्वको विकासमा पूर्वसन्देश पत्रिकाको भूमिका अविश्मरणीय रहेको बताए । उनले पत्रकारिताका नाममा विकृति भित्रिरहेकाले सचेत रहेर पत्रकारिता गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झपाका अध्यक्ष एकराज गिरी, कमल गाउँपालिका उपप्रमुख प्रमिला न्यौपाने, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईँ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पत्रिकामा आवद्ध रहेर लामो समयदेखि सहयोग पु¥याउँदै आएका सम्पादन सहयोगी, समाचार सहयोगी, स्तम्भकार, कर्मचारी गरी दर्जनबढीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । यसैविच पत्रिकाको शुरुवातदेखि अहिलेसम्म डेक्समा रहेर कम्पोज डिजाइनमा भूमिका निर्वाह गर्ने सुरेन बस्नेतलाई नगद रु.२१ हजारसहित सम्मान गरिएको थियो ।

पूर्वसन्देश पत्रिकाका सम्पादक दाहालको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार विमल लामिछानेले सम्पादक गञ्जबहादुर दाहालको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए । लामिछानेबाट प्रस्तुत जीवनीमा सम्पादकको बाल्यकाल, पेशाको खोजी, अध्यायन, अग्रज र समकक्षीको स्मरण, पत्रकारिता यात्रामा भएका अनुभव र चुनौती, जनयुद्धका समयको प्रकाशन, पत्रकारिता यात्रामा परिवारको साथ, नयाँ पुस्तालाई सुझाव, सामाजिक जिम्मेवारीमा संलग्नता, सम्मान तथा पुरस्कारहरु र पचास वर्षको पत्रकारिता भावी पुस्ताका लागि अनुकरणीय पाठ जस्ता विषयहरु समेटिएको छ । पत्रकार पंकज दाहालले स्वागत मन्तब्य राखेको कार्यक्रमको
पत्रकारिता….सञ्चालन साहित्यकार धनकुटे कान्छाले गरेका थिए । उद्योग वाणिज्य संघ दमकको सभाहलमा भएको कार्यक्रममा दमक लगायत झापाका प्रतिष्ठित ब्याक्तित्वहरु, प्राध्यापक, शिक्षक, साहित्यकार, ब्यवसायी र पत्रकारहरुको उपश्थिति रहेको थियो ।