: – गोपाल गड्तौला -:

समय : शरद यामको एउटा खुलेको दिन ।
स्थानःपश्चिम झापाको दमक चौक, जसलाई भर्खरै जेसिज चोक नाम दिइएको थियो ।
हेल्लो गञ्जदाई ! नमस्कार ।
तपाईं त्यो दिन एउटा योजना गम्दै हुनुहुन्थ्यो । चीयाको घुट्को निल्दै भन्नुभयो, “एउटा दैनिक पत्रिका निकाल्ने सुर कसेको छु, टिममै बसेर साथ दिनुपर्छ है ।” काठमाडौंबाट छापिने ब्रोडसिट दैनिक स्पेसटाईम इराकमा १२ नेपालीको जघन्य हत्या भएपछि भड्किएको हिंसाका कारण बन्द भएकोले म त्या बेला करिव करिव पत्रकारिक कामबिहिन रहेंछु । बेलाबेला हिमाल खवरपत्रिका र कम्युनिकेसन कर्नरकोलागि रिपोटिङ भने गरिरहेको थिएँ । उहाँको प्रस्तावमा मैले स्विकारोक्ति जनाए । केहि महिना पछि १७ मंसिर २०६२ मा पुर्वसन्देशको नमुना अंक निकालियो र अन्तराष्ट्रिय मानव अधिकारदिवशको अवसर पारेर २४ मंसिर २०६२ देखि रातो मास्टहेड भएको पुर्वसन्देश दैनिक निकाल्न थालियो ।
त्यो राजा ज्ञानेन्द्रको हातमा गएको सत्ता फर्काउन दलहरुको आन्दोलन चलिरहेको याम थियो । साना—ठुला समुह र दलका एकाईहरु आन्दोलनको मुडमा थिए । पश्चिम झापाको आन्दोलनको केन्द्रविन्दु दमकको त्यहि चोक थियो, जहाँबाट हाम्रो अखवार निस्क्न्थ्यो । जुनसुकै कामको पनि शुरुवाती चरण संघर्षपुर्ण नै हुन्छ । अहिलेको जस्तो इन्टर्नेटको भरपुर उपलव्धता थिएन । कार्यकारी सम्पादक इन्द्र न्यौपाने र म रातको पालो मिलाएर बस्थ्यौं । समाचार तयार पार्ने, शुद्धाशद्धी जाँच्ने र छाप्नको लागि छापाखानामा कर्मचारीलाई जिम्मा लगाउने, अनिमात्र सुत्न जाने गरिन्थ्यो । यति काम गरिसक्दा प्राय विहानको २ वजिसकेको हुन्थ्यो । मेरोलागि आवासिय सुविधा त्यहिँ उपलव्ध थियो । दुईकिलोमिटर टाढाको घर म बिहान केहि घण्टाको लागि मात्र जान्थे । २०६२ मंसिर २४ देखि २०६४ पुष ९ गते रातिसम्म मैले यो अखवारको भित्रिया भएर काम गरेको छु । त्यसपछि पनि सम्पादकिय लेख्ने काम नियमितजसो मेरो भागमा पर्दथ्यो । यसरी २५ महिनासम्म काम गरेपछि वास्तवमा म केहि राम्रो पत्रकारिक अभ्यासको अवसर आएपछि उज्यालो ९० नेटवर्कबाट रेडियो कार्यक्रम शरणार्थी सन्देशको उत्पादन गर्ने टिममा आवद्ध हुनको लागि पुर्वसन्देशबाट भारि मनकासाथ विदा भएको थिएँ । तरपनि सम्पादक गञ्जदाई र अरु साथीहरुसँग पारिवारिक तहमा जोडिएको त्यो नाता आजसम्म पनि कायम छ । हामी एकअर्काका खुसीमा रमाउने र दुखमा सहानुभुतीसाथ प्रस्तुत हुन्थ्यौं, भइरहेका छौं ।
प्रिय भाई सुरेन बस्नेत अझैपनि पुर्वसन्देशमै छन् । राति अवेर निद्राले आकुल हालतमा केहि घण्टा आँखाको विष मार्ने (न्याप लिने) गर्दाको कामबाट नहार्ने साथी हो उ । कार्यकारी सम्पादक इन्द्र दाई केहि महिनापछि अलग हुनुभयो । विष्णु पोखरेल, गोपाल झापाली, मनकुमार गदाल, सावित्रा दाहाल, डिकेश लामा, कृष्ण कार्की, सरस्वती कार्की, विष्णु पौडेल, विष्णु सुब्बा, दिपक सुवेदी, युवराज विवश, शंकर चापागाईं (धनकुटे कान्छा) डण्डीराज घिमिरे, जिएन शर्मा, लगायत कयौं साथीहरुले समय दिएर पुर्वसन्देशलाई गुन लगाँउदाको साक्षीको रुपमा ति दिन सम्झिँदा हमेशा रमाइलो लाग्छ । धनञ्जय बाँस्कोटा, प्रकाश बुढाथोकी, डा.तुलशी भट्टराई, डा. गोविन्द भट्टराई, कुलप्रसाद ढकाल, मोहन भण्डारी, चन्द्र भण्डारी, नारायण भट्टराई लगायतले स्तम्भ लेखेर लगाउनुभएको गुनले पुर्वसन्देशको जग बलियो बनाएको छ ।
शुरुका दिनमा नियमित स्तम्भकारको रुपमा लेख दिनुहुने रुद्र निरौला र कर्णकुमार श्रेष्ठलाई आज उहाँहरुको आत्मको शान्तिको कामना गर्दछु ।
यो अखवार म र मैले पत्रकारिता कर्म सिकाएका केहि मित्रहरुका लागि कार्यस्थल मात्र होइन, आफुलाई अजमाउने, मस्काउने वा उजिल्याउने भट्टी पनि हो । एउटा यस्तो समय बनिसकेको थियो कि सदरमुकाम चन्द्रगढीदेखि करिव ५० किलोमिटर टाढाबाट निस्किएको यो अखवारसँगै स्थानियको दैनिकी शुरुहुन्थ्यो । तिन दर्जनभन्दा बढि वितरकहरुले घरघरमा पु¥याउने अखवार झापा र मोरङका आसपासका हरेकजसो घर—टोलमा अभिन्न भइसकेको थियो । प्राविधिक वा अरुकुनै कारणवस् केहिवेर मात्र अखवार ढिलो पाठकको हातलाग्यो भने टेलिफोनको घण्टी बज्न थाल्दथ्यो ।
आज म अलिक टाढा छु । म बसेको ठाँउबाट पुर्वसन्देश करिव ८ हजार माइल अर्थात २० हजार किलोमिटर टाढा छ । यहाँ टेक्सासको फेर्टवर्थमा दमकका खड्ग पाठक, प्रकाश नेपाल, निलम विमली, सन्देश उप्रेती, रमेश पौडे, बेद बस्नेत, मुक्ती गुरुङ, सुमन ओली आदिसँग हुने भेटका गफमा पुर्वसन्देशको हालखवर पनि सोधखोज हुन्छ । सम्भवत यस किसिमको सम्झना सार्वजनिक रुपमा स्विकृत संस्थाको बारेमा मात्र बढि गरिन्छ ।
पुर्वसन्देशले आर्जन गरेको २० वर्ष उमेर भनेको चानचुने समय होइन । बालक जन्मिएर युवक हुने अवधि हो । राजाले सत्ता हातमा लिएको, देश करिव करिव गृहयुद्धको हविगतमा पस्नबाट जोगिएको, जन आन्दोलनले गणतन्त्र स्थापना गरेको जस्ता अनेक राजनीतिक उतारचढावको साक्षी बन्दै सुदुर मोफसलमा उभिरहनु खासमा ठुलै परिक्षामा उत्तिर्ण हुनु हो । गहिरो खोजमुलक सामग्री र तथ्यहरुको जगमा उभिएर गरिने विश्लेषणले मात्र अवको पत्रकारितालाई भरोसायोग्य बनाउछ । भन्न त पत्रकारितालाई हतारमा लेखिने इतिहास पनि भनिन्छ तर छिटो हुने नाममा अपुष्ट सामग्री सम्प्रेषण हुनु ठुलै दुर्घटनाको कारण बन्नसक्छ भन्ने तर्फ सचेत हुनुपर्दछ ।
सम्झिएछ÷सम्झिरहन्छ पुर्वसन्देशले मलाई । पहिलोपटक आफ्नो छोरोले कुनैसमय आवद्ध भएर काम गरेको संस्थाले दिने सम्मान ग्रहण गर्न मेरी आमा र परिवारलाई निम्ता ग¥यो, म अरुभन्दा अलिक बढि खुसी । हाल टेक्सास, अमेरिका ।

Author

You may also like