कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

दमक साहित्य कला संगमद्वारा देश तथा विदेशका साहित्यिक श्रष्टाहरु सम्मानित

दमक । झापा जिल्लाको दमकस्थित साहित्य कला सङ्गमले आयोजना गरेको ‘पुरस्कार अर्पण समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यक श्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । दमक वडा नं. ८ स्थित केबीआर होटलमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्ष संस्थाका अध्यक्ष विन्दु दहाल मुकदर्शकले गरेका थिए भने प्रमुख आतिथ्यता प्रा.डा. गंगाप्रसाद अधिकारीको रहेको थियो ।
सो कार्यक्रममा भवानी मिश्र अन्तराष्ट्रिय पुरस्कारबाट आसामका मोहन सुवेदी, तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट प्रा.डा. भीम खतिवडा (धरान), भवानी मिश्र राष्ट्रिय पुरस्कारबाट क्रमशः वरिष्ठ साहित्यकारहरु वासुदेव पाण्डे (वैतडी), खेम नेपाली (विराटनगर, मोरङ, राजेन्द्र संग्रौला (बिर्तामोड), वीरेन्द्र थोक्लिहाङ (सिवसताक्षी नगरपालिका)लाई सम्मानित तथा पुरस्कृत गरिएको छ । यसैगरी साहित्य कला श्री पुरस्कारबाट प्रा.डा. गोपाल प्रसाद भण्डारी (दमक) सम्मानित तथा पुरस्कृत भए । यस्तै रुद्र निरौला स्मृति पुरस्कारबाट मेघराज तिम्सिना (दमक) प्रदान गरियो भने चन्द्रवीर स्मृति पुरस्कारबाट विना अधिकारी (बिर्तामोड)लाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई ११ हजार १११ देखि ३५ हजारसम्म राशी नगद प्रदान गरिएको छ ।
प्राज्ञ सुमित्रा बाङ्देल चेली, प्रा.डा. भीम खतिवडा, प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ साहित्यकारहरू मोहन सुवेदी, बासुदेव पाण्डेय, खेम नेपाली, राजेन्द्र सङ्ग्रौला, नरपति पाण्डे, हेम अधिकारी, श्रीप्रसाद पोखरेललगायतको आतिथ्यता रहेको सो कार्यक्रममा पूर्व मेचीदेखि पश्चिमसम्मका साहित्यिक स्रष्टाहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, आयोजक संस्थाका पदाधिकारी, आजीवन सदस्य, सल्लाहकार, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा उपाध्यक्ष चन्द्रा गड्तौलाको नेतृत्वमा स्वागत गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कोशी साहित्यिक कला प्रतिष्ठानका केशु विरही राई, उर्जाशिल साहित्य कला प्रतिष्ठानबाट डिपी शर्मा, संस्थाको तर्फबाट पूर्व अध्यक्ष तथा सल्लाहकार नरपति पाण्डे, सम्मानित श्रष्टाको तर्फबाट प्राडा भीम खतिवडा, खेम नेपाली लागयतले बोल्नु भएको थियो । वक्ताहरुले नेपाली साहित्यको विकास, स्रष्टाहरूको योगदान तथा साहित्यिक संस्थाहरूको भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरूले यस्ता पुरस्कारले स्रष्टाहरूलाई थप सिर्जनात्मक कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । साथै साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिइएको थियो । सो कार्यक्रम संस्थाका महासचिव तथा साहित्यकार ओमप्रसाद खनालले सञ्चालन गरेका थिए ।
दमकस्थित उक्त साहित्यिक संस्थाले भाषा, साहित्य, कला, संस्कृति र समाजसेवामा उल्लेखनीय योगदान दिँदै आएको छ । वि.सं. २०५२ मा स्थापना भएको संस्थाले स्रष्टाहरूलाई सम्मान गर्ने, नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्ने तथा सभ्य समाज निर्माणमा सहयोग गर्ने उद्देश्यसहित निरन्तर गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
संस्थाले मासिक रूपमा रचना वाचन, अन्तरक्रिया, कार्यशाला तथा प्रतियोगितामार्फत स्रष्टाहरूको क्षमता विकास गर्दै आएको छ। यसबाट धेरै नयाँ लेखक, कलाकार तथा सर्जक उत्पादन भएको बताइएको छ ।
संस्थाको गतिविधिलाई सहयोग पु¥याउन विभिन्न दाताहरूले अक्षयकोष स्थापना गरेका छन् । दमक(१ का भवानी मिश्रले ४१ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्, जसबाट वार्षिक रूपमा नगदसहित ‘भवानी मिश्र पुरस्कार’ प्रदान गरिँदै आएको छ । यस्तै, संस्थाले आफ्नै पहलमा ५ लाख रुपैयाँको कोष स्थापना गरी ‘साहित्य कलाश्री पुरस्कार’ प्रदान गर्दै आएको छ ।
डा. लेखनाथ न्यौपाने परिवारद्वारा स्थापित १० लाख रुपैयाँको ‘तुलसादेवी न्यौपाने स्मृति कोष’बाट विद्यार्थीलाई छात्रवृत्ति तथा स्मृति पुरस्कार वितरण गरिन्छ । साथै, शारदा निरौलाद्वारा स्थापित ‘रूद्र निरौला स्मृति कोष’ र वीरेन्द्र खड्काद्वारा स्थापित ‘चन्द्रवीर खड्का स्मृति कोष’बाट पनि वार्षिक पुरस्कार प्रदान गरिँदै आएको छ ।
संस्थाले हालसम्म विभिन्न विशेषाङ्कसहित ‘सङ्गम’ पत्रिकाका १८ अङ्क प्रकाशित गरिसकेको छ । विगतमा सञ्चालन गरिएका सङ्गीत प्रशिक्षण कक्षाबाट उत्पादन भएका कलाकारहरू देश तथा विदेशमा सक्रिय रहेको संस्थाले जनाएको छ । हाल संस्थाको कार्यालय दमक-६ भानुचोकमा रहेको सो संस्थासँग दमक-२ मा दानस्वरूप प्राप्त जग्गा समेत रहेको छ ।
साहित्य कला सङ्गमले लक्ष्मी जयन्ती, भानु जयन्ती, मोती जयन्ती लगायतका कार्यक्रमहरू नियमित रूपमा मनाउँदै आएको छ भने पुस्तक विमोचन, गजल वाचन, बालसाहित्य कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको जनाएको छ ।

Author

You may also like