अर्थ पत्रपत्रिका मुख्य समाचार स्थानीय

दमकमा सार्वजनिक सुनुवार्य : नागरिकको सवाल र नपाको जवाफ

दमक/ दमक नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्दै नगरबासीका गुनासा, सुझाव तथा जिज्ञासाको सुनुवाइ गरेको छ  । सेवा प्रवाह, विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका विषयमा उठेका प्रश्न तथा गुनासो सम्बोधनका लागि कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ  ।
कार्यक्रममा सहभागी नगरबासीले विभिन्न सार्वजनिक सेवाको प्रभावकारिता, विकास योजनाको कार्यान्वयन तथा स्थानीय समस्या सम्बन्धमा धारणा राखेका थिए  । उठेका जिज्ञासा र गुनासाबारे नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगीना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला तथा विभिन्न सरकारी कार्यालयका प्रमुख र वडाअध्यक्षहरुले जवाफ दिएका थिए  ।
नगरप्रमुख थापाले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए  । कार्यक्रममा जनगुनासो सम्बोधनसँगै विकासका कामलाई पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो  । कार्यक्रममा नगरबासीहरुले सरकारी सेवा प्रवाह, ट्राफिक व्यवस्थापन, सरसफाई, जेनजी आन्दोलनले पु¥याएको क्षति र संलग्नलाई कार्वाही लगायतका विभिन्न प्रश्न राखेका थिए  । कार्यक्रममा दमक ५ का युवराज घिमिरेले दिपीनी खोलामा फोहर फाल्ने, मानव मल–मुत्र मिसाउने जस्ता कार्यले प्रदुषित भएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए  । त्यसको जवाफ दिँदै नगरप्रमुख थापाले त्यस्तो कार्यमा संलग्नको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन र सरसफाई कार्यलाई पनि गति दिने प्रतिवद्धता जनाए  । यस्तै उपप्रमुख प्रसाईले खोला सरसफाईको कार्य नगरपालिकाको प्राथमिकतामा रहेको भन्दै प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताईन्  ।
कार्यक्रममा पूर्वाञ्चल बहिरासंघका अध्यक्ष रमेश श्रेष्ठले दोभाषे पुनर्ताजगी तालिमको आवश्यकता रहेको र अपांगता भएकाहरुलाई रोजगारीमा प्राथमिकता दिनु पर्ने बताए  । जवफमा उपप्रमुख प्रसाईले पुनर्ताजगी तालिमको निर्णय भई सकेको र रोजगारी अभिवृद्धीका कार्यक्रम समेत गर्दै आई रहेको बताईन्  ।
पूर्वजनप्रतिनिधी समेत रहेका श्याम कार्कीले जेनजीको नाममा भएको आन्दोलनका क्रममा क्षति गर्नेहरुलाई नगरपालिकाको तर्फबाट समेत कार्वाहीको दायरामा ल्याउन समन्वय गर्नु पर्ने बताए  । यस्तै दमक ८ का टीकाराम खरेलले रोज गार्डेन व्यवस्थापन गर्नु पर्नेमा जोड दिए भने दमक ५ का अर्जुन कार्कीले दमकका सरकारी कार्यालयहरुको परिसरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको भन्दै प्रत्येक कार्यालयमा सेवाग्राहीका लागि पार्किङ्को व्यवस्थापन गर्न आवश्यक रहेको बताए  ।
आन्तरीक राजश्व कार्यालय परिसरमा पार्किङ् नभएको विषयमा जवाफ दिँदै कार्यालय प्रमुख सुर्य कुँवरले भदौको आन्दोलनमा कार्यालय जले पछि तत्कालिन समयमा नयाँ स्थानमा कार्यालय सारिएको र त्यहाँ केहि साँघुरो रहेको जनाए  । तर भएको स्थान र श्रोत साधनले सके सम्म व्यवस्थापनको प्रयास भई रहेको जनाए  । यस्तै ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख मनोज खड्काले सिमित जनशक्तिले काम गर्नु पर्दा सवै तिर व्यवस्थापनमा समस्या रहेको जनाए  । तर सवै कार्यालयहरुले आ आफ्नो परिसर तथा सेवाग्राहीका लागि व्यवस्थापन गर्ने हो भने समस्या समाधानमा सहयोग पुग्ने बताएका थिए  । ट्राफिक व्यवस्थापनका लागि यस अघि समेत दमक नगरपालिकाबाट सहयोग प्राप्त भएको भन्दै उनले आगामी दिनमा पनि नगरपालिकाबाट सहयोगको अपेक्षा राखेको जनाए  ।
ट्राफिक व्यवस्थापन तथा सहरी व्यवस्थापनका बारेमा नगरप्रमुख थापाले सवै निकायहरु विचको समन्वयमा काम भई रहेको जनाए  । नगरको प्राथमिकतामानै फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सहरी सुधार लगायतका विषय रहेकाले सवै पक्षको समन्वयबाट प्रभावकारी कार्य सम्पादन गर्न सकिने जनाएका थिए  ।
नगरबासीले फोहर व्यवस्थापनको प्रभावकारी व्यवस्थापनको खाँचोका बारेमा राखेको प्रश्नको जवाफमा उनले अघिल्लो कार्यकालकै समयमा फोहर व्यवस्थापनको काम निजी क्षेत्रलाई दिईएको र सो जिम्मेवारी पाएको निकायलाई प्रभावकारी काम गर्न आग्रह गर्दै आएको जनाए  । आवश्यकता अनुसार नगरले पनि त्यस कार्यमा समन्वय गरि रहेको उनको भनाई थियो  । भिन्न मिडीया एण्ड रिसर्च प्रालिको समन्वयमा भएको कार्यक्रममा आ–आफ्ना वडाका सन्दर्भमा उठेका प्रश्न तथा जिज्ञासाको सम्वन्धित वडाका अध्यक्षहरुले जवाफ दिएका थिए  । यस्तै दमक भित्र रहेका विभिन्न सरकारी कार्यालयहरुको सेवा प्रवाहका बारेमा समेत प्रश्न तथा जिज्ञासा उठेका थिए  । त्यसको सम्वन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले जवाफ दिएका थिए  ।
कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले नागरिक प्रति जवाफदेही बन्न, नागरिकप्रतिको सवालजवाफ र सुझावलाई दमक नगरपालिका क्षेत्रभित्रका सेवाप्रदायक संस्थाहरुसँग एउटा थलोमा सम्बोधन गर्ने हेतुले सार्वजनिक सुनुवाई आयोजना गरिएको बताए  । उनले भने– नगरपालिकाले नसुनेका, नगरपालिकाले नबुझेका र नगरपालिकालाई थाहा नभएका विषयहरु पनि हुनसक्छन जसलाई नागरिककै स्वरबाट आफ्नै आगनमा सुन्ने, बुझ्ने र मनन गर्ने थलो सार्वजनिक सुनुवार्य भएको सुझाए  ।
उनले विषम परिस्थितिका बाबजुद पनि नगरपालिकाले जनताका काममा कुनै कन्जुस्याई नगरेको स्पष्ट पार्दै अािर्थक वर्ष ०८२÷०८३ मा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विविध क्षेत्रमा भए गरेका कामहरुको प्रगति विवरण संक्षेपमा सुनाए।
उनले १ अर्ब ६३ करोड ३३ लाख २३ हजार बढी रकम बजेट विनियोजन भएकोमा १ अर्ब ३३ करोड ४९ लाख ६८ हजार बढी रकम आम्दानी भएको बताए  । त्यो मध्ये चालु खर्चमा ५२ लाख ६३ हजार ६ सय ४८ रुपैयाँ छ भने पुँजीगत तर्फ ६२ लाख ६८ हजार बढी खर्च भएको बताए  । नगरपालिकाले१ अर्ब ३० करोड २१ लाख बढी रकम खर्च गरेको फेहरिस्ता सुनाए  ।
जेनजी आन्दोलनको कारण परेको प्रभाव, संघीय सरकारको निर्देशन बमोजिम आर्थिक वर्ष २०८२÷०८३ का लागि तय गरिएको बजेटमा १० प्रतिशत कट्टा गरी योजना ÷ कार्यक्रम संचालन गरिएको बताए  ।

Author

You may also like