दमक/ नेपाल कृषि प्रधान मुलुक भए पनि वर्षेनी खाद्यबस्तु र तरकारीको आयातमा उच्च वृद्धी भई रहेको छ । ठुलो खेती र बारी नचाहिने करेसाबारी, कौशी र गमलामा समेत घरायसी उत्पादन गर्न सकिने लसुन, प्याज लगायतमा बालीमा पनि नेपाल आत्मनिर्भर हुन सकेको छैन । यस वर्ष प्याजको आयात भने उच्च बृद्धी भएको छ । तर लसुनको आयातमा केहि गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को ९ महिनामा नेपालमा आलु र प्याज आयात उच्च वृद्धि भएको छ । साउनदेखि चैतसम्म १२ अर्ब ८७ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको ४ लाख ३४ हजार ३ सय ५८ टन आलु र प्याज आयात भएको छ । गत आव २०८१÷८२ सोही अवधिमा ९ अर्ब १५ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबर ३ लाख १२ हजार ९ सय ३ टन आलु र प्याज भित्रिएको थियो । गत वर्ष आलु र प्याज आयातबाट १ अर्ब ७४ करोड ९७ लाख बराबर राजस्व संकलन भएकोमा यस वर्ष १ अर्ब २२ करोड ४१ लाख संकलन भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु वर्ष ९ महिनामा ७ अर्ब ८ करोड ११ लाख ६५ हजार बराबर २ लाख ९२ हजार ९ सय ३५ टन आलु आयात भएको छ । गत वर्ष सोही अवधिमा ६ अर्ब २ करोड ९१ लाख ३६ हजार बराबरको २ लाख ३९ हजार ५ सय ५७ टन आलु आयात भएको थियो । यसरी आलु आयात परिमाण ५३ हजार टनभन्दा धेरैले बढेको छ ।
यहि अवधीमा मा नेपालमा लसुन आयात ७० प्रतिशतले घटेको छ । गत आव साढे ६ अर्ब रुपैयाँ नजिक लसुन आयात भएकोमा यस वर्ष परिमाण र मूल्य दुवैमा करिब ७० प्रतिशतको संकुचन देखिएको हो । चालु वर्ष ९ महिनामा नेपालमा भारत र चीनबाट १ अर्ब ९८ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको जम्मा १४ हजार ४ सय ६५ टन ताजा लसुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आव २०८१÷८२ सोही अवधिमा नेपालमा भारत र चीनबाट ६ अर्ब ४५ करोड ८ लाख ३९ हजार बराबर ४९ हजार ११ टन लसुन भित्रिएको थियो ।
विद्युतीय गाडीको आयात घट्यो विद्युतीय गाडीको आयात घटेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा झन्डै १० प्रतिशतले गिरावट आएको हो । गत वर्ष ९ महिनामा ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ । चालु आवमा कुल १६ अर्ब ६६ करोड बरारबरको विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजश्व पाएको छ ।
चालु आ.व.मा ५० किलोवाटसम्मका २५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४०८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५ सय ७४ र २०१ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् । चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको छ । ९ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म कुल २ हजार ७४२ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । पछिल्लो समय इन्धन संकट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ ।