दमकका १० वटा मध्ये अहिलेसम्म एउटा वडा मात्र बालमैत्री वडा घोषणा भएको छ । त्यो घोषणा भएको एक वर्ष पुगिसकेको छ तर अन्य वडाहरु घोषणा हुन ढिला भइरहेको अवस्थामा चर्चा परिचर्चा हुन थालेको छ ।
बालमैत्री घोषणा गरिएको वडा हो वडा नं. ५ । जहाँ कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित नभएको जिकिर वडाअध्यक्ष इन्द्रबहादुर गुरुङको छ । उनले बालश्रममा पनि कुनै बालबालिका प्रयोग नभएको र बाल अधिकारका लागि सुरक्षित ढंगले काम भईरहेको बताउँछन् । वडाका सबै निजी तथा सामुदायीक विद्यालयहरुमा बाल क्लव गठन, वडा बाल सञ्जाल सकृय गराउँदै टोल स्तरमा पनि बालबालिकासग सम्बन्धित कार्यक्रम भईरहेको र बालबालिकाको क्षमता विकास गराउने अधिकतम कामहरु भएको वडा बाल सञ्जाल दमक ५ का सचिव दिवस वाग्ले बताउँछन् । वडामा प्रवेश गर्नेवित्तिकै बालमैत्री वडाको पहिचान होस भनेर बालमैत्री झल्किने सन्देशसहितका होर्डिङ बोर्ड सार्वजनिक स्थानमा राखिएका छन् ।
बालबालिकाको आधारभूत अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्र संघको महासभाबाट बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ नोभेम्बर २० मा पारित भयो । जसलाई नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरी आफ्नो प्रतिबद्धता जनायो । २०७२ सालमा जारी भएको नेपालको संविधानले पनि पहिलोपटक बाल अधिकारलाई मौलिक हकको रूपमा अंिगकार गरेको छ । यस क्षेत्रमा थप गतिशील र अपेक्षाकृत उपलब्धि हासिल गरी बालबालिकाको मुद्धालाई शासकीय संरचानामा संस्थागत गर्ने बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ कार्यान्वयनमा ल्याएको छ ।
वडा वा पालिकालाई बालमैत्री घोषणाका सूचकहरु धेरै छन् । बालमैत्री स्थानीय शासनका सूचक र आधारभुत सूचकहरु धेरै हुन्छन जहाँ बच्चा जन्मनु अगाडिदेखि गर्भवती महिलाको चेकजाँचदेखि बालक्लब गठन हुँदै उनीहरुलाई विभिन्न कार्यक्रममा सहभागिताको पहुँचसम्मका कुराहरु समेटिएका हुन्छन । बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत विकास, बाल बचाउलगायतका धेरै सुचकहरु सबै पार गरेपछि मात्र बालमैत्री घोषणाको विन्दुमा पुग्ने हुँदा यो काम निकै सोचेजस्तो सहज भने देखिन्दैन । केही वडाहरु सहज होलान जहाँको समाज सुसंस्कृति छ, जहाँका बालकालिकाहरु कुलतमा फसेका छैनन, जहाँका अभिभावकहरु शिक्षित छन भने त्यस्ता स्थानहरुमा त्यति कठिन हुँदैन तर दूव्र्यसनीमा फसेका, अन्धविश्वास भएका वा कुसंस्कार र कुरीति बोकेका वडाहरुमा यो निकै असहज बन्ने गरेको छ । यद्यपि कतिपय स्थानमा बालमैत्री घोषणा गरेपछि अलि बढी जिम्मेवारीसाथ बालबालिका सुधार्ने आधार पनि तयार हुन्छ भनेर बालमैत्री घोषणा गरिएका छन् ।
सोही क्रममा दमक नगरपालिकाका १० वटा वडामध्ये एउटा वडा बालमैत्री भईसकेको, यहि आर्थिक वर्षमा अन्य थप ३ वटा र बाँकी ६ वटा वडा अर्को आर्थिक वर्षमा बालमैत्री घोषणा गरेर सिंगो नगरपालिका बालमैत्री हुने दमक नगरप्रमुखको प्रतिबद्धता रहेको छ । तर, कार्यान्वयन पक्ष ढिला भइरहेको प्रति गुनासो बढिरहेको अवस्थामा जतिसक्दो चाँडो दमकका सबै वडाहरु बालमैत्री घोषणा गरेर बालहितका लागि कार्यक्रम अघि बढाउन आवश्यक छ ।