हामी भूइ मान्छेहरु
सामाजिक, धार्मिक अनेक प्रकारका
रुप, रङ्ग मिलेका मान्छेहरु
कर्ममा बिश्वास गर्ने कर्मयोगी
अरुको पीडा बुझ्ने अनि सहयोगी भावना भएका
हामी भूइ मान्छेहरु
आज
चेतन, अर्धचेतन, अचेतन अवस्थाका भएका छौँ
बुझ्न सके मान्छे एक महान हो
बुझ्न नसके मान्छे एक भयानक समस्या हो
कहीं गाइरहेको हुन्छ
कहीं चिच्याइरहेको देखिन्छ
कतै अल्मलिइ रहएको देखिन्छ भने
कतै छटपटाइरहेको देखिन्छ
वास्तवमा मान्छे जो हो उ जादुगर हो
कहिले सज्जन बन्छ भने
कहिले दुर्जन र निर्दयी बन्छ
यही विविध रुप र धारणले गर्दा
मान्छे क्रुर बन्दैछ
रकमका लागि ज्यान मार्न उद्दत छ
हिजो मान्छे , मान्छे थियो
आज मान्छे , मान्छे हुन सकेन
एकले अर्कोलाई लडाएर अघि बढदैछ
न अगाडि हेर्छ न पछाडि हेर्छ
उसलाई आनन्द आनन्दै चाहिन्छ
दुःख गर्न जान्दैन
सुख सुखैमा जीवन गुजार्न चाहन्छ
रकमका लागि आफ्ना मान्छे चिन्दैन लडाउछ , पछार्छ
उसको मन गम्भीर , व्यापक र जटिल छ
अन्धभक्त छ , एक सुर र तालको छ
मानौ कि
उ एक इन्जिन हो , तराजु हो , ढक पल्ला हो
सबैलाई त्यही तौलमा राखेर जोख्छ
त्यसैले
हामी भुइ मान्छेहरु
आज मान्छे भएनौ
एकलब्य भयौ
मै खाउ मै लाउ
सुखसयल , मोजमस्ति मै गरौं भनेजस्तै भयौ
हामी भुइ मान्छेहरू
आज मान्छे भएनौ
हामी भुइ मान्छेहरु
पटक्कै
आज मान्छे भएनौ
आज मान्छे भएनौ ……………………………….???
हो जीवन एक रङ्गमन्च र खहरे खोला हो जो निरन्तर रुपमा बगिरहन्छ । जीवनमा दुःखपछिका सुखद स्मृति जीवन रहेसम्म चलिरहन्छ । यो एउटा शाश्वत पक्ष हो । आज मान्छे – मान्छेहरु निजी स्वार्थहरु रङ्गपछिको बेरङ्ग भएर गन्तव्यबिहिन यात्रामा एकल यात्री भएर सही दिशामा नबढेको हुनाले उनीहरू आज मानव होइन दानवमा रुपान्तरित भएका छन । यतिमात्र होइन बेथिति र बिसङ्गतिलाइ अङ्गालेर अनेक झुण्ड तयार गरेर आफ्नो गरिमालाइ सस्तोमा बजारीकरण गर्दैछ । उसको मगजमा सकारात्मक चिन्तन भने पटक्कै पाइन्न । के गरेर अर्कालाई फसाऔ, लडाऔ, उठ्नै नदिऔ भन्ने दाउपेचमा छ, आजका भुइ मान्छेहरु । आजका मान्छेहरू अरुको सफलता र प्रगति देखेर डाह गर्नमै समय बिताइरहेको छ । त्यो सफलता पछाडि कति संघर्ष थियो भन्ने कुरा बुझ्दै – बुझ्दैनन । हामीहरु मान्छेको जीवनलाई सेकेण्ड – सेकेण्डमा बाँढेर अन्ततः टुक्र्याई रहेछौं । लक्ष्य शून्यताको चक्करमा बाटुला घडीहरुको सुइका यात्रामा समय ब्यतित गरिरहेछौ, हामी भुइँ मान्छेहरू । मान्छेको कुसाग्रबुद्धि भएको मगजमा कुनै पनि रचनात्मक भूमिका भने रहेको देखिन्न । बरु फुर्सद्को समयमा कुनै रचनात्मक काम गरौं भन्दा आलटाल गर्ने, समय त्यसै खेर फाल्ने, तासजुवा खेल्ने, अर्कालाई ठग्ने प्रवृत्ति आजका भुइँ मान्छेहरुको हुलमा छ । काम गर्न छोडेर बिहानदेखि बेलुकीको समयसम्म उसको दिनचर्या खुरापाती दिमागमा नकारात्मक सोच भरिदिएर उसलाई अझै उकासेर तल झार्ने अनि आफू चोखो हुने प्रवृत्ति बढदो छ , हिजोआज । “ म कुटेजस्स्तो गर्छु त रोएजस्तो गर्नु “ भन्ने झुण्डहरुको बाहुल्यता छ जो अहिलेपनि मिलाउ खाउ भन्नेमै यी झुण्डहरु तयार रहेर यत्रतत्र सर्वत्र झाङ्गिएका छन । अब छातीमा हात राखेर भनौ कि भुइ मान्छेहरुको समूहमा असली र नक्कली भुइ मान्छे चिन्ने कसरी ? जीवनमा संवेदना र भावना हरेक जिउँदो मान्छेहरुको कर्तव्यभित्र पर्दछन । तर यी सबैलाई “ ललिपप “ खुवाइदिएको छ, भुइ मान्छेहरूको दलगत राजनीतिक स्वार्थी प्रवृत्तिले । मानव जीवन न हो उसले एकदिन यो भौतिक शरीर छोडेर सदाका लागि बिदा हुनैपर्छ भन्ने सम्म सोच्दैन यो करोडौंको जीवन ब्यतित गर्ने भुइ मान्छेले । आजको आधुनिक भुइ मान्छेहरू आज मान्छे हुनै सकेन । उसको दिमाग गोलमाल छ पक्षिमी संस्कृतिले दिमाग लिलाम गरिदिएको छ । यतिसम्म लाचारी बनाएको छ कि उसको मगजमा शून्यता बोध छ उ सच्चिएन भने मान्छे हुनै सक्दैन । आज यही भएर होला आजको आधुनिक मान्छे भुइ मान्छे हुन सकेकै छैन यसैकारणले उसलाई भुइ मान्छे बनाउन हामी सचेत र सजग कलमीहरु एकजुट बनौ अनिमात्र भुइ मान्छेहरु मान्छे हुनेछन । सकारात्मक कुरा गर्नेछन मनभित्रको मैलो सफा गर्नेछन । जनजनमा उज्यालो दीप सल्काएर असल मान्छे बनाउन उद्दत हुनेछन ।