अविरल वर्षाले कृषिमा पुर्याएको क्षति र बाटो बन्द नै मूल्यबृद्धिको कारक : तरकारी बजार व्यवस्थापन समिति दमक अध्यक्ष, कुमार श्रेष्ठ

दमक/ अप्रत्यासित रुपमा तरकारीजन्य वस्तुमा अत्याधिक मूल्य बृद्धिले उपभोक्ताहरुले खरिद गर्न चर्को मूल्य चुकाईरहेका छन् । सीमित स्रोत र साधनबाट चल्दै गरेका उपभोक्ताका लागि तरकारीजन्य वस्तुमा बढेको मूल्य चिन्ता र चासोको विषय बनेको छ ।
तरकारीको मूल्यमा आएको बृद्धि उनीहरुको चुल्होचौकामा समेत असर पारिरहेको छ । दशैंको मुखमा यसरी मूल्य बृद्धि हुनुमा कालोबजारी गरिरहेको उपभोक्ताको आरोपलाई व्यापारी भने स्वीकार्न तयारी छैनन । उनीहरु समय र परिस्थितिको मूल्याङ्कन गरेर आशंका र आक्रोस पोख्दा राम्रो हुने सुझाव समेत दिन्छन् ।
स्थानीय उत्पादन नभएको र बाहिरकै तरकारीमा निर्भर हुँदा मूल्य बढेको दमकस्थित तरकारी बजार व्यवस्थापनका अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् । उनले विगत वर्षहरुमा पनि झरि परेपछि र चाडपर्वको मुखमा भाउ बढेरै आउने गरेको स्मरण गराउँदै सोही अनुरुप नै यस पटक पनि केही तरकारीको मूल्य बढेको स्वीकार गरे उनी भन्छन– खास गरेर बजार क्षेत्रमा गरेर खाने भन्दा किनेर खाने उपभोक्ता बढी भएकोले पनि बजार मूल्यमा उतारचढाव आइरहने उनले बताए । दशैंको मुखमा आएर यो विषम परिस्थितिमा नगरबासीलाई महँगोमा सामान बेच्ने मनसाय हाम्रो नभएको र हामीले खरिद गरेकोमा केही प्रतिशत मुनाफा राखेर विक्री वितरण भईरहेको श्रेष्ठको भनाई छ । उनले खासगरेर अहिले बाढीले तरकारीजन्य उत्बपादनलाई ठूलो क्षति पुर्याएको छ । स्थानीय रुपमा आउने तरकारीहरु ठप्प भएको र धनकुटा, भोजपुर, इलाम, इनरुवाको भरमा तरकारी सर्वसाधारणलाई धान्नुपर्ने अवस्थाले पनि तरकारी महँगो भएको उनले सुनाए ।

कहिले काँही माग बढी हुँदा काठमाडौंबाट समेत कोपी, टमटर ल्याउने गरेको उनले बताए । श्रेष्ठका अनुसार प्याज, टमाटर, भुटानी आलुलगायतमा मूल्य बढेको स्वीकार गरे । उनका अनुसार अकबरे खोर्सानी सय रुपैयाँ पावा ४ सय रुपैयाँ, फुलकोभी १६०, बन्दा कोभी ६०, फर्सी किलोको ५०, कांक्रो लोकल ६०, पहाडी ८०, स्कुस ३०, सिमी ३२० इत्यादि मूल्य रहेको पनि उल्लेख गरे ।

अघिल्लो हप्ताको भन्दा यो हप्ता झण्डै दोब्बर तरकारीजन्य वस्तुको मूल्य बढेको व्यापारीहरु बताउँछन् । दमक २ का निमेस माझीका अनुसार ५ दिन अगाडि ५०/६० मा पाइने काँक्रो सय, तितेकरेला १२०, आलु ९०, प्याज १२० भएको उनले सुनाए । तर दमक ६ का विकास चौधरी भने तरकारीजन्य वस्तुको बजार भाउ बढेको स्वीकार्न तयार छैनन । उनी भन्छन– २ महिनादेखि एउटै भाउमा मैले बेचिरहेको छु, कहाँ बढेको छ भन्दै प्रतिप्रश्न गर्छन । उनी भन्छन– आलु, प्याज, टमाटरलगायत केही सामानमा अलि अलि बढेको छ तर अरु २ महिनादेखि एउटै मूल्यमा बिक्रीवितरण भईरहेको छ । भाउ बढाए पछि कसले किन्ने र बढाउनु उनी भन्छन ।
यस्तै दमक २ का पर्शुराम दाहाल पनि तरकारीको मूल्यमा केही उतारचढाव आएको बताउँछन् । उनले पनि अहिलेको परिस्थितिका कारणले बढेको बताए । के परिस्थिति भन्ने सन्दर्भमा उनले तरकारी उत्पादनमा बाढीले गरेको क्षति नै प्रमुख रहेको बताए । बाढीले क्षति नगरेको भए केही मात्रामा यहाँको माग स्थानीय उत्पादनले ओगट्ने र महँगो नहुने उनको तर्क छ ।
अविरल वर्षाले कृषिमा पुर्याएको क्षति र बाटो बन्द नै मूल्यबृद्धिको कारक : तरकारी बजार व्यवस्थापन समिति दमक अध्यक्ष, कुमार श्रेष्ठ

हरियो सब्जी हरेक दिन ३० क्वीन्टलको हाराहारीमा आउने गरेको व्यवस्थापन समितका अध्यक्ष श्रेष्ठले बताए । उनले १ लाख केजी सब्जीको दैनिक व्यापार हुने तर त्यो दमकमा मात्र नभएर गौरीगञ्ज, कन्काईमाई यता, उत्तरी भेग, पथरी, मधुमल्ला, केराबारीसम्मका व्यापारीले यहीबाट लगेर व्यापार गरिरहेको उनी बताउँछन । त्यसरी व्यापार हुँदा दैनिक १ लाख केजीसम्मको व्यापार हुने गरेको तर व्यापारबाट दैनिक वा मासिक रुपमा यति नै रकम हुन्छ भन्ने ठ्याक्कै डाटा भने नभएको उनले बताए ।
उनले दशैंको सम्मुखमा सब्जीको भाउ बढ्दो भनेर हतोत्साहित नहुन उपभोक्तालाई आग्रह समेत गरे । उनले भने यतिखेर देश नै विषयम परिस्थितिमा छ । उत्पादन छैन । बरु सकिन्छ भने बेमौसममा उत्पादन हुने तरकारी खेति गर्न र यहाँका उत्पादन हामीलाई दिएर सहज, सरल र स्थानीय उत्पादन बजारमा ल्याउन आग्रह समेत गरे र उनले भने( केही किसानहरुले लगाएको तरकारी बाढीले बगाईदिएको छ । यद्यपि अझै पनि हामी हतोत्साहित नभईकन अलि उच्च जग्गा वा कौसी खेती गरेर पनि स्थानीय उत्पादन बढाउन सकिने भएकोले त्यसतर्फ आम उपभोक्ता तथा कृषकहरुलाई सोच्न उनले आग्रह गरे ।
बजारको बिस्तृत विवरण नै राख्न नसक्ने समितिले गर्छ चै के भन्ने प्रश्नमा उनले भने( बजारको व्यवस्थापनको काम भएको, हिलो र धुलो हुने ठाउँको व्यवस्थापन भएको, माथि टिन हाल्ने काम गरेर व्यापारीहरुलाई सहज ढंगबाट व्यापार गर्ने वातावरण मिलाएको बताउँछन् । २ सय स्टल रहेको सो बजार नगरपालिकालाई प्रति स्टल २ हजारका दरले भाडा दिने गरेको पनि उनले बताए । उनले व्यापारीहरुमा आएका समस्या समाधान गर्दै व्यापारीको हितको लागि समितिको क्षेत्राधिकारभित्रको संरचनाको स्याहारसम्भार गर्ने नै समितिको मूल काम भएको उनले बताए ।
यतिखेर तरकारीजन्य वस्तु मात्र नभएर हरेक वस्तुको मूल्यमा आएको बृद्धिले उपभोक्तालाई चिन्तित तुल्याएको छ ।
काला बजारिया व्यापारीहरूले चाडपर्वको मुखमा दैनिक उपभोग्य खाद्यान्न र लत्ता कपडामा चरम मूल्यबृद्धि गरेर उपभोक्तालाई मारमा पार्ने काम गरिरहेका छन् । चिनी, दाल, चामल, गेडागु्डी र घ्यू, तेलमा मनपरी मूल्य वृद्धि र कृत्रिम अभावको सिर्जना गरेर जनतालाई प्रताडित बनाउने काम गरेका छन् । यस वर्ष पनि सबैभन्दा धेरै तरकारी र तेलमा मूल्यबृद्धि गरेको उपभोक्ताहरुको गुनासो छ ।