देश–समाज राजनीति विचार/वहस स्थानीय

कम्युनिष्ट विभाजन र एकताको चक्रिय श्रृंखला

:- विमल लामिछाने -:
नेपालको कम्युनिष्ट आन्दोलनले विभाजन र एकताको लामो चक्रिय श्रृंखला पार गर्दै आएको पाइन्छ । विगत केही दशकदेखि जारी विभाजन र पुनर्गठनको लामो यात्रापछि पुनः एकताको एउटा निर्णायक मोडमा पुगेको छ ।
एकातिर एमालेले आफूबाट छुट्टीएर बाहिरिएका नेता कार्यकर्तालाई घर फर्किन अपिल गरिसकेको छ भने अर्कोतिर माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) लगायतका आठ दलबीच बृहत एकता प्रक्रियाले मुलुकको राजनीतिक वृत्तमा नया तरंग पैदा भएको छ ।
जनयुद्धका सुप्रिम कमाण्डर तथा कम्युनिष्ट डायनामिक लिडरको रुपमा एक समय विश्वको ध्यान खिच्न सफल भएका पपुलर नेता लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा १६ कात्तिकमा सम्पन्न बैठकले १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै १९ कात्तिकमा औपचारिक रूपमा नयाँ एकीकृत पार्टी घोषणा गर्ने तयारी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सह–संयोजक बन्ने सहमति छ ।

वैचारिक एकता र माक्र्सवादबारे ब्याख्याः
यस एकता प्रक्रियाको केन्द्रमा माक्र्सवाद–लेनिनवाद र नेपाली सन्दर्भअनुकूल वैज्ञानिक समाजवाद रहेको छ । दलहरूले पुरानो पार्टी विघटन गरी सामूहिक नेतृत्व निर्माण गर्ने ऐतिहासिक संकल्प व्यक्त गरेका छन् ।
जसरी राजनीतिक वृत्तमा विभिन्न आलोचनात्मक टिका टिप्पणी पनि भइरहेको छ, तर यो केवल संगठनात्मक एकतामात्र होइन । वैचारिक पुनर्निर्माण पनि हो । माक्र्सवादलाई नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुधार्मिक संरचनासँग जोड्दै वर्ग, जाति र क्षेत्रीय असमानताको अन्त्यलाई प्राथमिकता दिने दृष्टिकोण प्रस्तुत गरिएको छ । माक्र्सवादलाई पुस्ता–सापेक्ष बनाउने र २१औँ शताब्दीको प्रविधिसँग जोड्ने प्रयास हो ।

जेन–जी विद्रोहको प्रभावः
हालैको जेन–जी विद्रोहले नेपालको राजनीतिक समीकरणलाई हल्लाएकोमात्र थिएन, राजनीतिक नया समिकरणको माग परि गरेको छ । भ्रष्टाचार, परिवारवाद र सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध लाखौँ युवाको सडक आन्दोलनपछि तत्कालीन सरकार ढलेको थियो । त्यसयता, प्रत्यक्ष कार्यकारी प्रणालीको माग राजनीतिक एजेन्डाको केन्द्रमा छ ।
कम्युनिस्ट एकता प्रक्रियामा सहभागी दलहरूले पनि राजनीतिक स्थायित्व र सुशासनका लागि प्रत्यक्ष कार्यकारी प्रमुख प्रणालीको समर्थन जनाएका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रले त यस अघि नै यो मुद्धालाई प्रमुख माग बनाएर आएको भएपनि नेपाली काँग्रेस र एमालेको समर्थन नपाउँदा सदनमा अल्पमलमा परेको थियो । यतिवेला यो मागलाई क्रान्तिकारी आन्दोलन र संवैधानिक संसोधनबीचको संक्रमण मोडको रूपमा व्याख्या गर्न सकिन्छ ।

भूराजनीति र बाहिरी प्रभावः
एकताको अर्को पृष्ठभूमि विश्व राजनीतिमा भइरहेको शक्ति पुनर्संरचना हो । विभिन्न राजनीतिक विश्लेष्कहरुको तर्क अनुसार विशेष गरेर छिमेकी मुलुक भारत र चीनको व्यापार युद्ध, एनजीओ आइएनजीओ मार्फत अन्य ठूला देशहरुको गुगल नेटवर्क र साइवरएपको ब्यपारिक स्थल र साइवर स्लो पोइजनको प्रयोग जस्ता हस्तक्षेप, सामाजिक विद्रोह र विभिन्न माध्यमबाट भइरहेको विदेशी हस्तक्षेपको घेराबन्दीबीच नेपाल पनि संवेदनशील भूराजनीतिक क्षेत्र बनेको छ । यही अवस्थाले राष्ट्रिय आत्मनिर्भरता, उत्पादनमुखी अर्थतन्त्र र वैज्ञानिक समाजवाद तर्फको छलफललाई तीव्र बनाएको हो ।

नयाँ वैज्ञानिक समाजवादको अवधारणाः
पार्टी एकताको दीर्घकालीन लक्ष्य २१औँ शताब्दीको वैज्ञानिक समाजवाद हो । यसको केन्द्रमा सुशासन, सामाजिक न्याय र समृद्धी रहन्छ । माओवादी आन्दोलनले अघि सारेको २१औँ शताब्दीको जनवादलाई व्यवहारमा उतार्दै नयाँ समाजवादी मोडेल विकास गर्ने प्रयासको कोशेढुंगाको रुपमा पनि यो बहुदलविचको एकतालाई लिनुपर्नेहुन्छ । यो एकताकै जगमा वैज्ञानिक समाजवादको नयाँ स्वरूपले दलाल पुँजीवादको विकल्प मात्र होइन, लोकतान्त्रिक र सामुदायिक अर्थतन्त्रबीचको समायोजन मोडेल पनि तयर गर्ने सूत्रधारको रुपमा भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी छ ।

विभाजन र एकताको चक्रिय श्रृखलाः
सशस्त्र संघर्षको दस वर्षको अवधिमा पार्टीभित्र अन्तरसंघर्ष चर्किए पनि पार्टी टुटफुट भएन । सशस्त्र संघर्षका बेला तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा.बाबुराम भट्टराई, रामबहादुर थापाबीच अन्तरसंघर्ष भए पनि पार्टी एकढिक्का हुँदै २०६३ मा प्रतिस्पर्धात्मक राजीतिमा आयो । संविधानसभामार्फत संविधान निर्माण र माओवादी ‘जनसेना समायोजन’ अघि बढेपछि तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा माओवादी पहिलो पटक विभाजन भएको थियो ।
२०४५ सालदेखि दाहालको नेतृत्वमा रहेको पार्टी औपचारिक रूपमा २०६९ असारमा विभाजन भएको थियो । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले संस्थापनको संविधान निर्माण र शान्ति प्रक्रियाप्रति असमति जनविद्रोहको नीति लिँदै क्रान्तिकारी माओवादी गठन गरेका थिए । हाल वैद्यले महासचिव छाडेर वरिष्ठ नेता सीपी गजुरेललाई नेतृत्व सुम्पेका छन् । माओवादीमा आएको यो नै सबैभन्दा ठूलो विभाजन थियो ।
शान्ति प्रक्रियामा आएपछि २०५१ मा छुटेर गएको नेकपा एकता केन्द्र माओवादीमा मिसियो । तत्कालीन महासचिव निर्मल लामाको नेतृत्वमा नेकपा एकता केन्द्र विभाजन भएको थियो भने पुष्पकमल दाहाल नेतृत्वमा माओवादी गठन भयो ।
२०५१ असारमा नेकपा (एकता केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामा समूह अलग भएको थियो । माओवादी सशस्त्र संघर्ष सुरु गर्ने नीतिप्रति असमति जनाउँदै एकता केन्द्र शान्तिपूर्ण बाटोमा अघि बढ्यो । दसवर्षे सशस्त्र संघर्ष बिसाएपछि माओवादी र नेकपा एकता केन्द्र मसालबीच एकता सम्भव भयो ।
२०६५ पुसमा नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता भएको थियो । त्यसबेला पार्टीको नाम एकीकृत नेकपा (माओवादी) र नेकपा एमालेबीच २०७५ जेठमा एकता भएपछि माओवादीले नाम र माओवाद छाडेको थियो । तर सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको मुद्दामा एमाले र माओवादी अलग गरेपछि माओवादी पुरानै पथमा फर्किएको थियो ।
२०६९ मा मूल माओवादीबाट वैद्यतिर लागेका नेताहरू रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसालले २०७३ जेठमा माओवादीमै फर्केपछि नेकपा (माओवादी केन्द्र) राख्ने निर्णय भएको थियो । थापाले २०७३ जेठमा क्रान्तिकारी माओवादी फुटाएर माओवादीको मूल धार समातेका थिए ।
वैद्य माओवादीले जनविद्रोहको नीति कार्यान्वयन हुन नसकेपछि नेत्रविक्रम चन्द विप्लवले ०७१ मंसिरमा पार्टी विभाजन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए ।

सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको र २०६४ सालमा सबभन्दा ठूलो दल बनेको माओवादी अनेकौं टुटफुटपछि गएको आम निर्वाचनमा तेस्रो दलमा खुम्चिएको थियो । त्यस्तै माओवादी जनयुद्धकै प्रभावशाली नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति, जसपा हुँदै नेसपा (नयाँ शक्ति) बनाएका थिए । पछिल्लो समय नेतृत्व पनि दुर्गा सोबलाई हस्तान्तरण गरेर मुक्त छन् ।
माओवादी आन्दोलनबाटै आएकाहरू पनि साना गुट र उपगुटमा सीमित छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा धर्मेन्द्र बास्तोला महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा आहुति महासचिव, आम जनता पार्टीमा प्रभु साह अध्यक्ष छन् । माओवादी कम्युनिस्ट पार्टीमा रामनारायण पाल महासचिव छन् । माओवादीका नाममा अरु दल पनि निर्वाचन आयोगमा दर्ता छन् ।
पछिल्लो एकता प्रक्रियाप्रति असमति जनाउँदै माओवादी केन्द्रका सचिवालय सदस्य जनार्दन शर्मा र राम कार्कीले अर्को अभियान सुरु गरेका छन् । योसँगै माओवादीको इतिहास जुट्ने र फुट्नेमा अरुभन्दा अब्बल नै देखिन्छ ।

हौसलाविचको चुनौति ः
नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै एकताभन्दा विभाजनका कारण चिनिएको छ । २०७५ सालको नेकपा विघटनपछिको अविश्वास अझै जनतामाझ बाँकी नै छ । अबको मुख्य चुनौती यो नयाँ एकता वास्तवमा वैचारिक पुनर्जागरणको रुपमा आम नागरिकसम्म पर्याउन सक्ने वा राजनीतिक सम्झौता मात्रमा सिमित गर्ने भन्ने विषय एकिकृत दलका नेताहरुको मुख्य चुनौतिको विषय हो ।

निष्कर्षः
मुलुकमा बढ्दो कुशासन तथा भ्रष्टाचारले समाज आक्रान्त बन्दै गएका बेला वाम धु्रवीकरणपछि बन्ने पार्टीले लिने नीति, कार्यक्रम र कार्यदिशाका आधारमा उनीहरूलाई जनताले कति साथ देलान भन्ने भर पर्छ । यदि दलहरूले नागरिकको जनजीवनमा परिवर्तन ल्याउने व्यवहारिक नीति अपनाउन सके भने यो एकता नेपालको वाम आन्दोलनका लागि नयाँ अध्याय बन्न सक्छ ।

Author

You may also like