:- यज्ञप्रसाद भट्टराई -:
नेपालको राजनीति अहिले अत्यन्तै तरल अवस्थामा रहेको छ । जेन्जी भाईबहिनीहरुको आडमा देशलाई असफल बनाउन उद्यत केहि ब्यक्तिहरुको हुलले पुर्याएको क्षतिले सिंगो देश ध्वस्त मात्रै भएको छैन, जनतामा अन्यौलता र असुरक्षा समेत बढाएको छ । देश बिकासको लक्ष लिएर स्थापना भएका राजनीतिक दलहरुको गलत कृयाकलाहरुका कारण आज आम नागरिकहरुले राजनीतिक दलहरुलाई हेर्ने नजरियामा समेत परिवर्तन आएको छ ।
नेपालको राजनीति अहिले पनि बिदेशीको ईशारामा नै चलिरहेको देखिन्छ । बिगतमा ढिंडो र सिस्नु खाएर जोगाएको राष्टिूय स्वाधिनता र राष्टिूय सम्पदा तहशनहश बनाईएको छ । क्षणिक लाभहानी हेरेर र हटियामा राखेको बस्तुको बजारभाउ हेरेर राजनीतिक मुद्धा बनाउने नयाँ युगका चकलेटी नेताहरुको पदलोलुपताका कारण नवयुवाहरुमा राजनीति प्रति नै बितृष्णा पैदा हुँदै गैरेहेको देखिन्छ ।
नेपाली राजनीतिको मियोको रुपमा रहेको नेपाली कांग्रेस पनि अहिले अत्यन्तै ठूलो अलमलमा रहेको देखिन्छ । आशालाग्दा युवा नेताहरुको दोहोरो चरित्रले नेपाली कांग्रेसमा भविष्य देखेका नवयुवाहरु समेत बिस्तारै अन्यत्रै बसाईसर्न सक्ने संभावना बढेर गैरहेको देखिन्छ । अप्ठ्यारोमा आफन्त चिनिन्छ भन्ने नेपाली भनाई अहिले नेपाली काग्रेसभित्र चरितार्थ हुँदै गैरहेको छ ।
अहिले सिंगो नेपाली कांग्रेस पार्टी संकटमा छ, पार्टीका अधिकांश नेताहरु असुरक्षित छन्, पार्टीका अधिकांश नेताहरुका भौतिक सम्पत्ति तहशनहश बनाईएको छ । पार्टी सभापति दम्पत्तिलाई सांघातिक आक्रमण गरिएको छ । देशभरिका अधिकांश पार्टी कार्यालयहरु जलाईएका छन्, तोडफोड गरिएका छन्, खरानीबाट माथि उठने उद्घोष गरे पनि अवस्था अझै पनि त्यति सहज बन्न सकेको छैन । देशकै सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टीलाई तहशनहश बनाएर लोकतान्त्रिक ब्यवस्था मरणासन्न अवस्थामा पुर्याईएको छ ।
कानुनी राज्यको अवधारणा पूर्णरुपमा समाप्तीको दीशातर्फ उन्मूख बन्दैछ । देशको राजनीति छाडातन्त्र र मनपरितन्त्रकको उपल्लो तहमा पुगेको अवस्थामा नेपाली कांग्रेस एकढिक्का भएर थप शक्ति आर्जन गर्दै अन्य राजनीतिक दलहरुलाई समेत लोकतन्त्रको मार्गमा सदैब अडिग राख्दै बृहद राजनीतिक एकताको शंदेस दिनुपर्ने बेलामा आफै भित्र काटाकाट र मारामारको अवस्था सृजना गर्नु संयोग मात्रै हो या नियोजित आक्रमण हो ? छुट्याउन सकिरहेको अवस्था छैन ।
हिलोमा नै कमल फुल्छ भनेझै अहिले सिंगो देश र नेपाली कांग्रेसमा आईपरेको समस्याबाट सिंगो देश र नेपाली कांग्रेसलाई जोगाउन र नेपाली जनताको भावना र चाहना अनुरुपको नेपाली कांग्रेस बनाउन डा. शेखर कोईराला सकृयताका साथ लागिरहेका देखिन्छन् । एकातर्फ सामाजिक सञ्जालमा पार्टीभित्रका आक्रोसित युवाहरुबाट पार्टीका उपल्लो नेतृत्व माथिको निरन्तरको प्रहार र अर्कोतर्फ फुटको संघारमा पुगेको नेपाली कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पार्टीको अस्तित्व रक्षा कसरी गर्ने ? भन्ने चिन्ताले उमेरले सत्तरी काटेका नेता कोईरालालाई चालिस बर्षको युवा झै कृयाशिल हुन बाध्य पारिरहेको देखिन्छ ।
यस्तो लाग्छ सत्तरी काटेका शेखरलाई नेपाली कांग्रेस जोगाउने चटारो छ । पार्टी भित्र स्वार्थको रोटी सेक्नेहरुको बाहुल्यता बढदै गएपछि ईमान्दार कार्यकर्ताहरुमा छाएको निराशालाई आशामा परिणत गराउन पनि त्यति सजिलो छैन । यीसब समस्याका बावजुत कांग्रेस बरिष्ठ नेता डा. शेखर कोईरालाले अत्यन्तै सुझबुझका साथ पार्टीलाई एकताबद्ध बनाएर लैजान नयाँ मध्यमार्गी बाटो अपनाएका छन् त्यो हो मध्याबधि निर्वाचन अगावै पार्टीको नियमित महाधिबेशन ।
कांग्रेस बरिष्ठ नेता डा. शेखर कोईरालाले आफु बिशेष महाधिबेशन नभई नियमित महाधिबेशनको पक्षमा रहेको कुरा निरन्तर रुपमा उठाउँदै आउनु भएको र केहि दिन अघि महामन्त्रीहरुसँगको भेटमा पनि केहि दिन थपेर भए पनि नियमित महाधिबेशन नै गराउनु पर्छ भन्दै नियमित महाधिबेशनको कार्यतालिका केन्द्रीय समितिको बैठकमा लैजान सुझाव दिनु भएको र आफुले पार्टी बिभाजनको अवस्थाको कल्पना समेत नगरेको बताएपछि कोईरालालाई अहिले सबै पक्षको साझा नेताका रुपमा हेर्न थालिएको छ । पार्टी भित्रका जेन्जी उमेर समूहका युवा नेताहरुको समेत भरोषा जित्न सफल नेता कोईरालाले देश र पार्टीमा आईपरेको अत्यन्तै कठिन समयमा लिनुभएको अत्यन्तै बिबेकपूर्ण अडानले उनको राजनीतिक उचाई बढाईरहेको देखिन्छ । पार्टीमा रहेका तमाम नेता तथा कार्यकर्ताहरु समेत डा. शेखरकै लाईनमा एकाकार हुनुको बिकल्प पनि अब बाँकी रहेको देखिदैन । पार्टी भित्र असहजतालाई अवसरका रुपमा कहिल्यै पनि नहेर्ने डा शेखर कोईराला पार्टीलाई संभावित फुटको अवस्थाबाट जोगाउँदै एकताबद्ध कांग्रेस बनाउने महाअभियानमा रहेका देखिन्छन् ।
समयक्रमको माग र आवश्यकताका आधारहरु बिस्तारै निर्माण हुदै जानेछन् । बिस्तारै पार्टीका सबै नेताहरु पनि डा. शेखर कोईरालाकै लाईनमा आउने निश्चित छ । यसको ज्वलन्त उदाहरण महामन्त्री गगन कुमार थापाले पार्टीको केन्दीय कार्यसमितिको बैठकमा पेश गरेको नियमित महाधिबेशनको कार्यतालिकाले पुष्टि गरिसकेको छ । एक्लै दौडिएर प्रथम हुने अवस्था अहिले नेपाली कांग्रेसभित्र छैन । त्यसैले पार्टी भित्रै रहेर देश र जनताको चाहना र भावना अनुरुपको नेपाली कांग्रेस बनाउन र आमुल परिवर्तन सहित युवाहरुको यथोचित सहभागिता गराउँदै नेपाली कांग्रेसलाई नयाँ बाटोमा हिडाउने राजनीति गर्ने हो भने अब पार्टी भित्रका सम्पूर्ण परिवर्तनका पक्षधरहरु डा शेखर कोईरालासँगै एकै लाईनमा एकाकार भएर लामबद्ध हुन जरुरी छ ।