दमकं/ जेन–जी पुस्ताले सरकारविरुद्ध विद्रोहको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार र अन्यायविरुद्ध सोमबार सडकमा उत्रिने घोषणा गरिएको जनाइएको छ । यो आन्दोलन राति अबेरसम्ममा देशव्यापी हुने भन्दै सबै क्षेत्रमा उक्त उमेरसमूहले आन्दोलनका कार्यक्रम ल्याएका खबरहरु प्राप्त भएका छन् । यसर्थ यो आन्दोलन देशव्यापी रहेको पुष्टि गर्दछ ।
उनीहरूले वक्तव्य जारी गर्दै तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकविरुद्ध निर्णायक विद्रोह गर्ने घोषणा गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, ‘हजारौँ युवाहरू विदेशी भूमिबाट रातो बाकसमा फर्किरहेका छन्, सयौं आमाबाबु सन्तानविहीन भएका छन्, कैयौँ बालबालिकाहरू टुहुरा भएका छन्। घुस नदिएर कुनै काम नहुने यो मुलुकमा न्याय मरेको छ, सुरक्षा निकाय भ्रष्टहरूको सेवक बनेका छन् ।’
जेन–जी पुस्ताको विद्रोह केवल सरकार बदल्ने नभई सम्पूर्ण राजनीतिक व्यवस्था बदल्ने आन्दोलन भएको दाबी गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘जनताले प्रत्यक्ष भोटमार्फत आफ्ना सरकार प्रमुख रोज्ने प्रणाली ल्याइनेछ, तीन दशकसम्म लुटिएको जनताको पैसा फिर्ता गराइनेछ र लुट गर्नेहरूलाई कालकोठरीमा हालिनेछ ।’
त्यस्तै, विश्वविद्यालयदेखि न्यायालय, कूटनीतिक निकायदेखि कर्मचारीतन्त्रसम्मलाई पुनःसंरचना गरेर जनताको पक्षमा उन्मुख गरिने योजना पनि सार्वजनिक गरिएको छ । उनीहरूले योग्य, इमान्दार र निष्ठापूर्वक काम गर्ने व्यक्तिहरूलाई अवरोध नभई अवसर दिने वातावरण निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।
विद्रोहको मूल लक्ष्य नेपालको सम्पूर्ण ध्यान विकास र तीव्र आर्थिक वृद्धिमा केन्द्रित गराएर केही दशकभित्रै नेपाललाई विश्वका उन्नत राष्ट्रहरूको पंक्तिमा उभ्याउने रहेको उल्लेख छ । जेन–जी पुस्ताको तर्फबाट रवि किरण हमालले पत्रकार सम्मेलनमा भने, ‘अब हामी चुप बस्दैनौँ ! अब हामी डराउँदैनौँ ! अब हामी झुक्दैनौँ ! अब हामी उठ्छौँ ! भाद्र २३ गते जनताको ज्वालामुखी सडकमा फुट्नेछ ।’
सन् २०११ मा न्युयोर्कबाट आर्थिक असमानता, पुँजीवाद र राजनीतिमा पैसाको प्रभावविरुद्ध एउटा आन्दोलन सुरु भएको थियो, जसको नाम थियो — अकुपाई वालस्ट्रिट, अर्थात्, कुनै स्थान÷ विषयमा भौतिक र राजनीतिक कब्जा वा हस्तक्षेप । पछि यो सामाजिक अन्याय, भ्रष्टाचार तथा जलवायु परिवर्तनजस्ता विविध मुद्दहरूमा केन्द्रित हुँदै विश्वभरि फैलियो । र हुँदा–हुँदा, यो सत्तामा बस्ने, शक्तिशालीहरू र तिनको पक्षमा मात्र काम गर्ने प्रणाली र हरेक किसिमको अन्यायका विरुद्ध आवाज उठाउनका लागिआममानिसहरूको साझा ब्यानर बन्यो । अकुपाई, अर्थात प्रतिरोध । अहिले सामाजिक सञ्जालमा एउटा मुट्ठी कसेको चित्र चर्चामा छ, जसको नारा छ— अकुपाई माइतीघर ।
यो एउटा प्रतिरोधको आह्वान हो, तर परम्परागत रूपमा नेपालमा गरिने राजनीतिक दल वा तिनका भ्रातृ संगठनहरूको होइन । ‘जेन जी’ भनेर चिनिने नयाँ पुस्ताको, जो अहिले वर्तमान केपी शर्मा ओली सरकारले बिहीबारदेखि एक्स, फेसबुक लगायत २६ वटा सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा छन् ।
जेनजी सरकारको निर्णयविरुद्ध सडक प्रदर्शनका लागि कसरी संगठित भए, यकिन छैन । तर सामाजिक सञ्जालमा हेर्दा यो प्रदर्शनका लागि व्यापक समर्थ मिलिरहेको देखिन्छ । टिकटकलगायतका सामाजिक सञ्जालमा व्यापक रूपमा प्रदर्शनबारे सामग्रीहरू पोस्ट भइरहेका छन् । ’स्वतन्त्र नेपाली युवाहरूको आयोजनामा’ प्रदर्शन गर्ने भनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आफूलाई यो कार्यक्रमको संयोजक दाबी गरेका सबल गौतम र पुरुषोत्तम यादवले निवेदन दिएका छन् ।
भदौ ९ मा मन्त्रपरिषद् बैठकबाटै सामाजिक सञ्जाल सूचीकरणका लागि सात दिनको समय दिने निर्णय भयो । १२ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गरी ७ दिनभित्र सूचीकरण हुन नआए बन्द गरिने बतायो । सरकारले दिएको समय सीमाभित्र सामाजिक सञ्जाल सूचीकरण हुन नआएपछि २६ वटालाई बन्द गर्ने निर्णय भयो ।
सरकार सामाजिक सञ्जालमा प्रकाशित हुने सामग्रीमा नियन्त्रण चाहन्छ । सिधा अर्थ सरकारको विरोध उसलाई स्वीकार्य छैन । सरकारको आलोचना गरिएका सामग्री हटाउन पाउने नियन्त्रण उसलाई चाहिएको सञ्चारमन्त्रीको भनाइले बुझाउँछ ।
जेएनजी मात्र होइन सबै तह र तप्काबाट सरकारको यो कदमलाई जनतामाथिको दमनको उच्चतम विन्दु भन्दै विरोध गरिरहेका छन् । जेएनजीको यो आन्दोलनलाई सबैले समर्थन समेत गरेका सामग्री पोष्ट गरिरहेका छन् ।
एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा सामाजिक सञ्जाल बन्दको निर्णयको विरोधमा छन् । उनले फेसबुकमा आइतबार कटाक्ष गर्दै लेखेका छन्, ‘जेन जी र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ । हाहु्मा होइन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन । मौसम त दुई महिनामा हल्का रङग फेर्छ,राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो ?हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।’
सामाजिक सञ्जाल बन्दलाई कांग्रेस नेता मिनेन्द्र रिजाल ‘सूर्यलाई हत्केलाले रोक्ने प्रयास’ भन्छन् । पूर्वसञ्चारमन्त्रीसमेत रहेका उनले भने, ‘सामाजिक सञ्जाल बन्द गर्नु मुख बन्द गर्न खोज्नु जस्तै हो । सामाजिक सञ्जालबाट कुनै समस्या भएको हो भने त्यसलाई कानुन बनाएर नियमन गर्नुप¥यो, बन्द गरेर हुँदैन । सरकार भन्ने एकातिर गर्ने अर्कोतिर भयो ।’
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री देवेन्द्र पौडेल सरकार गर्नुपर्ने काम नगरी अर्को बाटोमा हिँडेको बताउँछन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह
(बालेन)ले ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई समर्थन गरेका छन् । आइतबार (भदौ २२) सामाजिक सञ्जालमा मेयर बालेनले आफूलाई जेनजीको इच्छा, उद्देश्य, सोच बुझ्न मन लागेको उल्लेख गरेका छन् । जेनजीले स्वस्फूर्त रूपमा ¥याली आयोजना गरेको उनको भनाइ छ ।
जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् । आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले यो आन्दोलनमा साथ दिने बताएका हुन् ।
प्रधानमन्त्रीले भने पार्टी कार्यक्रमबाटै कानुनी धम्की दिँदै भनेका छन्– प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको नयाँ पुस्ता जेनेरेसन जेड (जेन–जी) देशको स्वाभिमान, कानुन र राष्ट्रियता बुझ्न सक्षम रहेको उल्लेख गर्दै उनीहरूको दुरुपयोग हुन नदिन सबैलाई सचेत रहन आग्रह गरेका छन् । ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत छलफलपछि आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालको नियमनका विषयमा हाल भइरहेको बहसबारे आफ्ना कुरा राखेका थिए ।
सुरक्षा व्यवस्था कडा
‘जेनजी’ (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले सोमबार राजधानीमा विरोध प्रदर्शन गर्ने तयारी गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको संयोजकत्वमा बसेको बैठकमा ‘जेनजी’ पुस्ताले सोमबार गर्ने भनिएको प्रदर्शनबारे गम्भीर छलफल भएको थियो ।

Author

You may also like