दमक । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले पत्रकारिता क्षेत्रलाई विश्वविद्यालयको रुपमा लिएर काम गर्ने बताएका छन् । मंगलबार झापाको विर्तामोडमा नेपाल पत्रकार महासंघले आयोजना गरेको अन्तर्राष्टिूय भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले आफ्नोलागि यो क्षेत्र नयाँ भएपनि सबैको सुझाव र सल्लाह लिएर पत्रकारिताको पक्षमा काम गर्ने बताए । उनले स्वछ पत्रकातिा आजको आवश्यकता भएको औल्याए ।
यसैगरी सोही कार्यक्रमका विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चारमाध्यम बढेसँगै पत्रकारितामा पनि विकृति बढ्दै गएको बताएका छन् । उनले आगामी वर्षहरुमा पत्रपत्रिकाको वर्गीकरणलाई थप मर्यादित बनाइँदै लगिने बताए । उनले पत्रकारितालाई मर्यादित र स्तरीय बनाउन पत्रकार आफै जिम्मेवार भएर लाग्नुपर्ने बताएका हुन् ।
झपाका ३ पत्रकार पुरस्कृत
अमेरिकाको टेक्सासस्थित हेम– सरिता फाउण्डेशन र नेपाल पत्रकार महासंघ झापाको सहकार्यमा स्थापित उक्त पुरस्कार २०८१ का लागि पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी, जनआन्दोलन साप्ताहिककी सम्पादक इन्दू पूर्वेली गौतमलाई संयुक्त रुपमा प्रदान गरियो भने २०८२ बाट नयाँ पत्रिका दैनिकका झापा समाचार दाता चिरञ्जिवी घिमिरे पुरस्कृत भएका छन् ।
पत्रकारिता मार्फत भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा निरन्तर कलम चलाउँदै आएका उनीहरुले न्यायपूर्ण समाज निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।
यसअघि सो पुरस्कारबाट राजबाबु शंकर पुरस्कृत चभएका छन् । पुरस्कारका लागि रु पाँच लाख पाँच हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट पुरस्कार प्रत्येक वर्ष महासङ्घले पुरस्कार वितरण गर्दै आएको छ ।
पुरस्कृत भण्डारी र गौतम झापाको बिर्तामोडलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका छन् भने घिमिरे दमकलाई कर्मथलो बनाएर पत्रकारितामा सक्रिय छन् ।
कार्यक्रमकै बीच महासंघले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सामाचार लेखनका लागि पत्रकार जोस्ना श्रेष्ठ र रञ्जीता खड्कालाई जनही पाँच÷पाँच हजार रुपैयाँको लेखनवृत्ति प्रदान गरेको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष डा. आचार्य, मुख्य अधिकृत झविन्द्र भुषाल, महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, झापाका पूर्वअध्यक्ष केशव आचार्य र पुरस्कृत प्रतिभा घिमिरेले मन्तव्य राखेका थिए ।
महासंघका सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुब्रत न्यौपानेले गरेका थिए भने प्रतिभाको संक्षिप्त परिचय महासंघकी उपाध्यक्ष विनिशा शर्मा गौतमले प्रस्तुत गरेकी थिइन् ।