उर्लाबारी/ उर्लाबारीबाट बैदेशिक रोजगारमा गएका परिवारका सदस्यलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु भएको छ ।
नगरको अगुवाईमा भएको तालिमको उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मीनाकुमारी खतिवडा पौडेलले उद्घाटन गर्दै वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका सदस्यहरुले अब वित्तीय रुपमा साक्षर हुनुपर्नेमा जोड दिएकी छिन् ।
उर्लाबारी नगरपालिका ५ को सिसौली टोलमा आयोजित कार्यक्रममा उनले विदेशबाट आएको रेमिट्यान्सको मात्र भर परेर बस्न नहुने र यहाँका परिवारका सदस्यले पनि सीपमूलक तालिम लिएर आत्मनिर्भर बन्न सकेमा विदेशबाट आएको रकम बचत गरेर सहि सदुपयोग गरि आर्थिक आय आर्जनमा लगाउन सकिने उनको भनाई थियो ।
उनले कुनैपनि नेपाली वैदेशिक रोजगारीमा जादा वेपत्ता, मृत्यु, वा अंगभंग भएमा उद्दारका लागि यो कार्यक्रमले काम गर्ने भएकाले आफुलाई परेको समस्याको सहि सूचना सम्बन्धित निकायलाई उपलब्ध गराउन अनुरोध गरिन् । उनले यसखाले कार्यक्रम नगरमार्फत निरन्तर सञ्चालन गर्ने आश्वासन दिइन् । साथै उनले बैदेशिक रोजगारमा कुनै समस्या भएमा परिवारमार्फत इलाका प्रशासन कार्यलय मंगलबारेमा सूचना वा उजुरि दिन सबैलाई अनुरोध गरिन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिकाले बैदेशिक रोजगारमा बढी गएका वडाहरुमध्ये २,३,४ र ५ मा कार्यक्रम संचालन भइरहेको छ । तालिममा, विशेष गरेर बिदेशबाट आएको रेमिट्यान्सलाई कसरी सदुपयोग गर्ने, बचत, ऋण, बीमाका बारेमा जानकारी गराइने छ । साथै कस्तो क्षेत्रमा लगानी गर्ने, आम्दानी कसरी बढाउने, खर्च कसरी कम गर्ने भन्ने लगायतको बिषयमा छलफल हुने सामी कार्यक्रमका बित्तीय साक्षरता सहजकर्ता तिलक नेपालीले बताए ।
सामी कार्यक्रमले सूचनामा सहयोग, न्यायमा सहयोग, सिपमा सहयोग, मनोसामाजिक परामर्श र बित्तिय साक्षरता कक्षा संचालन गरिदै आएको मनोसामाजिक परामर्शकर्ता कल्पना बरालले बताइन् । कार्यक्रम, वडाका कार्यवाहक अध्यक्ष शुरेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

Author

You may also like