देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

अख्तियारद्वारा माधव नेपालसहित ९३ जनामा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं/ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उन्मुक्ति पाएका पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले बिहीबार १८ करोड ५८ लाख ५० हजार विगो दाबी गर्दै विशेष अदालतमा नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । बहुदलपछि पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णयविरूद्ध भ्रष्टाचार मुद्दा अघि बढेको पहिलोपटक हो ।
पतञ्जली जग्गा प्रकरणमा नेपालसहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन सचिव छविराज पन्तलगायत ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । ‘९३ जनाविरूद्ध अख्तियारले ल्याएको मुद्दा दर्ता भएको छ,’ रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए । उनीहरूविरुद्ध १८ करोड ९३ लाखको विगो दाबी गरिएको छ ।
भारतीय योगगुरु रामदेवको पतञ्जली कम्पनीले २०६६ सालमा काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा किनेको थियो । त्यसमध्ये ३५३ रोपनी जग्गा पछि हाउजिङ कम्पनीलाई बेचिएको थियो ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले नै यो काम गर्न स्वीकृति दिने निर्णय गरेको थियो । उनले दुईवटा फरक निर्णय गराएका थिए । १८ माघ २०६६ मा मन्त्रिपरिषद्बाट पतञ्जलीलाई हदबन्दी छुटमा जग्गा किन्न अनुमति दिइएको थियो ।
दुई महिना नबित्दै लगत्तै, ६ चैत २०६६ मा फेरि मन्त्रिपरिषद्रुले त्यही जग्गा बेच्न अनुमति दियो । बनेपाको नासिकास्थान, साँगा, महेन्द्र ज्योति र चलाल गणेस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा जग्गा किनेको थियो । पछि ३५३ रोपनी १५ आना जग्गा बेचिएको थियो । पतञ्जलीका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले ११ असार २०६७ मा काष्ठमण्डप हाउजिङ कम्पनीलाई जग्गा बेचेका थिए । यो प्रकरणमा मुख्यतः प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे र भूमिसुधार सचिवः छविराज पन्त जोडिएका छन् ।
भारतका बाबा रामदेवले आफ्ना सहयोगी आचार्य आचार्य बालकृष्णमार्फत भारतमा आयुर्वेदका क्षेत्रमा बजार कब्जा गरेको कम्पनी हो–पतञ्जली । भारतको हरिद्वारमा मुख्यालय रहेको यसका विभिन्न शाखाहरू भारतभर छन् । यसले भारतमा विभिन्न आयुर्वेदिक औषधि उत्पादन तथा वितरण गर्दै आएको छ । जसले कोरोनाकालमा भ्रामक विज्ञापन गरेपछि यसमाथि भारतमै कारबाही भएको थियो । योगबाट चर्चित भएर रामदेवले आयुर्वेदमा बजार जमाउँदै जाँदा नेपालमा पनि यसको विस्तार गरे । र, नेपालमै जडीबुटी खेती गर्ने तथा उत्पादन गर्ने भन्दै नेपालमा एउटा कम्पनी स्थापना हुन्छ । २०६४ साल असोज २० गते ‘पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल’ को नाममा दर्ता गरेका थिए । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा पर्ने करिब ६ सय रोपनी जग्गा यो कम्पनीले किनेको छ । १८ माघ, २०६६ मा माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो ।
त्यतिबेला पतञ्जलीले करिब ६ सय रोपनी जग्गा किनेको थियो । हदबन्दी छुट गरी जग्गा किनेकै केही महिनामा फेरि सो जग्गा पतञ्जलीले बेचेको छ । र यसरी बेच्न पनि माधव नेपालकै मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियत भनी भ्रष्टाचारको आरोपमा बिहीबार मुद्दा दायर गरेको छ ।
राजनीतिक प्रतिशोध साँधेको समाजवादी नेताको आरोप
माधव नेपालमाथि मुद्दा चलाएपछि नेपाल कम्युनिष्ट पार्टी समाजवादीका नेताहरुले पूर्वाग्रही र राजनीतिक प्रतिशोध साँधेको गमिभर आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध मुद्दा चल्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन्।
पञ्जली प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि बिहीबार रौतहटस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सुरुदेखि नै आफूविरुद्ध ओली लागेको टिप्पणी गरे । कपी ओली सुरुदेखि नै मेरा विरुद्धमा लागेको खुलासा पनि नेपालले गरे । उनले आफ्नो राजनीतिक करिअर समाप्त पार्न नै ओली लागि परेको दाबी समेत गरे। ‘मेरो राजनीतिक करिअरलाई समाप्त पार्ने उहाँको नियतै हो,’ अध्यक्ष नेपालले भने, ‘पहिले पनि उहाँले यस्तै किसिमको कोसिस पटक–पटक गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’ यसैगरी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डले पनि प्रतिशोधका आधारमा कारवाही गर्दै जाने हो भने कोही पनि बाँकी नरहने दावी गरे । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यसमा अध्यक्ष नेपालले कुनै अपराध नगरेको दाबी समेत गरे । पाण्डेले भने, ‘हिजो पनि नेपाल सरकारसँग नीतिगत निर्णय गर्न पाउने अधिकार थियो । त्यही विधेयक अहिले राज्यव्यवस्थामा थन्किएर बसिरहेको छ ।’ उनले थपे, ‘त्यो अधिकार मन्त्रिपरिषद्लाई दिने कि नदिने भन्ने बारेमा छलफल भएर अड्किरहेको हो । त्यसकारण हिजो नीतिगत निर्णय थियो । गिरिबन्धु टिस्टेटको पनि नीतिगत निर्णय थियो ।’
निलम्बित सांसदहरु
प्रतिनिधिसभाका हाइप्रोफाइल ४ सांसदको पद निलम्बनमा परेको छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै निलम्बनमा पर्ने सांसदको संख्या ४ पुगेको हो । अन्य नेताहरुमा कांग्रेसका मोहनबहादुर बस्नेत, एमालेका टोपबहादुर रायमाझी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने रहेका छन् ।

Author

You may also like