दमक/ भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति नबनाए संसद् चल्न नदिने विपक्षी दलको अडान छ । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौंथो पटक पनि बैठक अवरुद्ध भएको छ ।
यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । त्यस्तै भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा मंगलबार र बुधबारका लागि बोलाइएको बैठक पनि अवरुद्ध भयो ।
जेठ १५ मा संसद्मा बजेट प्रस्तुत भएपछि भएका सबै बैठक विपक्षीका कारण अवरुद्ध र स्थगित हुँदै आएका छन् । जसका कारण संसद्मा बजेट सम्बन्धी छलफल र कर्मचारी सम्बन्धी विधेयक अघि बढ्न सकेको छैन ।
बिहीबार पनि सूचना निकालेर साढे ३ बजेलाई सारिएको प्रतिनिधिसभाको बैठक ५ बज्दा पनि सुरु भएको छैन । दिउँसो १ बजेलाई बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि सभामुखले अढाइ घण्टा पछि बस्ने गरी निर्धारण गरिएको थियो । साँझमा बैठक सुरु गर्ने भएपछि प्रतिपक्षहरुले होहल्ला बढी गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । गृहमन्त्री रमेश लेखक भिजिट भिजा प्रकरणमा जोडिएको भन्दै विपक्षी दलले १३ गतेदेखि प्रतिनिधि सभामा अवरोध जारी राखे पनि बजेट भाषण भने गर्न दिएका थिए ।
बैठक अवरोध हटाउने विषयमा एक मिडियालाई अन्तर्वार्ता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भने– यो संसद जनताको हुँदैन भने, यो संसद आम मजदुर, किसान, श्रमिक वर्गको पक्षको हुँदैन यो संसद सत्तासिनहरुको, यो संसद शक्तिशालीहरुको पक्षमा मात्र हुन्छ र त्यो खालको काम गर्छ भने संसद अवरुद्ध हुन्छ । होइन, नेपाली जनताको पक्षमा काम गर्ने हो भने नेपाली जनताको समृद्धि र स्वतन्त्रताको लागि हो, यो संसद नेपाली जनताको न्यायको लागि हो भने संसदका उठेका जनताका मुद्दा सरकारले सम्बोधन गर्नुपर्छ । संसदले गरेका कुरा सरकारले मान्नुपर्छ । हाम्रो भनाई यति मात्र हो । सरकार पेलेर जान खोजे पनि सरकारसँग हामी प्रतिवाद गर्दैनौं । हामीले संसदमा हाम्रा कुरा राख्छौं । सम्मानिय सभामुख मार्फत सदनमा आज आम जनताका मुद्दा कति पेचिला छन । ति मुद्दालाई सम्बोधन किन जरुरी छ र सरकारले किनारा किन लगाउन सक्दैन भनेर संसदलाई जानकारी गराउँछौं । सबैभन्दा ठूलो संसद नेपाली जनता हो । जनतालाई यि कुरा सुनाउँछौं , भन्न चाहन्छौं । हेर्नु आज हामी संख्याका हिसाबमा पनि हामी सरकारसँग लड्ने, जुध्ने, प्रतिवाद गर्ने शक्ति हामीसँग छैन । यो संसदले जनताको काम गर्नुपर्छ । यो संसदलाई पेलेर जर्वजस्ती यति लामो लोकतान्त्रिक इतिहास भएका दलहरुले गर्छन भन्ने लाग्दैन ।
यहि विषयमा कांग्रेसका नेता सुनिल शर्माले उनले नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको सन्दर्भ जोड्दै २०१५ सालको ऐतिहासिक घटनाको स्मरण गराएका छन् । विपी कोइरालाले प्रधानमन्त्री हुँदा आफ्नै भाई तारणिप्रसाद कोइराला सहभागी रहेको मन्त्रिपरिषद्को भुमिसुधार मन्त्रालयमा गणेशमान सिंहमाथि उठेको आरोपको निष्पक्ष छानबिनका लागि राजा वीरेन्द्रको विश्वासपात्रमार्फत समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याएको प्रसंग उल्लेख गर्दै उनले सो ऐतिहासिक क्षणबाट आजका नेताहरुले पाठ सिक्नुपर्नेमा जोड दिएर लेखेका छन् । उनले प्रश्न गर्दै भने, “विपीका अनुयायी हामीहरुले त्यो नैतिक धरातललाई जिवन्त राख्न सकेका छौं त ? हामी नैतिकता सहितको राजनीतिका लागि किन चुकिरहेका छौं ?”
कांग्रेस र रास्वपाबीच छलफल
नेपाली कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ । बिहीबार संघीय संसद् भवनस्थित शंकर हलमा दुई दलका नेताबीच भिजिट भिसा प्रकरणको विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए । त्यस्तै रास्वपाको तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । नेताहरूबीचको छलफल करिब एक घण्टा चलेको घिमिरेले बताए ।
‘दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो । खास गरी उहाँहरूले उठाउँदै आउनु भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका बारेमा कुरा भयो,’ उनले सञ्चारकर्मीसँग भने, ‘हामीले यो विषय गृहमन्त्रीको राजीनामा दिनुपर्ने विषय होइन भनेर हामीले फेरि पनि दोहो¥यायौँ । एक घण्टाजतिको छलफलपछि उहाँहरू पार्टीमा छलफल गरेर थप निर्णय लिन्छौँ भनेर निस्किनु भयो ।’
रास्वपाका नेताहरूले कांग्रेसका नेताहरूसँग छलफलका नै नगर्ने किन भनेर गुनासो गरेपछि उपसभापति खड्का छलफलका वातावरण बनाउन तयार भएका थिए । त्यसपछि घिमिरेले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललाई छलफलको समयबारे जानकारी गराएका थिए । अर्यालले पार्टीका तर्फबाट छलफलका लागि वाग्ले र परियारलाई जिम्मा दिएका थिए ।
रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि नेताहरूबीच छलफल भएको बताए । गृहमन्त्रीको राजीनामा मात्रै नभई मानव तस्करीको कुरा पनि भएकोले यसलाई गम्भीर हुन कांग्रेसलाई आग्रह गरिएको बताए ।