दमक/दमकमा बाल अस्पताल सञ्चालन हुने कुराको चर्चा निकै फैलिसकेको छ । सञ्चालनका बारेमा कसैले रेडक्रस, कसैले नगरपालिका, कसैले प्राइभेटबाट भन्ने गरेतापनि यो काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले नेपाल रेडक्रस सोसाइटी दमकको भवनमा शुरु गर्ने भएको हो । शुरु गर्ने दिनहरु नजिकिँदै जाँदा एउटा विवादले भने स्थान ओगट्न थालेको छ । विवादको कारण एक पक्ष सम्झौता हो र अस्पताललाई अवरोध पु¥याउने नभएर रेडक्रसको अस्तित्वलाई जोगाऊ भन्ने सन्दर्भमा संस्थापक अध्यक्ष तथा केही सदस्यहरुको भनाइ रहेको छ । यो अस्पताल कसरी यहाँ सञ्चालन हुन लाग्यो ? र कस्तो हो भन्ने बारेमा बुझ्न खोज्दा काठमाडौं इन्स्च्यिुट अफ चाइल्ड हेल्थले प्रदेश नं. १ मा एउटा राम्रो बाल अस्पताल स्थापना गर्ने उद्देश्यले अगाडि बढिरहँदा दमकमा रहेको रेडक्रससँग जोडिन पुगेछ ।
जग्गा खोजेर भवन बनाउँदा २/४ वर्ष बित्ने हुँदा अस्पताल नै सञ्चालन गर्ने भनेर रेडक्रसले निर्माण गरेको खाली भवन उपयोगी हुने ठानेर कुरा चल्दै जाँदा कार्यसमितिमा पनि छलफल भएछ । रेडक्रसलाई मद्दत पुग्ने गरी बालअस्पताल सञ्चालक हुन्छ भने उत्तरपटीको ठूलो विल्डिङ दिन सकिने र समन्वयका लागि निवर्तमान अध्यक्ष लिला गुरागाईलाई अधिकार दिने निर्णय गरियो ।
तर समन्वयका कुराहरु, सम्झौताका विषयमा कार्यसमिति अनभिज्ञ रह्यो । वास्तविक सम्झौता हुन बाँकी छ भन्नेमा अहिलेसम्म पनि कार्यसमिति सदस्यहरु विश्वस्त रहेकाछन् । तर दातृ संस्थाहरुलाई देखाउन भनेर लेखी दिएको कागजनै सही सम्झौता हो भनेर अस्पताल सञ्चानका जिम्मेवार व्यक्तिबाट भनिँदा रेडक्रसको अस्तित्व संकटमा परेको महसुस गरी आवाज उठाइएको जानकारी प्राप्त भएको छ ।
सम्झौता काठमाडौं इन्स्च्यिुट अफ चाइल्ड हेल्थका तर्फबाट संस्थापक अध्यक्ष भगवान कोइराला र साक्षी दीपकराज सापकोटा रहेका छन् भने नेपाल रेडक्रस
सोसाइटी उपशाखा दमकका तर्फबाट अध्यक्ष प्रकाश बुढाथोकी, साक्षीमा लिला गुरागाई र हिमालयप्रसाद दाहालको हस्ताक्षर रहेको छ ।
सो सम्झौता हुवहु लागु गर्ने हो भने रेडक्रसको अस्तित्व संकटमा पर्ने विश्लेषण गरिन्छ । तीन पेज लामो सम्झौता भित्र उल्लेख एक बुँदामा रहेको सर्त यस्तो छ–
२) सम्झौताका सर्तहरु:
‘२.१. प्रथम पक्षले नेपालको प्रचलित कानून बमोजिम मिल्ने गरी आफ्नो स्वामित्व र भोग चलनमा रहेको दमक नगरपालिका वडा नं. ७ को कित्ता नं. २६९६ को ०–६–६ क्षेत्रफलको जग्गा र त्यसमा निर्माण गरिएका अनुसूचिमा उल्लेखित भवन तथा संरचना द्वितीय पक्षलाई वाल अस्पताल सञ्चालनको निमित्त आवश्यक संरचनाहरु अस्थायी/स्थायी रुपमा बनाउने तथा अस्पताल सञ्चालन गर्ने प्रयोजनका निमित्त सम्झौता भएको मितिदेखि ३० वर्षका लागि निःशुल्क रुपमा उपलब्ध गराउने ।’
यसबाट के प्रष्ट हुन्छ भने यो सम्झौता कार्यान्वयन हुँदा रेडक्रसको पाइला टेक्ने स्थान समेत देखिदैन र विस्थापित हुनु पर्ने निश्चित छ । करोडौंको मूल्य पर्ने जमिन तथा संरचनाहरु कुनै एउटा संस्थालाई जिम्मा लगाउँदा व्यापक छलफल हुन जरुरी छ । तसर्थ यसलाई कार्यसमिति, उपसमितिहरु तथा विशेष साधारणसभामा व्यापक छलफल गरेर रेडक्रसको अस्तित्व र आयस्रोतलाई पनि ध्यान दिइ बाल अस्पतालले पनि सहज र सरल ढंगबाट सेवा दिने वातावरण बनोस् भन्ने समष्टिमा रहेको पाइन्छ ।