विराटनगर । लकडाउनमा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ प्रदेश नं. १ मा शुरु गरिएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण देशव्यापी लकडाउनका बेला प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम शुरु गरेको हो ।
विद्यालय शिक्षा गुणस्तर सुधार अभियान अन्र्तगत चैत १७ गतेदेखि शुरु कार्यक्रममा प्रदेश नं. १ का १४ जिल्लाका १ सय विद्यालयका शिक्षक सहभागी भएका छन् ।
प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा शुरु भएको ‘भर्चुअल कक्षा’ हरेक दिन २ घण्टा चल्ने गरेको छ । मन्त्रालयले इ–लर्निङ तालिमको योजना बनाईरहेको समयमा देशव्यापी लक डाउन भएपछि ‘भर्चुअल कक्षा’ शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । भने,‘‘तीन हजार शिक्षकलाई तालिम दिने तयारी थियो तर लकडाउनका कारण सकिएको छैन ।’’
भर्चुअल कक्षामा प्रविधिमा आधारित फोकल शिक्षकलाई केन्द्रित गरिएको छ । मन्त्रालयले अहिले अनलाईन शिक्षाको प्रणाली विकास गरेर काम गरिरहेको मन्त्री घिमिरले बताए । ‘‘भर्चुअल कक्षा’ लकडाउन जारी रहेसम्म हुनेछ,’’ मन्त्री घिरिमेले भने,‘‘त्यसपछि पनि यसखाले शिक्षण विधिबारे हामीले सोचिरहेका छौं ।’’ ‘भर्चुअल कक्षा’ले प्रदेश १ भरिका शिक्षकलाई लकडाउनका समयमा सहयोग पुगेको मन्त्री घिमिरेको भनाई छ ।
दैनिक कक्षा सम्पन्न भएपछि सूचना प्रविधि विज्ञले सुझाव दिने गरेका छन् । काठमाण्डौंमा रहेका प्रविधि विज्ञ डा. दोभान राई र मनोज घिमिरेले सुझाव दिन्छन् ।