दमक, सोमबार राती चट्याङले लागेर झापाको महाभारा प्रहरी चौकी दरबन्दी भई किच्चकवध प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक (असइ) महादेव ठाकुरको मृत्यु भएको छ । प्रहरी सहायक निरिक्षक ४५ वर्षीय ठाकुरको मृत्यु भएको हो । सोमबार राती पौने १० बजे पानी परेपछि डियुटीमा रहेका असई ठाकुर पानीबाट जोगिन किचकवधको बस्ती नजिकै एक छाप्रो मुनि गएर बसेको समयमा चटयाङ परेको थियो ।
चट्याङ लाग्दा गम्भीर घाइते भएका उनलाई ओम साई पाथीभरा हस्पिटल भद्रपुरमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । असई ठाकुरको दरबन्दी महाभारा प्रहरी चौकी हो । उनी विगत एक महिना अघि काजमा किचकवध प्रहरी चौकीको जिम्मेवारी सम्हाल्न आएका थिए । उनी विराटनगरका स्थायीबासिन्दा भएको बताइएको छ । उनी २०५१ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनको शवलाई मेची अस्पताल भद्रपुरमा राखिएको र पोस्टमार्टम पश्चात् परिवारजनलाई जिम्मा लगाउने प्रहरी कार्यालय झापाले जनाएको छ ।