समाचार

माओवादी केन्द्रको प्रदेशमा मिक्सो विजयी

दमक / नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।
अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए । अध्यक्षमा ७ मत बदर भयो ।
तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११ , देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।
यस्तै ३ जना सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन् । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।
तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको छ । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने । राजु आचार्य (अग्नी), सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी, दिलकुमार राई र तेजमान कन्दङ्वा रिङ आउट भए ।
१ जना कोषाध्यक्षका लागि गगनसहित ४ जनाको उम्मेद्वारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए । मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २ सय ५९ जनाको कार्यसमिति चयन गरेको थियो ।
नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म गर्ने प्रथम राष्ट्रिय सम्मेलन गर्दैछ । जसमा देशभरबाट राष्ट्रिय १ हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुने माओवादीले जनाएको छ ।

Author

You may also like